बाजुरामा ट्याक्टर पाँच सय मिटर मुनी खस्दा तीन जनाको मृत्यु भएको छ।
जिल्लाको जगन्नाथ गाउँपालिका – ३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही, ३५ वर्षीय धर्म शाही र ५२ वर्षीया रामशरादेबी सिंहको मृत्यु भएको हो।
धनरूप र धर्मको घटनास्थलमै र सिंहको उपचारका क्रममा शनिबार बिहान सवा १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी थप चार जना घाइते छन्।
घाइतेहरूमा जगन्नाथ गाउँपालिका– ३ मनिकाँडाका ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड र २२ वर्षीया संगीता शाही छन्।
अछामको रामारोशन गाउँपालिका– ४ का २१ वर्षीय चालक नविन बोहरा पनि घाइते छन्।
घाइते मध्य संगीताको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ।
शुक्रबार बुलेकी साढे ६ बजेतिर बाजुराको जगन्नाथ गाँउपालिका – ३ दाउणा भन्ने स्थानमा पिलुचौरबाट मनिकाँडा तर्फ जादै गरेको सु.प.प्र.०१–००२ त ४६८७ ट्याक्टर झन्डै ५०० मिटर मुनी खसेको थियो।
यो दुर्घटना बारे स्थानीय सुवास विकले जिल्ला प्रहरी कार्यालय बाजुरामा जानकारी गराउनासाथ प्रहरी चौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीराज जोशीको टोली र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी नायव निरीक्षक भागिरथसिह धामी कमाण्डको प्रहरी टोली घटनास्थल पुगेको थियो।
राति ११ बजे मात्रै प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि मात्रै प्रहरीले घाइतेलाई उपचारका लागि अस्पताल पुर्याएको थियो।
प्रहरीका अनुसार ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।