महाराष्ट्रको एउटा सानो गाउँबाट मुम्बई पुग्दा भूषण ठाकरेको खल्तीमा जम्मा २४ रूपैयाँ थियो।
उनीसँग न ठूलो सहरमा बस्ने अनुभव थियो, न त कुनै ठूलो चिनजान।
तर मनमा एउटा सपना थियो– अमिताभ बच्चनको अगाडि बसेर 'कौन बनेगा करोडपति' (केबिसी) खेल्ने।
त्यही सपना बोकेर उनी पहिलोपटक सन् २०१६ मा केबिसीमा सहभागी हुन नाम दर्ता गराएका थिए। त्यसपछि हरेक वर्ष प्रयास गरे। तर उनको पालो आएन।
करिब १० वर्षपछि बल्ल त्यो सपना पूरा भयो।
महाराष्ट्रको जलगाउँ जिल्लास्थित बालवाडी गाउँका २८ वर्षीय भूषण केबिसीको हटसिटमा पुगे। अमिताभ बच्चनका प्रश्नको जबाफ दिँदै एक करोड रूपैयाँ जिते।
मुम्बई जाँदा खल्तीमा २४ रूपैयाँ बोकेका उनी करोडपति बनेर फर्किए।
तर भूषणका लागि यो जित केवल पैसाको कथा होइन।
यो मजदुरी गरेर परिवार पाल्ने बुवाको पसिना, छोराको पढाइका लागि आफ्ना गहना बेचिरहने आमाको त्याग र वर्षौंदेखि देखेको एउटा सपनाको कथा पनि हो।
भूषणले सात करोड रूपैयाँका लागि सोधिएको अन्तिम प्रश्नको जबाफ दिन जोखिम मोल्न चाहेनन्। एक करोड रूपैयाँ जितिसकेपछि उनले खेल छाड्ने निर्णय गरे।
तर सात करोडको प्रश्नमा उनको अनुमान पनि मिलेको थियो। तर उनलाई खेल छाडेकोमा पछुतो नरहेको उनी बताउँछन्।
'केबिसीले मलाई एक करोड रूपैयाँ जित्ने अवसर दियो। मेरो लागि यो रकम नै पर्याप्त छ। यसले मेरो पूरै जीवन बदल्न सक्छ,' उनले बिबिसी हिन्दीलाई भनेका छन्।
आमाका गहना बेचेर छोराको पढाइ
भूषणको परिवारमा चार जना छन्– बुवा, आमा, उनी र भाइ कुलदीप।
परिवारसँग आफ्नो जमिन थिएन। बुवाले मजदुरी गरेर घर चलाउँथे। उनी पाँच वर्षको उमेरदेखि नै काम गर्न थालेका थिए। पढ्ने अवसर नपाएका उनका बुवाले जीवनभर अरूको काम गरेर परिवार पाले।
आमा पनि पढेलेखेकी छैनन्। उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्। अहिलेसम्म उनको आठदेखि नौ पटक शल्यक्रिया भइसकेको छ।
घरखर्च चलाउने, आमाको उपचार गर्ने र दुई छोराको पढाइ अघि बढाउने जिम्मेवारी बुवाकै काँधमा थियो।
भूषणले गाउँकै सरकारी विद्यालयबाट १२ कक्षासम्म पढे। त्यसपछि जलगाउँकै सरकारी संस्थाबाट उच्च शिक्षा लिए। उनले इतिहासमा स्नातकोत्तर गरेका छन्। अहिले राजनीति शास्त्रमा स्नातकोत्तर गर्दै भारतीय प्रशासनिक सेवा (युपिएससी) को परीक्षाको तयारी गरिरहेका छन्।
तर उनको पढाइको बाटो सजिलो थिएन।
सन् २०१६–१७ तिर पढ्नका लागि घर छाड्दा परिवारको आर्थिक अवस्था निकै कमजोर थियो। छोराको पढाइ खर्च जुटाउन बुवालाई हम्मेहम्मे पर्थ्यो।
त्यही बेला आमाले घरखर्चबाट थोरैथोरै पैसा बचाएर सुन किन्ने गरेकी थिइन्। कहिले एक ग्राम, कहिले दुई ग्राम त कहिले तीन ग्राम।
तर त्यो सुन आफ्नो लागि थिएन। छोरालाई पढाइका लागि पैसा चाहिँदा उनी त्यही गहना बेच्थिन्।
आमाले यसरी जम्मा गरेको सुन छोराको पढाइ खर्च जुटाउने माध्यम बन्यो।
अहिले एक करोड रूपैयाँ जितेपछि भूषणको पहिलो चाहना आमाका लागि गहना किनिदिने छ।
'अब आमाले गरेको त्यागको ऋण तिर्ने बेला आएको छ। त्यो पनि ब्याजसहित। त्यसैले सबैभन्दा पहिले उहाँका लागि गहना किनिदिन्छु,' उनले भनेका छन्।
आफ्नै परिवारको बोझ बन्न थालेको महसुस
भूषण अहिले युपिएससीको तयारीका लागि परिवारबाट टाढा भुसावलको एउटा छात्रावासमा बस्छन्।
उनले आफूले केही उपलब्धि हासिल नगरेसम्म घर नफर्किने प्रण गरेका थिए।
पढाइमा पटकपटक अवरोध आउन थालेपछि उनलाई आफू परिवारमाथि निर्भर भइरहेको महसुस हुन थाल्यो। पढाइ पनि नियमित हुन सकेको थिएन। बीचबीचमा पढाइ छुट्थ्यो। कमाइको बाटो थिएन।
'जवान छोरा भएर पनि केही गर्न सकिरहेको थिइनँ। पढाइ पनि निरन्तर भइरहेको थिएन। बीचबीचमा रोकिँदै थियो। कताकता म परिवारकै बोझ बन्दै गएको महसुस हुन थाल्यो,' उनले भनेका छन्।
त्यसैले उनले घर छाडेर आफैं केही गर्ने निर्णय गरे।
तर घरबाट टाढा बस्नु सजिलो थिएन। कतिपय बेला आमाको स्वास्थ्य निकै बिग्रन्थ्यो। तर उनी उपचारमा सहयोग गर्न सक्ने अवस्थामा थिएनन्। आमालाई गाह्रो हुँदा पनि केही गर्न नसक्नु र परिवारको आर्थिक अवस्था कमजोर हुनु उनलाई पीडादायी लाग्थ्यो।
अहिले एक करोड रूपैयाँ जितेपछि उनी सबैभन्दा पहिले आमाबुवाको जीवन सहज बनाउन चाहन्छन्।
उनका बुवा अहिले ५५ वर्षका भए। पाँच वर्षको उमेरदेखि मजदुरी गर्न थालेका बुवाले जीवनभर शारीरिक श्रम गरेर परिवार धाने।
भूषण अब बुवालाई मजदुरी गर्न नदिने बताउँछन्।
'अबदेखि म बुवालाई मजदुरी गर्न दिन्नँ। उहाँले सानै उमेरदेखि काम गर्नुभयो। आमाबुवा दुवैले सानैदेखि दुःख गर्नुभयो। अब उहाँहरूलाई आराम दिने मेरो चाहना छ,' उनले भनेका छन्।
२४ रूपैयाँबाट एक करोड २४ लाखसम्म
केबिसीमा सहभागी हुन छनोट भएको खबर आउँदा भूषणको खल्तीमा जम्मा २४ रूपैयाँ थियो।
कार्यक्रमको टोलीले उनलाई फोन गरेर मुम्बई आउन भन्यो। तर मुम्बई जाने र बस्ने खर्चको चिन्ता उनलाई थिएन। कार्यक्रम आयोजकले सहभागीको आउजाउ र बसाइको व्यवस्था मिलाउँछ।
उनी २४ रूपैयाँ बोकेर मुम्बई पुगे।
अमिताभ बच्चनलाई टेलिभिजनमा देख्दै आएका भूषणका लागि उनीसँगै एउटै मञ्चमा बस्नु पनि असाधारण अनुभव थियो।
सानो गाउँमा हुर्किएका भूषणले ठूला सहरमा धेरै समय बिताएका थिएनन्। उनी आफूलाई अलि कम बोल्ने स्वभावको बताउँछन्। त्यसैले अमिताभ बच्चन अगाडि पुग्दा उनी निकै आत्तिएका थिए।
'मलाई डर लागिरहेको थियो। मुटुको धड्कन बढेको थियो। खुट्टा अलिअलि काँपिरहेका थिए। पसिना आइरहेको थियो,' उनले आफ्नो अनुभव सुनाएका छन्।
तर अमिताभले प्रतियोगीलाई सहज बनाउन सुरूवातका ५/६ मिनेट कुराकानी गर्ने रहेछन्। त्यसले भूषणलाई पनि सहज बनायो। त्यसपछि उनले प्रश्नको सामना गरे र एक करोड रूपैयाँ जिते।
'म मुम्बई जाँदा खल्तीमा २४ रूपैयाँ थियो। फर्किंदा खल्तीमा एक करोड २४ लाख रूपैयाँ थियो,' उनले भनेका छन्।
यो रकमले उनको परिवारको आर्थिक अवस्था बदल्नेछ। आमाका लागि गहना किन्ने र बुवालाई मजदुरीबाट विश्राम दिने उनको योजना छ।
त्यससँगै युपिएससीको तयारीलाई पनि निरन्तरता दिने उनको चाहना छ। राम्रो सहरमा गएर सुविधासम्पन्न कोचिङ संस्थामा पढ्ने योजना उनले बनाएका छन्।
भूषणले सात करोड रूपैयाँ जितेनन्, त्यसका लागि प्रयास पनि गरेनन्।
तर उनका लागि त्योभन्दा ठूलो जित अरू नै छ। जीवनभर अरूको खेतबारी र काममा पसिना बगाएका बुवालाई अब मजदुरी गर्न नपर्ने बनाउनु, छोराको पढाइका लागि गहना बेच्ने आमालाई फेरि गहना किनिदिनु र वर्षौंदेखि देखेको सपना पूरा गर्नु।
मुम्बई जाँदा उनको खल्तीमा २४ रूपैयाँ थियो। तर मनमा परिवारको दुःख बदल्ने सपना थियो। फर्किंदा खल्तीमा करोड रूपैयाँ थियो, अनि त्यो सपना पूरा गर्ने बाटो पनि।