बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा टिप्न र बेच्न भ्याइनभ्याइ छ।
केही दिनयता उनको दिनचर्या फेरिएको छ। उनी बिहानै तलाउमा सिंगाडा टिप्न पुग्छन् र दिनभर बिक्रीमा व्यस्त हुन्छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएका कश्यपले एकै सिजनमा करिब चार लाख रुपैयाँ आम्दानी गर्दै उदाहरणीय किसानको पहिचान बनाएका छन्।
वार्षिक २० हजार रुपैयाँ भाडा तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ लिएर उनले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने भएकाले आफू यो खेतीतर्फ आकर्षित भएको उनले बताए।
‘अहिले सिंगाडाको सिजन हो। सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,’ कश्यपले भने, ‘प्रतिक्विन्टल ६ हजार रुपैयाँका दरले गाउँबाटै बिक्री भइरहेको छ। व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।’
कश्यपका लागि सिंगाडाखेती व्यवसाय मात्रै होइन, पुर्ख्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेसाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।
सिजन सुरु भएपछि कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग धेरै भएका बेला उनले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाउने गरेका छन्।
असारमा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मंसिरमा सिंगाडा टिप्न तयार हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ।
‘सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ। कात्तिक–मंसिरमा उत्पादन हुन्छ। अन्य बालीलाई जस्तो धेरै दुःख, मेहनत र लगानी गर्नुपर्दैन,’ उनले भने, ‘रोपेपछि दुई–तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ। त्यसपछि उत्पादन राम्रो हुन्छ।’
बाँकेका विभिन्न तलाउ तथा पोखरीमा सिंगाडाखेती हुने गरेको छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मंसिरको सिजनमा यसको माग उच्च हुन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलामा सिंगाडाको खपत बढ्ने गर्छ।
व्रत बस्नेहरूले सिंगाडा उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा पनि प्रयोग गर्ने भएकाले यसको माग हुने गरेको छ। यस वर्षको कात्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारी ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।
उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली गरेर ल्याइएको भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तोमा बिक्री हुन थालेपछि आफूहरूले पनि मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ।
सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझ बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।