सासूको हत्या आरोपी बुहारीलाई थुनामा पठाइएको छ।
जिल्ला अदालत प्यूठानको आदेशपछि मुद्दाका किनारा नलाग्दासम्म बुहारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो।
जिल्ला अदालत प्यूठानका न्यायाधीश हिरन्ने भण्डारीको इजलासले ३२ वर्षीया बुहारी चेती सुनारलाई जेठ १९ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
अदालतको आदेशपछि सोही दिन चेतीलाई जिल्ला कारागारमा पठाइएको प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले बताए।
२०७९ मंसिर १ गते स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनारको शव फेला परेको थियो। प्यारालाइसिस भएकी धनीकुमारीको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा स्थानीय भुपाल घर्तीको बारीमा शव फेला परेको थियो।
धनी हत्या घटनाको चार वर्षपछि ३२ वर्षीया बुहारी चेती सुनार वैशाख २३ गते पक्राउ परेकी थिइन्।
धनी हत्या घटनामा लामो समय प्रतिवादी खुल्न नसकेको हुँदा उक्त मुद्दा 'पेन्डिङ' मै थियो।
प्रहरीको निरन्तरको अनुसन्धानबाट घटनामा बुहारी चेतीको संलग्नता खुलेपछि जिल्ला अदालतबाट वैशाख २३ गते नै पक्राउ पुर्जी लिएर सोही दिन प्रहरीले उनलाई पक्राउ गरेको थियो।
हत्या गरिएकी बृद्धा धनी प्यारालाइसिसले थलिएकी थिइन्। उनी नजिकै छुट्टै कटेरो (घरमा) एक्लै बस्थिन्।
हिँडडुल गर्न नसक्ने तथा शौच पनि आफै जान नसक्ने धनीको रेखदेख तथा औषधि उपचार गरिरहनु पर्दा कान्छी बुहारी चेतीले सासूको हत्या गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको थियो।