नक्कली सरकारी कार्यालय स्थापना गरी ठगी गरेको आरोपमा बर्दिया प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।
ठाकुरबाबा नगरपालिका–०३ बगनाह बजारमा एक घर भाडामा लिएर ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामक नक्कली कार्यालय खोलेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका हुन्।
‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ को कार्यालय लमही दाङमा छ। नेपाल सरकारले गौरवको आयोजना अन्तर्गत राखेको यो कार्यालय दाङ देउखुरीमा छ। जसले सयौं बिगाह जमिनमा सिँचाइ सुबिधा पुर्याउँदै आएको छ।
बर्दियाका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार दाङमा रहेको ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ को नक्कली कार्यालय बर्दियामा खोलेर विभिन्न व्यक्तिलाई ठगी गरेको भन्ने जाहेरीका आधारमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–५ की २३ वर्षीया कृपा चौधरी पक्राउ गरिएको हो।
सुरूमा यो दम्पतीले नक्कली सरकारी कार्यालय खोल्न भाडाका लिएका घरबेटीले आफूमाथि ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
घरधनीसँग घरको तला थप्ने भन्दै न्यौपाने दम्पतीले झन्डै ४ लाख नगद ऋण सापटी भनेर मागेको भए पनि त्यो फिर्ता गरेका थिएनन्। साथै उनीहरूले घर भाडा पनि दिएका थिएनन्।
साथै उनीहरूले कार्यालयका लागि भनेर विभिन्न १३ जना व्यक्तिहरू यो बीचमा नियुक्त गरिसकेका थिए।
‘यो नक्कली सरकारी कार्यालय फागुनमा स्थापना भएको अनुसन्धानबाट खुलेको छ,’ डिएसपी बोहराले भने, ‘यो बीचमा सुरक्षाका लागि गार्ड, कार्यालय सहयोगी तथा अन्य केही कर्मचारी गरी १३ जनालाई नियुक्ति दिए पनि कसैलाई पनि तलब उपलब्ध गराइएको थिएन।’
डिएसपी बोहराका अनुसार पक्राउ परेका दम्पतीमध्ये श्रीमानले आफूलाई चार्टर्ड एकाउन्टेन्ट (सिए) र श्रीमतिीले आफूलाई उक्त नक्कली सरकारी कार्यालयको अधिकृत अर्थात् ७ औं तहको कर्मचारी भएको भन्ने गलत कुरा गरी सर्वसाधारणलाई ठगी गरेको पाइएको छ।
‘जे होस् नक्कली कार्यालय खडा गरी कर्मचारी नियुक्त गरी काममा लगाइदिने प्रलोभन देखाई कामदारहरूलाई ज्याला नदिने, घरधनीलाई घरभाडा भुक्तानी नगर्ने तथा सरकारी कागजात र छाप नक्कली रूपमा प्रयोग गर्ने गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी बोहराले भने, ‘कतिपय कर्मचारीलाई आफ्नो घरमा र घर निर्माणको काममा समेत लगाएको पाइएको छ।’
पक्राउ परेका दम्पतीका विरूद्ध जिल्ला अदालतबाट बिहीबार ७ दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डिएसपी बोहराका अनुसार पक्राउ परेका दम्पती विरूद्ध ‘ठगी तथा लिखत सम्बन्धी कसूर’ अन्तर्गत मुद्दा चलाउने गरी आवश्यक अनुसन्धान भइरहेको छ।