नुवाकोटको विदुर नगरपालिका–१०, भैंसे बजार पुगेपछि सबैभन्दा पहिले आँखा ठोक्किने कुरा घर होइन, घर नभएको ठाउँ हो।
जहाँ कुनै समय बजार थियो, अहिले त्यहाँ बगर छ। जहाँ मानिसहरू हिँड्थे, पसलहरू खुल्थे, गाडीहरू रोकिन्थे र यात्रुहरू चिया खान्थे, त्यहाँ अहिले भोटेकोशीको बाढीले थुपारेको ढुंगा, गेगर, माटो र बालुवा छ।
त्यही फराकिलो बगरको बीचमा एउटा घरको एउटा तला मात्र उभिएको छ। भुइँतला देखिँदैन। बाढीले पुरिसकेको छ।
माथिल्लो तला ढलेको छैन, तर त्यहाँ बस्न मिल्ने अवस्था छैन। घरको एउटा छेउमा तलामा गाडीका भग्नावशेष देखिन्छन्। घरका संरचना भत्किएका छन्, चर्किएका छन्। वरिपरि हेर्दा केही फरकको दुरीमा दुई वटा घर मात्र उभिएका छन्।
बाँकी भैंसे बजारको नामनिशान छैन।
त्रिशूली नदी बीचबाट धमिलो भएर बगिरहेको छ। नदी दायाँ र बायाँ फैलिएको छ। उसले आफ्नो पुरानो किनारा चिनेको छैन। पानीको रङमा माटो मिसिएको छ।
बगरमा उभिएको घर हेर्दाहेर्दै दुई जना युवक मोटरसाइकलमा नजिकै आउँछन्।
अनि एक जना युवक भन्छन्, 'यो घर मेरो हो।'
बाढीले वरपरका घरहरू र बजार बगाउँदा पनि ठिंग उभिएको घरका धनी हुन्, ३९ वर्षीय ध्रुव घिमिरे। बाढी गएकै दिन भदौ १० गतेदेखि उनी भैंसे आउजाउ गरिरहेका छन्।

उनको घरमा आमा थिइन्। दुई छोरा र एक छोरी थिए। उनकी श्रीमती भने जापान जाने तयारीका लागि काठमाडौं गएकी थिइन्। बाढी आएपछि उनका छोराछोरी, आमा, भाइ–बुहारी र भाइका छोराछोरी सम्पर्कविहीन छन्।
अहिलेसम्म भेटिएका छैनन्।
ध्रुवले कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन्। तर उनले आफ्नो मनलाई पूर्ण रूपमा मृत्यु स्वीकार गर्न दिएका छैनन्।
उनलाई अझै लाग्छ, 'आमा र कान्छो छोरा त्यही घरभित्र छन्। घरअगाडि उभिएर उनले भने, 'मेरो सानो छोरो र आमा यही घरभित्र छन्। गाउँलेहरू पनि त्यसै भन्छन्।'
यो वाक्य उनले एक पटक मात्र भनेका होइनन्। बाढीले छाडेको घरको भग्नावशेष हेर्दै उनले फेरि त्यही कुरा दोहोर्याए।
ध्रुवलाई आमा र सानो छोरा घरभित्रै रहेकोमा यति विश्वास थियो कि उनी उद्धारका लागि विभिन्न ठाउँमा पुगे। सिडिओ कार्यालय पुगे। प्रहरी कार्यालय पुगे। चिनजानका नेपाली सेनाका अधिकृतलाई सम्पर्क गरे। तर अहिलेसम्म कोही उद्धारमा पुगेका छैनन्।
'मेरो घरभित्र सानो छोरा र आमा हन्ड्रेड पर्सेन्ट छन्। निकाल्न मैले नगरपालिका, सिडिओ अफिस, प्रहरी र नेपाली सेनाको चिनेको अधिकृतलाई भनेको छु। उनीहरूले हुन्छ भनेका छन्,' उनले भने।
ध्रुवका लागि भदौ १० गते बिहान अरू दिनजस्तै सुरू भएको थियो। उनी काठमाडौंमा ट्याक्सी चलाउँथे। काठमाडौंमै बसेर आफ्नो परिवार चलाउँदै आएका थिए।
बिहान ८ः४० बजे उनको मोबाइलमा साथीको फोन आयो। भोटेकोशीमा ठूलो बाढी आएको खबर थियो। त्यति बेला उनीसँग बाढीको वास्तविक आकारबारे कुनै अनुमान थिएन।
सामाजिक सञ्जालमा भिडिओहरू देखिए। बाढीको आकार अस्वाभाविक देखियो। त्यसपछि उनले घरमा फोन गरे।
घरमा पनि बाढीबारे थाहा भइसकेको रहेछ। त्रिशूलीमा पहिले पनि बाढी आउँथ्यो। तर यति ठूलो आउँछ भनेर कसैले कल्पना गरेका थिएनन्।
उनकी भाइ–बुहारी स्कुल जान त्रिशूली नदी पार गर्दै थिइन्। नौ वर्षका जेठा छोरा त्यो दिन स्कुल गएका थिएनन्। ६ वर्षकी छोरी र चार वर्षका कान्छा छोरा पनि घरै थिए। बाढीले उनीहरू कसैलाई बाँकी राखेन।

उनकी श्रीमती जापान जान अन्तिम अन्तर्वार्ताको तयारीमा थिइन्। भदौ ७ गते काठमाडौं बोलाइएको थियो। तर १० गतेसम्म अन्तर्वार्ता भएन। त्यही दिन परिवारको जीवन नै बदलियो।
'सन्तानसँग हाँस्न र खेल्न मन थियो,' ध्रुवले भने।
बाढीको खबर पाउनासाथ उनी काठमाडौंबाट मोटरसाइकल लिएर नुवाकोटतिर लागेका थिए। विदुर पुग्दा बाटो अवरूद्ध भइसकेको थियो। बाढीले बजार सखाप पारेको थियो। सडक बगाएको थियो। उनी १४ किलोमिटर घुमेर भैंसेमाथिको डाँडामा पुगे।
त्यहाँबाट आफ्नो घर देखियो। घर उभिएको थियो। तर घरसम्म पुग्ने बाटो थिएन।
'बाढीको दलदलले घरसम्म पुग्न मलाई चार दिन लाग्यो,' उनले भने, 'जहाँ टेक्यो, त्यहीँ दबदबे थियो।'
चार दिनपछि ध्रुव आफ्नो घर पुगे। घरको एउटा तला उभिएको थियो। तर परिवार थिएन।
ध्रुवलाई गाउँलेहरूले एउटा कुरा सुनाएका छन्— सानो छोरा र आमा घरभित्रै हुन सक्छन्!
त्यही कुरामा उनलाई पनि विश्वास छ। घरका झ्यालढोका खुला थिए। बाढीसँगै लेदो, माटो, गेगर सबै घरभित्र पसेको थियो।
'झ्यालढोका खुलै थियो। गेगर माटो छिर्यो। भर्याङमा च्यापिएर पर्नुभयो कि,' उनी अनुमान गर्छन्, 'बाढी आउँदा आमा सानो बाबुलाई लिन भित्र जानुयो होला। त्यही बेला पर्नुभयो होला।'
यही अनिश्चितताले उनको प्रतीक्षा लम्ब्याएको छ। उनी निष्कर्षमा पुग्न चाहँदैनन्। त्यसैले अझै खोजिरहेका छन्।
भैंसे बजारमा ध्रुवसँगै भाइको घर पनि बचेको छ। दुवै घर एउटै इन्जिनियरले बनाएको एउटै नक्साका आधारमा नक्सा पास गरेर निर्माण गरिएको ध्रुव बताउँछन्।
उनको घर एक ढलानको हो, भाइको दुई ढलानको। बाढीले वरिपरिका अग्ला घरहरू ढाल्दा यी दुई घर उभिएका छन्। तर घरका मानिसको अत्तोपत्तो छैन।

भाइको घरमा बुहारी, एक छोरा र एक छोरी बस्थे। अहिले उनीहरू तीनै जना बेपत्ता छन्।
'मेरी त सान्त्वना दिने श्रीमती छन्। भाइको त कोही बाँकी रहेन,' उनले भने।
आफ्नो घरको करिब ४२ लाख रूपैयाँ बराबरको क्षति भएको ध्रुव बताउँछन्। दुई ठाउँमा रहेको खेतमा करिब ४० मुरी धान फल्थ्यो। दुवै ठाउँको खेत बगरमा परिणत भएको छ।
'आर्थिक क्षति त के हो र! यो भैंसे बजारमा सबैभन्दा धेरै मानवीय क्षति मेरो परिवारमा भयो,' उनले भने।
ध्रुव २०७२ सालको भूकम्पअघि साउदी अरब गएका थिए। त्यहाँ ६ वर्ष ३ महिना ड्राइभिङ गरे। भूकम्पपछि फर्किएर रसुवामा उनले करिब पाँच वर्ष एउटा गैरसरकारी संस्थाको गाडी चलाए। त्यसपछि काठमाडौंमा ट्याक्सी किनेर चलाउन थालेका थिए।
ध्रुवले कुशको शव बनाएर दाहसंस्कार गरिसके पनि नेपाल प्रहरीले वेबसाइटमा राखेका शवका तस्बिर हेर्न छाडेका छैनन्।
'प्रहरीका सबै पेज हेरिरहेको छु। मेरो भन्ने अहिलेसम्म भेटाएको छैन,' उनले भने।
घर, परिवार र समाज नै तहसनहस बनाउने गरी आएको बाढीपश्चात् फेरि उठ्न सरकारले सहयोग गरोस् भन्ने उनी चाहन्छन्। उनी आफूलाई मात्र होइन, सिंगो भैंसे बजारका बाढीपीडितलाई बराबरी सहयोग हुनुपर्ने मान्यता राख्छन्।
'म व्यक्तिलाई केही चाहिँदैन। सामाजिक रूपमा लाग्छ भने पारदर्शी होस्,' उनी भन्छन्, 'एउटा टेक्ने ठाउँ र उभिने ठाउँ त राज्यले दिन्छ होला नि।'