काठमाडौं जिल्ला अदालतको परिसरबाट बिचौलियासहित दुई जना पक्राउ परेका छन्।
लागुऔषधको मुद्दामा थुनाबाट छुटाइदिने भन्दै पैसा लिएको आरोपमा नगदसहित प्रहरीले परिसरबाट दुई जनालाई पक्राउ गरेको हो।
जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार सुर्यगढी ६ नुवाकोटका अजय थापा मगर र पैसा लिएर आउने विदुर ९ नुवाकोटका हरिराम गिरी पक्राउ परेका हुन्।
उनीहरूबाट ४ लाख ८० हजार रुपैयाँ बरामद भएको छ।
लागुऔषध मुद्दामा प्रतिवादी विमल घलेलाई छुटाइदिने भन्दै थापा मगरले पैसा मागेका थिए। गिरीले भने पैसा लिएर पुगेका थिए।
प्रतिवादी घले समेत भएको मुद्दामा थुनछेकको बयानका लागि आजै इजलासमा पेस भएको थियो। उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको सूचना अधिकारी खतिवडाले जानकारी दिए।