नेपाली भूमिमा हतियार सहित प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाले प्रतिकार गरेर फिर्ता पठाएका छन्।
सुस्ता गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष आदम हुसेनका अनुसार शुक्रबार बिहान करिब ७ बजेतिर हतियार बोकेका ५ जना भारतीय सुरक्षाकर्मी नेपालको सशस्त्र प्रहरीको क्याम्पदेखि पूर्वतर्फ नेपाली भूमिमा प्रवेश गरेका थिए।
भारतीय सीमा नजिकैको टुटनवास्थित पानीको घोलामा बनाइएको कल्भर्ट तरेर नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई खेतमा काम गरिरहेका नेपालीहरूले प्रतिकार गरी भारततर्फ पठाएको वडा अध्यक्ष हुसेनले बताए।
‘हतियार सहित भारतीय सुरक्षाकर्मी आएको देखेपछि खेतमा काम गरिरहेका सुस्तावासीले कसको अनुमतिले नेपाली भूमिमा आउनुभएको हो भनेर प्रतिकारमा उत्रिएपछि उनीहरू भारततर्फ फर्किएका हुन्,’ हुसेनले भने।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले बिहान गस्तीमा हिँडेको भारतीय सुरक्षाकर्मीको टोलीले नेपालको खेतको डिल प्रयोग गरेको र स्थानीयले सशस्त्र प्रहरीलाई खबर गरेपछि नेपालको भूमि प्रयोग नगर्न भनेपछि भारततर्फ फर्किएको बताए।
सो क्रममा केहीबेर भारतीय सुरक्षाकर्मी र स्थानीयबीच विवाद भएको थियो।
भारतीय सीमा नजिकैको टुटनवालाई पानीको घोलाले वारिपारि छुट्टाएको छ। घोला वारिको भूमिमा सुस्तावासीहरूले खेती लगाएका छन् भने घोला पारिको जमिनमा भारतीयले विवादित भूमि भन्दै खेती लगाउन रोक लगाएको छ। वरिपरि जङ्गलले घेरिएको घोला पारिको नेपाली भूमिमा भारतीय किसानहरूले भैँसीको चरन क्षेत्र बनाएका छन्।
स्थानीय मुन्सीकुमार हरिजनका अनुसार आफ्नै भूमि भए पनि नेपालीहरूलाई घोला तरेर टुटनवा जान रोक लगाइएको छ। तर भारतीय सुरक्षाकर्मीहरू भने बेला बखत हतियार सहित नेपाली भूमिमा छिर्ने गरेका छन्।
केही समय यता हतियार सहितका सुरक्षाकर्मी नेपाली भूमिमा आउने क्रम रोकिएको भए पनि पछिल्लो समय भने हतियार सहितका सुरक्षाकर्मी नेपाल प्रवेश गर्न थालेका छन्। केही दिनअघि मात्रै भारतीय सुरक्षाकर्मी आएर नेपालले नारायणी नदीको कटान रोक्न निर्माण गरिरहेको तटबन्धको निर्माण कार्य रोकेका थिए।
गत फागुनदेखि १ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण भइरहेकोमा त्यसैसँग जोडेर पूर्वतर्फ १३२ मिटर क्षेत्रमा तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता भए पनि भारतीय सुरक्षाकर्मीको अवरोधका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन।