तिहारका लागि मुस्ताङ, डोल्पा, मुगुलगायत हिमाली भेगबाट भेँडाच्याङ्ग्रा लिएर व्यापारी पोखरा झरेका छन्।
बिक्रीका लागि पोखरा महानगरपालिका–१ सिमपानीमा भेँडाच्याङ्ग्रा राखिएको छ। दसैंको तुलनामा तिहारमा कम संख्यामा भेँडाच्याङ्ग्रा ल्याउने गरिन्छ।
मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङले तिहारका लागि ७०० च्याङ्ग्रा पोखरा भित्रिएको बताए।
‘मुस्ताङबाट बाहिरिएका एक हजार २०० च्यांग्रामध्ये ५०० काठमाडौं र ७०० च्याङ्ग्रा पोखरा ल्याइएको छ,’ उनले भने।
उनका अनुसार रोज्जा च्याङ्ग्राको मूल्य ४० हजार रुपैयाँ पर्छ।
त्योभन्दा कम मूल्यका च्याङ्ग्रा पनि बथानमा छन्। छिरिङले साथी निरज थकालीसँग मिलेर तिहारका लागि ५५ वटा च्याङ्ग्रा पोखरा ल्याएको बताए। दसैंमा तीन सयभन्दा बढी च्याङ्ग्रा बेचेको उनले सुनाए।
‘दसैंमा च्याङ्ग्राको राम्रो व्यापार भयो, फूलपातीपछि त माग पुर्याउनै नसक्ने अवस्था आएको थियो,’ छिरिङले भने, ‘तिहारमा च्याङ्ग्राको माग स्वाभाविक रूपमा कम हुन्छ, तर अघिल्ला वर्षको तुलनामा यसपटक पोखरामा बढी संख्यामा भेँडाच्याङ्ग्रा भित्रिएका छन्।’
अहिले सिमपानीका सात–आठ ठाउँबाट भेँडाच्याङ्ग्राको बिक्री भइरहेको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–६ का उदीम भाम पनि भेँडाच्याङ्ग्रा लिएर सुर्खेत हुँदै पोखरा आइपुगेका छन्।
उनीसँग अधिकांश भेँडा र साँढ छन् भने केही च्याङ्ग्रा पनि छन्। मुगुदेखि चार दिन लगाएर पोखरा आइपुगेको भामले बताए।
‘दसैंमा च्याङ्ग्रा ल्याएर बेचेको हो, यसरी पोखरा आउन थालेको पाँच–छ वर्षजति भयो,’ उनले भने, ‘गत वर्ष केही घाटा खानुपर्यो, अहिलेको दसैंमा राम्रै व्यापार भयो, तिहारको आम्दानी कस्तो हुन्छ हेरौं।’
दसैं–तिहारका बेला एउटा व्यापारीले डेढ–दुई लाख रुपैयाँसम्म कमाइ गर्ने गरेको उनको भनाइ छ।
टाढादेखि च्याङ्ग्रा ल्याउनुपर्दा ढुवानी, खाना र बासमा धेरै खर्च हुने व्यापारी बताउँछन्। भेँडाच्याङ्ग्राको व्यापारबाट पुस्तैनी पेसा धानिनुका साथै चाडबाडका बेला उपभोक्ताको रोजाइ पनि पूरा हुने उनीहरूको भनाइ छ।
डोल्पाका सन्तोष धराला पनि १५० च्याङ्ग्रा लिएर बेच्न पोखरा झरेका छन्। ‘चाडबाडमा च्याङ्ग्रा बेच्न पोखरा आउन थालेको तीन वर्ष भयो,’ उनले भने, ‘च्याङ्ग्राका लागि घाँस र चरन क्षेत्र पाइने भएकाले पोखरामा सहज पनि छ।’
आफ्नो मुख्य पेसा नै यही भएकाले घाटा–नाफा जस्तो भए पनि च्याङ्ग्रा व्यापारलाई निरन्तरता दिँदै आएको उनले बताए।
दसैं–तिहारका बेला बाहिरी जिल्लाका कतिपय व्यापारी पनि च्याङ्ग्रा लिन मुस्ताङ पुग्छन्। मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँबाट व्यवसायीले च्याङ्ग्रा ल्याउँछन्।
त्यहाँबाट म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा ल्याउन हप्तादिनसम्म लाग्छ। मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौंसम्म पुग्ने गरेका छन्। मुस्ताङदेखि बागलुङ, पोखरा हुँदै काठमाडौंसम्म ट्रकमा च्याङ्ग्रा लैजाने गरिए पनि केही व्यापारीले हिँडाएरै पोखरासम्म ल्याउने गरेका छन्।
लामो र कठिन यात्रा तय गरेर व्यापारीले च्याङ्ग्रा सहर भित्र्याउँछन्। मासुजन्य अन्य परिकार बाह्रै महिना पाइने भए पनि च्याङ्ग्रा किन्न उपभोक्ताले दसैं र तिहार कुर्नुपर्छ।
विशेषगरी दसैंका बेला च्याङ्ग्राको मासु उपभोक्ताको बढी रोजाइमा पर्ने गरेको छ। हिमाली हावापानीमा जडीबुटी खाएर हुर्किने भएकाले च्याङ्ग्राको मासु स्वादिष्ट र स्वास्थ्यकर मानिन्छ।