तराई–मधेसमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ।
हरेकजसो किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन्।
यहाँ उत्पादन हुनेमध्ये मालदह र दशहरी जातका आँप अन्यको तुलनामा स्वादिष्ट हुने भएकाले सबैको रोजाइमा पर्दै आएको पाइन्छ।
यसैबीच, महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान रामभगत महतोको आँगनमा भने एउटै बोटमा दुई स्वादिष्ट जातका आँप फलेका छन्। उहाँको घरआँगनको एउटै बोटमा ती दुवै जातका आँप फलेका छन्।
महतोले मालदहको बिरुवा भनी दुई वर्षअघि रोप्नुभएको बोटमा पहिलोपल्ट यसपालि फल लागेको हो। त्यस आँपको बोटका मुख्य दुई हाँगामा फरक–फरक जातका आँप फलेका हुन्।
'हेर्नुस त एकापट्टि मालदह र यो अर्का हाँगामा दशहरी फल्यो, दुवै स्वादिष्ट जातका आँप गनिन्छन् म खुसी छु,' उनले भने।
त्यो बोटमा मालदहका दाना ठूला रहेका र दशहरीका फल औसत रूपमा साना छन् ।
आँपको बिरुवामा कलमी लगाउँदा फेदतिर दशहरी र माथिल्लो भाग मलदहको हाँगो फाटेर गएको हुनसक्ने बागवानी विज्ञका रूपमा लामो सरकारी सेवाबाट अवकाश लिएका स्थानीय ताराबहादुर भुजेल बताउँछन्।
तथापि, एउटै बोटमा दुई जातका आँप फल्नु दुर्लभ घटना र अपवादमा भेटिने गरेको उनको भनाइ छ।