ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले आयोजनाको भौतिक प्रगतिलगायत विषयमा जानकारी लिएका थिए।
आयोजना व्यवस्थापनका तर्फबाट हालसम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी गराइएको थियो।
आयोजनास्थलमा रुख कटानसम्बन्धी समस्या देखिएकाले त्यसको समाधान गरी कामलाई गति दिन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने मन्त्री श्रेष्ठले बताए।
कुल चार अर्ब ५२ करोड रुपैयाँ लागत रहेको यो आयोजना रूपाताल संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन र स्थानीय विकासका लागि महत्वपूर्ण मानिएको छ।
रूपाताललाई वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना र पर्यापर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए। यही आधारमा कास्कीका अन्य तालको पनि संरक्षण योजना बनाउन सकिने उनले बताए।
मन्त्री श्रेष्ठले शुक्रबार नै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासँग भेट गरेका थिए।
भेटमा पोखराको पहिचानसँग जोडिएको फेवातालसहित गण्डकी प्रदेशका ताल तथा जलाशयको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका लागि संघ र प्रदेशबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो।
दुई मन्त्रीबीच गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको बहुआयामिक उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई संघ र प्रदेश सरकारबीचको समन्वयमा अघि बढाउने विषयमा पनि कुराकानी भएको थियो।
त्यस्तै, मन्त्री श्रेष्ठले पोखरास्थित लेखनाथ सबस्टेसनको स्थलगत अनुगमन गरी पोखरा तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति र वितरण प्रणालीको अवस्थाबारे जानकारी लिएका थिए।
अनुगमनका क्रममा उनले विद्युत् प्रणालीको वास्तविक समयको तथ्यांक व्यवस्थापन, अनुगमन र विश्लेषणका लागि डाटा सेन्टरको सञ्चालन तथा उपयोगिताबारे जानकारी लिएका थिए।
हिउँदमा आन्तरिक विद्युत् उत्पादन, बढ्दो माग र अन्तरदेशीय विद्युत् व्यापारबीच तालमेल मिलाएर आपूर्ति व्यवस्थापन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए।
उनले नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्रका प्रमुखहरूसँग छलफल गरी विद्युत् वितरण प्रणाली, सेवा प्रवाह र सुधारका चुनौतीबारे जानकारी लिएका थिए।
विद्युत् चुहावटलाई लक्ष्यभन्दा तल झार्ने, काठका पोल प्रतिस्थापन गर्ने, सामुदायिक विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने तथा बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ध्यान दिनुपर्ने उनले बताए।