दाङको तुलसीपुरमा एउटा युवा क्लबले तिहारमा भैलो खेलेर संकलन गरेको रकमबाट विद्यालयका लागि जग्गा उपलब्ध गराउने भएको छ।
क्लबले भैलोबाट उठेको रकम र आफ्नो पुरानो बचतसमेत जोडेर तुलसीपुर–९ स्थित श्री सरस्वती चौतारा माध्यमिक विद्यालय सल्लीवनलाई पौने ३ कठ्ठा जग्गा उपलब्ध गराउन लागेको हो।
तुलसीपुर उपमहानगरपालिका–३ गहतेस्थित न्यू भिजन परम्परा युवा क्लबले विद्यालयसँगै जोडिएको जग्गा १५ लाख १० हजार रूपैयाँमा किन्न लागेको क्लबका अध्यक्ष टंक मल्ल (सुशान्त) ले सेतोपाटीलाई बताए।
जग्गा खरिदका लागि क्लबले स्थानीय जग्गाधनी लालबहादुर चन्दलाई पाँच लाख १० हजार रुपैयाँ बैना दिइसकेको छ। मंसिर २५ गतेभित्र बाँकी रकम बुझाएर जग्गा विद्यालयलाई दिने सहमति भएको मल्लले बताए।
‘जग्गा खरिदका लागि हामीले पाँच लाख १० हजार रुपैयाँ बैना बुझाइसकेका छौं,’ मल्लले भने, ‘मंसिर २५ गतेभित्र बाँकी रकम बुझाएर जग्गा विद्यालयको नाममा दिने सहमति भएको छ।’
क्लबले यस वर्ष तिहारमा भैलो खेलेर १४ लाख ३५ हजार रुपैयाँ संकलन गरेको थियो। अपुग रकम यसअघि क्लबले सामाजिक कामका लागि जम्मा गरेको रकमबाट थपेको हो।
भैलो खेल्नुअघि क्लबले आफ्ना सदस्यलाई करिब एक महिना नृत्य प्रशिक्षण दिएको थियो। त्यसपछि लक्ष्मीपूजाका दिनदेखि कात्तिक २६ गतेसम्म क्लबका ६० देखि ६५ जना सदस्यले भैलो खेलेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन केसी पनि क्लबका सदस्य र बालबालिकासँगै भैलोमा सहभागी भएका थिए। क्लबले वडा नम्बर ३, ८ र ९ का विभिन्न बस्तीमा भैलो खेलेको थियो।
विद्यालयमा खेलमैदान र खुला ठाउँको अभाव भएपछि क्लबले जग्गा किनिदिने योजना बनाएको मल्लले बताए।
उनका अनुसार माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा विद्यार्थीलाई बिहान र साँझ प्रार्थना गर्ने ठाउँसमेत छैन।
‘माविसम्म पढाइ हुने सरकारी विद्यालय भए पनि बालबालिकाले बिहान र साँझ प्रार्थना गर्ने ठाउँसम्म थिएन,’ मल्लले भने, ‘त्यही भएर भैलो खेलेरै केही रकम जम्मा गर्ने र विद्यालयसँगै जोडिएको जग्गा किनेर दिने योजना बनाएका हौं।’
जग्गा विद्यालयको नाममा आएपछि त्यहाँ फुटसल मैदान बनाउन सकिने मल्लको भनाइ छ।
यसले विद्यार्थीलाई खेलकुद र अन्य अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न ठाउँ पुग्ने उनले बताए।
‘मावि विद्यालय भएर पनि भलिबल खेल्न मिल्ने ठाउँसम्म थिएन,’ उनले भने, ‘त्यही भएर भैलो खेलेर संकलन गरेको रकमले विद्यालयलाई जग्गा किनेर दिन थालेका हौं।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केसीले पनि विद्यालयमा खुला ठाउँको अभाव रहेको बताए। विद्यालयको आफ्नै आन्तरिक आम्दानीको स्रोत नभएकाले जग्गा थप्न नसकिएको उनको भनाइ छ।
‘हाम्रो विद्यालयसँग विद्यार्थीले प्रार्थना गर्ने ठाउँसम्म थिएन,’ उनले भने, ‘अब क्लबले भैलोबाट संकलित रकमले जग्गा किनेर दिने अन्तिम तयारी गरेको छ। त्यसपछि विद्यालयलाई सहज हुनेछ।’

सरकारले भर्ना शुल्कसमेत निःशुल्क गर्नुपर्ने व्यवस्था गरेपछि विद्यालयले आफ्नै स्रोतबाट जग्गा थप्न सक्ने अवस्था नरहेको उनी बताउँछन्।
विद्यालयमा अहिले करिब साढे दुई सय विद्यार्थी अध्ययनरत छन्। भवनसहित विद्यालयले प्रयोग गर्दै आएको जग्गा जम्मा पाँच कठ्ठा छ। त्यो सबै ऐलानी जग्गा हो। क्लबले किन्न लागेको जग्गा पनि ऐलानी नै रहेको अध्यक्ष केसीले बताए।
‘पहिलेदेखि विद्यालय रहेको जग्गा पनि ऐलानी हो। अहिले क्लबले भैलो खेलेर किन्न लागेको जग्गा पनि ऐलानी नै हो,’ उनले भने।
उनका अनुसार जग्गा अहिले उपभोग गर्दै आएका व्यक्तिसँग सहमति गरेर विद्यालयले प्रयोग गर्न पाउने कागजात तयार भइसकेको छ। बाँकी रकम बुझाएपछि विद्यालयले जग्गा उपयोग गर्न पाउनेछ।
न्यू भिजन परम्परा युवा क्लबले यसअघि पनि भैलोबाट संकलित रकम सामाजिक काममा खर्च गर्दै आएको छ।
२०८२ सालमा क्लबले भैलोबाट संकलित रकममध्ये एक लाख दुई हजार ८१ रुपैयाँ विद्यालयमा अक्षय कोष स्थापना गर्न दिएको थियो।
उक्त रकमबाट आउने ब्याजले हरेक वर्ष जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिने गरिएको छ। सोही वर्ष क्लबले ३० हजार रुपैयाँमा दुईवटा ह्वाइट बोर्ड किनेर विद्यालयलाई दिएको थियो।
केही वर्षअघि क्लबले भैलो खेलेर संकलन गरेको साढे दुई लाख रुपैयाँ तुलसीपुर–३ स्थित त्रिवेणी घाटमा शवदाह गृह निर्माणका लागि दिएको थियो। उक्त घाटमा वडा नम्बर ३, ८ र ९ का साथै तुलसीपुर बजारका मानिसले पनि अन्तिम संस्कार गर्दै आएका छन्।
क्लबका अध्यक्ष मल्लका अनुसार तीन वर्षअघि निर्माण भएको शवदाह गृह बनाउन २५ लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो।
क्लबले दिएको साढे दुई लाखबाहेकको रकम ‘परम्परा टेली सिरियल’ मार्फत सहयोग आह्वान गरेर जुटाइएको थियो। स्थानीयले पाँच सयदेखि एक लाख रुपैयाँसम्म सहयोग गरेका थिए। एक जनाले घाट फराकिलो बनाउन आफ्नो आठ धुर निजी जग्गासमेत दिएका थिए।
मल्ल र तुलसीपुर–३ का स्थानीय तथा शिक्षक देवेन्द्र केसीले उक्त टेली सिरियल निर्देशन गर्दै आएका थिए। पछिल्लो समय भने सिरियलको गतिविधि केही सुस्त भएको मल्लले बताए।
विद्यालयका लागि किन्न लागिएको जग्गा।
क्लबले विपन्न परिवारका सदस्यको उपचारमा पनि सहयोग गर्दै आएको छ। तिहारभन्दा केही दिनअघि तुलसीपुर–३ गहतेका १३ वर्षीय टीकाराम कुमाई खेल्ने क्रममा लडेर दाहिने हात भाँचिएपछि क्लबले उनको उपचार खर्च बेहोरेको थियो।
आर्थिक अवस्था कमजोर भएका कुमाईको तुलसीपुरस्थित सिटी हस्पिटलमा उपचार गर्दा ४९ हजार रुपैयाँ खर्च भएको थियो।
अस्पतालका अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विमल रिजालले व्यक्तिगत रूपमा पाँच हजार र चलचित्रकर्मी अनिल बुढाथोकीले चार हजार रुपैयाँ सहयोग गरेका थिए। अस्पतालले पनि दुई हजार रुपैयाँ छुट दिएको थियो। बाँकी ३८ हजार रुपैयाँ क्लबले बेहोरेको मल्लले बताए।