तिहार सुरू भइसकेको छ।
यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदैछ।
दसैँ मनाएर कार्यस्थल फर्केकाहरू तिहार मनाउन फेरि गाउँ फर्कने तयारीमा छन्।
लामो बिदा र यात्राको योजना बनाइरहेका उनीहरूलाई यो साताको मौसम कस्तो रहला भन्ने चासो छ।
जल तथा मौसम विज्ञान विभागले भने तिहारको समयमा ठूलो पानी पार्ने प्रणाली विकसित हुने सम्भावना नरहेको जनाएको छ।
विभागले शुक्रबार सार्वजनिक गरेको तिहार विशेष मौसम बुलेटिनअनुसार आगामी बिहीबारसम्म देशका अधिकांश ठाउँमा मौसम सामान्यतया सफा रहनेछ।
पहाडी र हिमाली भेगका केही स्थानमा भने हल्का वर्षा र हिमपात हुन सक्नेछ।
विभागकी मौसमविद् निष्ठा निरौलाले तिहारको समयमा ठूलो पानी पर्ने सम्भावना नरहेको बताएकी छन्।
‘समग्रमा भन्नुपर्दा, आउने हप्ता तिहारको समयमा पानी पार्न सक्ने ठूलो प्रणाली विकसित हुने देखिँदैन। त्यसैले कतै पनि ठूलो पानी पर्ने देखिँदैन,’ उनले बुलेटिनमार्फत भनेकी छन्।
उनका अनुसार तराईका थोरै स्थानमा बिहानीपख हुस्सु लाग्न सक्छ। आगामी बिहीबारसम्म तराईका १० देखि ३० प्रतिशत भूभागमा बिहान हुस्सु लाग्ने सम्भावना छ।
तराईमा भने साताभरि नै वर्षाको सम्भावना छैन।
‘तराई भेगमा आउने हप्ताभरि नै पानी पर्ने सम्भावना देखिँदैन,’ निरौलाले भनेकी छन्।
पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। निरौलाका अनुसार आगामी बिहीबारसम्म पहाडी क्षेत्रको करिब १० प्रतिशत भूभागमा मात्रै हल्का वर्षाको सम्भावना छ।
‘यो भनेको देशका ९० प्रतिशत पहाडी भूभागमा पानी पर्ने देखिँदैन,’ उनले भनेकी छन्।
हिमाली भेगमा भने प्रदेशअनुसार मौसमको अवस्था केही फरक रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा शनिबारसम्म थोरै स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्छ।
आइतबारदेखि बिहीबारसम्म भने यी प्रदेशका एक–दुई स्थानमा मात्रै हल्का हिमपात वा वर्षाको सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा भने आगामी बिहीबारसम्म नै एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने निरौलाले बताएकी छन्।