भारतको प्रतिष्ठित टाटा समूहमा नेतृत्वलाई लिएर शक्ति संघर्ष चर्किएको छ।
टाटा ट्रस्ट्सका अध्यक्ष नोएल टाटा र टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनबीचको विवाद चन्द्रशेखरनलाई थप पाँच वर्ष अध्यक्ष बनाउने निर्णयसँगै चर्किएको हो।
सेप्टेम्बर १७ मा बसेको टाटा सन्सको बोर्ड बैठकले चन्द्रशेखरनलाई उनको वर्तमान कार्यकाल सकिएपछि अर्को पाँच वर्षका लागि पुनः अध्यक्ष बनाउने निर्णय गरेको थियो। तर टाटा ट्रस्ट्सले उक्त निर्णयलाई गैरकानुनी भएको दाबी गरेको छ।
टाटा ट्रस्ट्सका अध्यक्ष नोएल टाटाले उक्त निर्णयको विरोधमा मतदान गरेका थिए। उनको विरोधका बाबजुद बोर्डका चार सञ्चालकले प्रस्तावको पक्षमा मतदान गरे।
सामान्य रूपमा हेर्दा चन्द्रशेखरनको पुनर्नियुक्तिको प्रस्ताव छ सदस्यीय बोर्डमा ४–१ मतले पारित भएको देखिन्छ। चन्द्रशेखरन स्वयंले भने आफ्नो पुनर्नियुक्ति सम्बन्धी प्रस्तावमा मतदान गरेनन्।
कानुनी विवादको केन्द्रमा भने टाटा ट्रस्ट्सका दुई मनोनीत सञ्चालकको मत परेको छ।
टाटा सन्सको बोर्डमा नोएल टाटा र भेनु श्रीनिवासन गरी टाटा ट्रस्ट्सका दुई मनोनीत सञ्चालक छन्। सेप्टेम्बर १७ को मतदानमा श्रीनिवासनले चन्द्रशेखरनको पक्षमा मतदान गरे भने नोएल विपक्षमा उभिए। यसरी ट्रस्ट्सका दुई प्रतिनिधिबीच १–१ मत भयो।
बैठकको अध्यक्षता स्वतन्त्र सञ्चालक हरिश मनवानीले गरेका थिए। उनले निर्णायक मत प्रयोग गरेर चन्द्रशेखरनको पुनर्नियुक्तिको प्रस्ताव पारित गराए।
यही निर्णायक मतलाई लिएर लगभग तीन खर्ब डलरको टाटा समूहमा दुई पक्षबीच कानुनी विवाद भएको हो।
टाटा ट्रस्ट्सको तर्कमा टाटा सन्सको विधानको धारा १२१ अनुसार अध्यक्षको नियुक्ति वा पुनर्नियुक्तिका लागि ट्रस्ट्सका मनोनीत सञ्चालकहरूको आवश्यक समर्थन हुनुपर्छ।
दुई जना मनोनीत सञ्चालक रहेको अवस्थामा दुवैको समर्थन आवश्यक हुने र नोएलले विपक्षमा मतदान गरेपछि त्यो सर्त पूरा नभएको ट्रस्ट्सको दाबी छ।
त्यसैले समग्र बोर्डमा ४–१ मत भए पनि त्यसले ट्रस्ट्सका मनोनीत सञ्चालकहरूको समर्थन सम्बन्धी छुट्टै संवैधानिक प्रावधानलाई हटाउन नसक्ने ट्रस्ट्सको भनाइ छ। अध्यक्षको निर्णायक मतले पनि त्यसलाई सच्याउन नसक्ने उसको तर्क छ।
नोएलले चन्द्रशेखरनको पुनर्नियुक्तिलाई कडा रूपमा चुनौती दिएका छन्।
टाटा ट्रस्ट्सका अनुसार चन्द्रशेखरनले अगस्ट १२ मा आफ्नो वर्तमान कार्यकाल सकिएपछि पुनः अध्यक्ष बन्न उम्मेदवारी नदिने निर्णय बोर्डलाई जानकारी गराएका थिए। उनको कार्यकाल २० फेब्रुअरी २०२७ मा सकिँदैछ।
ट्रस्ट्सले त्यो निर्णय स्वीकार गर्दै नयाँ अध्यक्ष चयन गर्न प्रक्रिया अघि बढाउनुपर्ने बताएको थियो। तर पछि टाटा सन्सको बोर्डले चन्द्रशेखरनलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गर्यो। अनि सेप्टेम्बर १७ मा उनलाई पुनः अध्यक्ष बनाउने प्रस्ताव बोर्डमा ल्याइयो।
नोएलले आफ्नो पक्षको समर्थनमा भारतका पूर्व प्रधानन्यायाधीश डिवाई चन्द्रचूडको कानुनी राय पनि बोर्ड समक्ष पेस गरेका थिए।
चन्द्रचुडको राय अनुसार टाटा ट्रस्ट्सका मनोनीत सञ्चालकहरूको सकारात्मक मतबिना चन्द्रशेखरनको पुनर्नियुक्ति वैध हुन नसक्ने र अध्यक्षको निर्णायक मतले त्यो कमी पूरा गर्न नसक्ने द इण्डियन एक्सप्रेसले लेखेको छ।
सेप्टेम्बर २० मा जारी अर्को वक्तव्यमा टाटा ट्रस्ट्सले सेप्टेम्बर १७ को निर्णय सुरूदेखि नै कानुनी प्रभाव नभएको (भोएड एब इनिसियो) निर्णय भएको दाबी गरेको थियो।
ट्रस्ट्सले ४–१ को समग्र मत परिणामभन्दा आफ्नो मनोनीत सञ्चालकहरूको समर्थन सम्बन्धी छुट्टै अधिकार महत्वपूर्ण भएको बताएको छ।
टाटा सन्सले भने नोएलको आपत्ति अस्वीकार गरेको छ।
सेप्टेम्बर २४ को पत्रमार्फत टाटा सन्सले चन्द्रशेखरनको पुनर्नियुक्ति कम्पनीको विधान र प्रचलित कानुन अनुसार वैध भएको जनाएको छ।
टाटा सन्सले आफ्नो पक्षमा तीन वटा कानुनी राय लिएको बताएको छ। तीमध्ये भारतका पूर्वप्रधानन्यायाधीश उदय यू ललित र पूर्वसर्वोच्च अदालतका न्यायाधीश बिएन श्रीकृष्णका राय पनि छन्।
टाटा सन्सका अनुसार दुई जना ट्रस्ट्स मनोनीत सञ्चालकबीच १–१ मत भएपछि बोर्ड बैठकका अध्यक्ष मनवानीले प्रयोग गरेको निर्णायक मत धारा १२१ अनुरूप नै थियो। त्यसैले बोर्डले बहुमतबाट चन्द्रशेखरनलाई पुनः अध्यक्ष बनाउने निर्णय वैध भएको उसको दाबी छ।
यसरी एउटै विधानको व्याख्यालाई लिएर दुवै पक्षले फरक कानुनी राय अघि सारेका छन्। त्यसैले सेप्टेम्बर १७ को निर्णय वास्तवमै वैधानिक थियो कि थिएन भन्ने प्रश्न अहिले विवादित छ।
को हुन् नोएल टाटा?
६९ वर्षीय नोएल टाटा परिवारको नयाँ पुस्ताका प्रभावशाली सदस्य हुन्। उनी टाटा ट्रस्ट्सका अध्यक्ष हुन् र टाटा समूहका विभिन्न कम्पनीको बोर्डमा पनि छन्।
उनी ट्रेन्ट, टाटा इन्टरनेसनल, भोल्टास र टाटा इन्भेस्टमेन्ट कर्पोरेसनका अध्यक्ष तथा टाटा स्टिल र टाइटनका उपाध्यक्ष छन्।
नोएल सन् १८६८ मा टाटा समूह स्थापना गर्ने जमसेतजी नुसरवानजी टाटाका प्रत्यक्ष सन्तान भने होइनन्। उनका पिता नेभल टाटा हुन्।
जमसेतजीका छोरा रतनजी टाटाका कुनै सन्तान भएनन्। त्यसपछि रतनजीकी पत्नी नवाजबाई टाटाले नेभललाई परिवारमा धर्मपुत्रका रूपमा अपनाएकी थिइन्। नोएल सन् २०२४ मा मृत्य भएका रतन टाटाका सौतेनी भाइ हुन्। रतनको सन् २०२४ मा निधन भएपछि नोएल टाटा ट्रस्ट्सको नेतृत्वमा आए।
टाटा ट्रस्ट्ससँग टाटा सन्सको करिब ६६ प्रतिशत स्वामित्व छ। टाटा सन्स भने टाटा समूहको प्रमुख होल्डिङ कम्पनी हो।
यही स्वामित्व संरचनाले अहिलेको विवाद बढाएको छ। एकातिर टाटा ट्रस्ट्ससँग टाटा सन्समा ठूलो सेयर स्वामित्व छ भने अर्कोतिर चन्द्रशेखरन टाटा परिवारका सदस्य नभई व्यावसायिक व्यवस्थापनबाट माथि आएका अध्यक्ष हुन्।
चन्द्रशेखरन सन् १९८७ मा टाटा समूहको टिसिएसमा आबद्ध भएका थिए। उनी पछि टिसिएसका प्रमुख कार्यकारी अधिकृत बने र सन् २०१७ मा टाटा सन्सको अध्यक्ष भए।
उनको नयाँ कार्यकाल बोर्डको निर्णय अनुसार कायम रहेमा सन् २०३२ सम्म हुनेछ।
तर अहिले प्रश्न चन्द्रशेखरनको कार्यकाल कति लामो हुन्छ भन्नेमा मात्र सीमित छैन। टाटा सन्सको विधानले ट्रस्ट्सका मनोनीत सञ्चालकलाई दिएको अधिकार र बोर्डको निर्णय प्रक्रियामा त्यसको प्रयोग कसरी हुन्छ भन्ने प्रश्न पनि विवादको केन्द्रमा छ।
टाटा समूहमा नेतृत्वलाई लिएर अहिले देखिएको टकरावले सन् २०१६ को साइरस मिस्त्री प्रकरणलाई पनि सम्झाएको छ।
त्यति बेला मिस्त्रीलाई टाटा सन्सको अध्यक्षबाट हटाइएको थियो। त्यसपछि टाटा समूहको नेतृत्व र मिस्त्रीबीच लामो कानुनी तथा कर्पोरेट विवाद चलेको थियो।
अहिलेको विवाद भने चन्द्रशेखरनको पुनर्नियुक्ति र त्यसका लागि टाटा सन्सको विधानले तोकेको मतदान प्रक्रियाको व्याख्यामा केन्द्रित छ।
यससँगै टाटा सन्सलाई सेयर बजारमा सूचीकृत गर्ने विषय पनि विवादको अर्को महत्वपूर्ण पाटो बनेको छ। सेप्टेम्बर १७ को बोर्ड बैठकले सूचीकरण प्रक्रिया सम्बन्धी कदम अघि बढाउने निर्णय समेत गरेको थियो।
टाटा ट्रस्ट्सले भने सूचीकरणको विषयमा पनि आपत्ति जनाएको छ।
अहिले नोएल नेतृत्वको टाटा ट्रस्ट्स र चन्द्रशेखरन नेतृत्वको टाटा सन्स दुवै आफ्नो कानुनी व्याख्यामा कायम छन्।
त्यसैले सेप्टेम्बर १७ को निर्णयको वैधानिकता र टाटा सन्सको भावी नेतृत्वबारे विवाद तत्काल टुंगिने संकेत देखिएको छैन।