सिन्धुलीमा अटो अनियन्त्रित भएर सडकबाट तल खेतमा खस्दा गर्भवती महिलासहित सात जना घाइते भएका छन्।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।
शनिबार दिउँसो साढे १ बजे सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना भएको हो।
झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१-००१ स ८१४० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका–१ का ४० वर्षीय गंगा घिसिङ घाइते भएका छन्। उनको अवस्था मध्यम छ।
त्यस्तै, नामथर र ठेगाना नखुलेकी अन्दाजी ३२/३३ वर्षीया गर्भवती महिला, बागमती गाउँपालिका–१ की १९ वर्षीया कान्छीमाया पहरी, उनकी तीन वर्षीया छोरी समीक्षा पहरी, नौ वर्षीय प्रवास पहरी र सात वर्षीया स्वस्तिका पहरी तथा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ ककरेकी ६० वर्षीया पातलीमाया भोलनको अवस्था गम्भीर रहेको छ।
सबै घाइतेलाई उपचारका लागि मकवानपुर पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।