तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित डम्पिङ साइट क्षेत्रमा मर्स्याङ्दी नदीमा खसेर एक बालक बेपत्ता भएका छन्।
चितवनस्थित पारिजात सेकेन्डरी विद्यालयबाट शैक्षिक भ्रमण गरी फर्कने क्रममा १५ वर्षीय अंकित गुरुङ नदीमा खसेर बेपत्ता भएका हुन्।
चितवनको भरतपुर महानगरपालिका–६ निवासी गुरुङ आज साँझ करिब ६ः२० बजे गाडी रोकेर शौचालय जाने क्रममा सडकबाट तल नदीमा खसेका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २३ मनकामना गण तनहुँबाट खोजी टोली परिचालन गरिएको छ।
बेपत्ता बालकको खोजी तथा उद्धारका लागि चार जना गोताखोरसहितको सशस्त्र प्रहरी टोली घटनास्थलमा खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।