पोखरा महानगरपालिका वडा नम्बर २९, नौबिसे सिसुवा तालचोकका फाँटहरू यतिबेला धानबाली भित्र्याउने चटारोले गुल्जार बनेका छन्।
उत्तरतर्फ टल्किएको माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलालाई साक्षी राख्दै पोखरा पर्यटन परिषद्को आयोजनामा सम्पन्न ‘दाइँ महोत्सव’ ले गाउँमा बेग्लै रौनक थपिदिएको छ।
खलोको बीचमा गाडिएको रातो–पहेँलो मियोमा आठ वटा गोरू नारेर घुमाउँदा परम्परागत नेपाली कृषि संस्कृतिको जीवन्त झल्को दिन्छ।
गलामा सयपत्री माला र निधारमा रातो टीका लगाएका स्वदेशी तथा विदेशी पर्यटकहरू हातमा लौरो र परालका मुठ्ठा लिएर गोरुको पछिपछि हिँड्दा खलोभरि हाँसो र उत्साह छाएको छ।
कतै किसानसँगै पहेँलो धानका मुठ्ठा उचालेर झाँटिरहेका पाहुना त कतै छरिएका धान र पराल समेट्दै सघाएका दृश्यले श्रमलाई नै उत्सवमा बदलिदियो।
रातो र गुलाबी साडीमा सजिएका स्थानीय आमा–दिदीबहिनीहरूको साथ र सात समुन्द्रपारिबाट आएका पाहुनाको आत्मीय सहभागिताले सबैको मन छुन्छ। –न्युज एजेन्सी नेपाल










