विश्व सम्पदामा सूचीकृत बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र स्वयम्भू महाचैत्यको गुम्बजमा वर्षौंदेखि जम्दै आएको चुनाको बाक्लो तह हटाउने कार्य सुरू गरिएको छ।
महाचैत्यको पुरातात्विक तथा ऐतिहासिक संवेदनशीलता हेर्दै यो जीर्णोद्धार तथा सफाइ कार्य सुरू गरिएको स्वयम्भू युवा परिवार समूहका सदस्य सरोज बुद्धाचार्यले बताएका छन्।
महाचैत्यको गुम्बजमा हरेक वर्ष बुद्ध पूर्णिमाको दिन र अन्य अवसरहरूमा श्रद्धापूर्वक गरिने सेतो पोताइ (चुना लगाउने कार्य) का कारण चुनाको तह लगातार बाक्लिँदै जान्छ। यसले महाचैत्य वास्तविक स्वरूपभन्दा फरक हुने र चुनाको बोझ थपिँदै जाने हुँदा आठ-दस वर्षको अन्तरालमा चुना हटाउने कार्य हुँदै आएको उनको भनाइ छ।
बुद्धाचार्यका अनुसार हाल उक्त गुम्बजमा चुनाको तहको मोटाइ १३ देखि १५ इन्च पुगेको पाइएको छ।
यसरी चुनाको बोझ थपिँदै जाँदा महाचैत्यको तल्लो संरचनामा समेत भार पर्ने र यसको प्राचीन संरचनात्मक बुट्टा तथा गोलाइको वास्तविक स्वरूप नै छोपिँदै जाने जोखिम बढेको थियो।
यसअघि करिब १२–१३ वर्षअघि पनि यसैगरी महाचैत्यको गुम्बज सफा गरिएको थियो। त्यस बेला वर्षौंदेखि जमेको चुनाको तह ऐतिहासिक रूपमै अत्यधिक अर्थात् २२ देखि ३० इन्चसम्म पुगेको पाइएको उनले जानकारी दिए।
त्यति बेलाको सफाइपछि पुनः चुना पोताइ गर्दागर्दै अहिले फेरि १३ देखि १५ इन्चको तह बनेको उनले बताए।
पुरातत्त्व विभागको अनुमति र निगरानीमा स्वयम्भू व्यवस्थापन समितिकै कर्मचारी तथा कालिगढहरूबाट निकै सावधानीपूर्वक गुम्बजको चुना उप्काउने कार्य भइरहेको छ, ताकि मूल संरचनामा कुनै क्षति नपुगोस्।
यसका लागि करिब एक महिना समय लाग्ने देखिएको छ। यो सफाइ सकिएपछि महाचैत्य फेरि आफ्नो वास्तविक पुरातात्विक स्वरूप र प्राचीन चमकसहित देखिने छ।
काठमाडौं उपत्यकाको सभ्यता र इतिहाससँग जोडिएको स्वयम्भूको यो सफाइ अभियानलाई स्थानीय समुदाय, बौद्ध भिक्षु तथा सम्पदाप्रेमीहरूले निकै चासो र महत्त्वका साथ हेरेका छन्।
















