कालीकोट जिल्लाका ९ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ।
जन्मेदेखि पाँच वर्षमूनिका बालबालिकाले ९, गर्भवतीका लागि एक र किशोरीका लागि एक गरी ११ खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो।
खाँडाचक्र , रास्कोट, तिलागुफा नगरपालिका सहित महाबै, पचालझरना, सान्नीत्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यस अघि नै पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको थियो।
शुक्रबार पलाँता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि सबै थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ।
जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नु पर्ने भए पनि कुनै कारणले छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर सबै खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका व्यवस्थापक तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव डा रत्नवीर सुनारले बताए।
जिल्लाका तीन हजार ६३६ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य सेवा कार्यालयका खोप फोकल पर्सन तथा जनस्वास्थ्य अधिकृत कटकवहादुर महतले जानकारी दिए।
‘जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ,’ उनले भने, ‘अब जिल्लालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने योजना रहेको छ।’