बिना अध्ययन काठमाडौंका नेवार जातिलाई दलित सूचीमा समावेश गरिएको भन्दै उपत्यकाका नेवार समुदायले सरकारको विरोध गरेका छन्।
शनिबार काठमाडौंको असन डबलीमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारी सुशन वैद्यले सरकारले नेवारहरूका ४० वटा थरलाई दलित सूचीमा समावेश गरेकाले त्यो स्वीकार्य नरहेकाले विरोध गरेको बताए।
सूचीकृत गर्दा दलित आयोगले कुनै समुदायसँग छलफल नगरी र वैज्ञानिक अध्ययन बिना नै हचुवाको भरमा दलित घोषणा गर्नु अन्याय र विभेदकारी रहेको बताए।
नेवार समुदायमा दलित र उपेक्षित नरहेको बताए।
समाजलाई बिगार्नका लागि सरकार लागेको भन्दै उनले आफूहरूलाई यो कुरा स्वीकार्य नहुने बताए।
निर्णय नसच्चिए नेपाली कांग्रेस अझै कडा विरोधमा उत्रिने चेतावनी दिए।
नेपाली कांग्रेसका काठमाडौं महानगरपालिका सभापति समेत रहेका उनले नेवार समुदाय आफै एउटा राज्य रहेको र काठमाडौंमा रहेका समुदायलाई भाँड्ने काममा सरकार लागेको बताए।
प्रदर्शनमा आएकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले नेवारहरूको सांस्कृतिक पहिचानमाथि आक्रमण गरिएको बताइन्।
उनले नेवार समुदायमा दलित भन्ने वर्ग नै नरहेको बताउँदै जीवित देवीको थर पनि दलितमा परेको उल्लेख गरिन्।
देशभरका नेवार समुदायमाथि प्रहार गरिएको भन्दै उनले यस किसिमको निर्णय गर्दा सम्बन्धित पक्ष र समुदायसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा सरकारले रवैया देखाएको आरोप लगाइन्।
समुदायको पहिचानमाथि आक्रमण गर्नु सरकारका लागि राम्रो नहुने बताइन्।
सरकारमा रहेका व्यक्तिहरू कतिसम्म गैरजिम्मेवार छन् भन्नेकुरा यसबाटै थाहा हुने उनको भनाइ छ। यसले भविष्यमा जातीय द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिइन्।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सपनाराज भण्डारी जोशीले सरकारले राजपत्रमा निकालिएको कुरा बिना अध्ययन र अनुसन्धानमा ल्याइएको बताए।
समुदायसँग कुनै परामर्श नगरिएको र मानिसको भावनामा ठोस लागेको बताए।
आन्दोलनको रूपमा आगामी दिनमा झनै बढ्दै जाने चेतावनी दिए। राज्यले नागरिकको आत्मसम्मानमा ठोस पुर्याउनु नहुने बताए।
उनीहरूले ऐतिहासिक तथ्य र पहिचानको सम्मान गर्, आयोगको काम सिफारिस गर्ने, हचुवामा होइन, प्रमाण हेर्ने, न अध्ययन, न अनुसन्धान, हचुवाको भरमा शासन सञ्चालन, विरोध र द्वन्द्व हिंसाको लागि होइन, अधिकार र पहिचानको लागि, गणतन्त्रको पहिलो दलित प्रधानमन्त्री भएकोमा माननीयज्युलाई बधाई, सरकारको स्वेच्छाचारी निर्णय बन्द गर लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
उनीहरूले दलित आयोग खारेज गर्न माग समेत गरेका छन्। –न्युज एजेन्सी नेपाल