काठमाडौंको टुकुचास्थित खसी बजारमा खसीको मासु भन्दै बाख्रा र पाठीको मासु बिक्री गर्न खोज्ने आठ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार दिउँसो करिब ४ बजे बाख्रा र पाठीको मासु खसीको मासु भन्दै बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले बजारमा छापा मारेको थियो।
त्यस क्रममा ५६७ किलो बाख्राको मासु दुईवटा गाडीमा लोड गर्दै गरेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले मासुसहित बा ६ ख ६७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप पनि फेला पारेको थियो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा, काभ्रेका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेकै २५ वर्षीय दिनेश महत छन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।