दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भइरहेका खेलको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा छ।
सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ।
हालसम्म सम्पन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी ४५ पदक जितेको छ।
कर्णालीले भने अहिलेसम्म कुनै पनि विधामा पदक जित्न सकेको छैन।
सहआयोजक प्रदेश नै पदकविहीन हुनुपर्ने अवस्थाबारे कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारीले पूर्णता पाउन नसक्दा अपेक्षित नतिजा हासिल हुन नसकेको बताए।
पदक तालिकामा गैरआवासीय नेपाली संघ (एनआरएन) दोस्रो स्थानमा छ। एनआरएनले १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदक जितेको छ।
त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कास्य गरी ५० पदक जितेको छ। नेपाल पुलिस क्लबले आठ स्वर्ण, १५ रजत र १८ कास्य गरी ४१ पदक प्राप्त गरेको छ।
त्यस्तै, गण्डकीले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ, कोशीले चार स्वर्ण, एक रजत र एक कास्य गरी छ तथा सशस्त्र प्रहरी बल (एपिएफ) ले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच पदक जितेका छन्।
लुम्बिनीले दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ तथा सुदूरपश्चिमले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक जितेका छन्। मधेस प्रदेशले भने दुई कास्य पदकमात्र जितेको छ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार मंसिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायतका खेल अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन्। तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन्।
यसैबीच, दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा शनिबार भएको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गरेको हो। पुलिसका सुजन बलाम्पाकी मगरले पहिलो हाफको अतिरिक्त समयको ४६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
खेलमा पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र अभिषेक लामा तथा गण्डकीका सन्दीप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाए।
पुलिस सेमिफाइनलमा पुगेसँगै गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ।
आज मंसिर १३ गते दुई खेल हुँदैछन्। पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा दोस्रो खेलमा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
यी खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने म्याच कमिसनर वीरेन्द्र पाण्डेले बताए।