जुम्लामा १४ वर्षीया किशोरीलाई झारफुक गरेर निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा देखिएका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जुम्लाको गुठिचौर गाउँपालिका–१ का ४६ वर्षीय कालीबहादुर रोकाया छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई शनिबार दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले आफ्नै घरबाट पक्राउ गरेको हो।
झारफुक गरेर निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा कालीबहादुर देखिएका थिए।
भिडिओमा देखिएकी किशोरी पनि गुठिचौर गाउँपालिका–१ कै हुन्।
पक्राउ परेका कालीबहादुरलाई जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।