अमेरिकाले इरानमा हवाई हमला गरेको छ।
अमेरिकी समयअनुसार मंगलबार साँझ ५ बजे अमेरिकाले हर्मुजनजिकै इरानको केश्म टापु र सिरिक बन्दरगाहमा हमला गरेको हो।
बन्दर अब्बास र हर्मुज जलमार्गको प्रवेशद्वार नजिकको जास्क क्षेत्रमा पनि विस्फोटको आवाज सुनिएको भनेर स्थानीय स्रोतहरूलाई उद्धृत गरेर इरानी सञ्चारमाध्यमहरूले लेखेका छन्।
मंगलबार बिहान अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसेको थियो।
हेलिकप्टरका दुई चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो।
अमेरिकी अधिकारीहरूका अनुसार इरानीड्रोनले हेलिकप्टरमा प्रहार गरेपछि होर्मुज नजिक ओमानको तटक्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। हेलिकप्टरमा रहेका दुवै चालक सुरक्षित उद्धार गरिएको र उनीहरूको अवस्था स्थिर रहेको अमेरिकी सेनाले जनाएको छ।
त्यसको जबाफमा अमेरिकाले इरानमाथि हमला गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
अमेरकाले हर्मुज आसपासका इरानी हवाई प्रतिरक्षा प्रणाली र रडार केन्द्रहरूलाई निशाना बनाएको थियो। मंगलबार कम्तिमा तीन चरणमा हवाई हमला गरेको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
हमलापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एबिसी न्युजसँग कुरा गर्दै जबाफी हमला अत्यन्त शक्तिशाली भएको बताएका छन्।
घटनापछि इरानका विदेशमन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल एक्समार्फत इरान कुनै पनि आक्रमण वा धम्कीको जवाफ नदिई नबस्ने चेतावनी दिएका छन्।
उनले विदेशी सैन्य उपस्थितिले दुर्घटनाको जोखिम बढाउने भन्दै क्षेत्र छोड्न सुझावसमेत दिएका छन्।
यस घटनाले अमेरिका–इरानबीच सम्भावित शान्ति सम्झौतामाथि थप दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ।
ट्रम्पले पटक–पटक दुई देश सम्झौताको नजिक पुगेको बताएका भए पनि अप्रिलको सुरुदेखि लागू भएको अस्थायी युद्धविरामपछि खास प्रगति देखिएको छैन।
विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलडमरूमध्यमा युद्धका कारण जहाज आवागमन प्रभावित बनेको छ।
युद्धअघि विश्वको झन्डै पाँचौं भाग कच्चा तेल र तरल प्राकृतिक ग्यास यही मार्ग हुँदै ढुवानी हुने गरेको थियो।
अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले जहाज आवागमन बिस्तारै बढ्न थाले पनि युद्ध अन्त्यपछि अवस्था सामान्य हुन अझै धेरै महिना लाग्ने बताएका छन्।