भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेता सोनिया गान्धीले आफ्नो आत्मकथामा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि एउटा गम्भीर आरोप लगाएकी छन्।
उनका अनुसार सन् २०१९ मा जम्मु–कश्मीरको पुलवामामा आतंकवादी आक्रमण हुनुअघि नै सम्भावित खतराबारे भारतीय सुरक्षा निकायहरूलाई सूचना प्राप्त भएको थियो। तर मोदी सरकारले ती सूचनालाई पर्याप्त महत्त्व दिएन। सुरक्षाकर्मीलाई स्थलमार्गको सट्टा सुरक्षित हवाई यातायात उपलब्ध गराउने अनुरोध समेत पूरा गरेन।
फेब्रुअरी १४ मा भएको आत्मघाती आक्रमणमा भारतको केन्द्रीय रिजर्भ प्रहरी बल (सिआरपिएफ) का ४० जवान मारिएका थिए।
सोनियाले आत्मकथामा लेखेकी छन्, 'सरकारले ती पूर्वसूचनाका आधारमा किन पर्याप्त कदम चालेन र सुरक्षित यातायात किन उपलब्ध गराएन भन्नेबारे अहिलेसम्म चित्तबुझ्दो स्पष्टीकरण दिएको छैन।'
यो गम्भीर राजनीतिक आरोप हो। र, आत्मकथाको यही प्रसंग पुस्तकको प्रकाशन सम्झौता विवादमा पर्नुको एउटा कारण बनेको खुलेको छ।
नोभेम्बर १० मा प्रकाशित सोनियाको आत्मकथा Belonging: A Journey of Love अध्ययन गरेपछि भारतीय अखबार 'द इन्डियन एक्सप्रेस' की पत्रकार रितु सरिनले मंगलबार प्रकाशित विस्तृत रिपोर्टमा यो विवरण उल्लेख गरेकी छन्।
उनका अनुसार पुलवामा आक्रमणबारे सोनियाले लेखेको विवरण प्रकाशकले आपत्ति जनाएका प्रसंगमध्ये एक थियो।
त्यसैगरी चीनले भारतीय भूभाग अतिक्रमण गरेको, सत्तारूढ भारतीय जनता पार्टीले अल्पसंख्यक अधिकार कमजोर बनाएको र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को विचारधाराले भारतको राजनीतिक दिशा बदलेको विषयमा पनि प्रकाशकले संशोधन चाहेको थियो।
यी विषयमा सहमति नजुटेपछि भारतमा पुस्तक प्रकाशन गर्ने जिम्मेवारी लिएको पेन्गुइन र्यान्डम हाउस इन्डिया सम्झौताबाट बाहिरियो।
अन्ततः हार्परकोलिन्सले पुस्तक प्रकाशित गर्यो।
चीनबारे सोनियाले के लेखेकी छन्?
सोनियाले आत्मकथामा मोदी सरकारमाथि चीनसँगको सीमा विवादबारे संसदमा पर्याप्त छलफल नगरेको आरोप लगाएकी छन्।
उनको दाबी छ– चीनले भारतीय सीमावर्ती भूभाग कब्जा गरेको विषयमा सरकारले जबाफ दिन चाहेको छैन।
सोनियाले संसदमा उठ्नुपर्ने महत्त्वपूर्ण विषयहरूको चर्चा गर्दै लेखेकी छन्, 'सत्तारूढ दलले चीनद्वारा भारतीय भूभाग कब्जा गरिएको विषय, संघीय सिद्धान्त कमजोर बनाउने कानुन, अल्पसंख्यक अधिकार र नागरिकको गोपनीयता जस्ता प्रश्न पन्छाइरहेको छ।'
भारत र चीनबीच सन् २०२० मा लद्दाखको गलवान क्षेत्रमा हिंसात्मक भिडन्त भएको थियो। त्यसमा २० भारतीय सैनिक मारिएका थिए। चीनले आफ्ना चार सैनिक मारिएको आधिकारिक रूपमा स्वीकार गरेको थियो।
त्यसपछि सीमा क्षेत्रमा दुवै देशबीच लामो सैन्य तनाव कायम रह्यो।
सन् २०२४ मा सीमाका केही क्षेत्रमा गस्तीसम्बन्धी समझदारी भएपछि तनाव कम गर्ने प्रक्रिया अघि बढ्यो।
तर चीनले भारतीय भूभाग कब्जा गरेको भन्ने सोनियाको दाबी राजनीतिक रूपमा विवादास्पद छ। मोदी सरकारले सीमा सुरक्षाबारे विपक्षीले लगाउँदै आएका आरोप अस्वीकार गर्दै आएको छ।
सोनियाको पुस्तकमा यो विवाद उठाइएको विषय प्रकाशकका लागि विशेष संवेदनशील भएको इन्डियन एक्सप्रेसले जनाएको छ।
अखबारका अनुसार पुस्तकको अन्तिम भागमा समेटिएका चीनसम्बन्धी विवरण दुई पक्षबीचको मतभेद बढाउने महत्त्वपूर्ण कारण थिए।
मोदी र आरएसएसको आलोचना पनि हटाउन खोजियो
आत्मकथामा सोनियाले मोदी र आफूले कल्पना गरेको भारतबीच आधारभूत वैचारिक भिन्नता रहेको लेखेकी छन्।
उनका अनुसार मोदीको भारतसम्बन्धी दृष्टिकोण आरएसएसको विचारधारा र आफ्नै जीवन अनुभवबाट निर्माण भएको हो। सोनियाको दृष्टिकोण भने नेहरू–गान्धी परिवारले अघि सारेको धर्मनिरपेक्ष र बहुलवादी राजनीतिक परम्परासँग जोडिएको छ।
पुस्तकमा उनले मोदी सरकारमाथि लोकतान्त्रिक संस्था कमजोर बनाएको, विपक्षीलाई पर्याप्त ठाउँ नदिएको र अल्पसंख्यक अधिकारका प्रश्नलाई बेवास्ता गरेको आरोप लगाएकी छन्।
सोनियाले मोदी नेतृत्वको सरकारले कांग्रेस नेतृत्वको अघिल्लो संयुक्त प्रगतिशील गठबन्धन (युपिए) सरकारका कम्तिमा ३० कार्यक्रमलाई नयाँ नाम दिएर सञ्चालन गरेको दाबी समेत गरेकी छन्।
उनका अनुसार तीमध्ये केही कार्यक्रम पहिले मोदी स्वयंले आलोचना गरेका थिए।
पेन्गुइन र्यान्डम हाउस इन्डियाले यिनै विषयमा परिवर्तन चाहेको इन्डियन एक्सप्रेसले सेप्टेम्बर १ मै खुलासा गरेको थियो। अखबारका अनुसार प्रकाशकका वकिलहरूले पुस्तकका विभिन्न अध्यायबाट संशोधन वा हटाउनुपर्ने अंशहरूको सूची तयार पारेका थिए।
त्यसमा मोदीको १२ वर्षे शासनकाल, आरएसएसको भूमिका, धार्मिक द्वन्द्व, दंगा र अल्पसंख्यकको अवस्थासम्बन्धी विवरण समावेश थिए।
दुई महिना छलफल, अन्तिममा बिग्रियो सम्बन्ध
सोनियाको आत्मकथा प्रकाशित गर्ने तयारी लामो समयदेखि चलिरहेको थियो।
अमेरिकामा पेन्गुइन र्यान्डम हाउसअन्तर्गतको अल्फ्रेड ए नोफले पुस्तक प्रकाशित गर्ने सम्झौता गरिसकेको थियो। भारतमा भने त्यही समूहको पेन्गुइन र्यान्डम हाउस इन्डियाले प्रकाशन तथा वितरण गर्ने तयारी गरेको थियो।
पुस्तक नोभेम्बर १० मा संसारभर सार्वजनिक गर्ने योजना थियो। तर भारतीय संस्करणको सम्पादन क्रममा समस्या आयो।
इन्डियन एक्सप्रेसका अनुसार प्रकाशकका वकिल र सम्पादकहरूले सोनियाको टोलीलाई परिवर्तन गर्नुपर्ने अंशहरूको सूची पठाए। दुई पक्षबीच कम्तिमा दुई महिना छलफल भयो।
सुरूमा छलफल सौहार्दपूर्ण थियो। तर पछि सम्बन्ध तनावपूर्ण बन्यो।
सोनियाको पक्षले प्रकाशकका वकिलहरू अनावश्यक रूपमा संवेदनशील बनेको तर्क गर्यो।
उनीहरूको अर्को आपत्ति अझ महत्त्वपूर्ण थियो। यदि भारतमा प्रकाशित पुस्तकबाट मोदी, चीन र आरएसएसका विवरण हटाएर अमेरिका लगायत अन्य देशमा ती अंश कायम रहे एउटै पुस्तकका दुई संस्करण बन्ने थिए। यसले भारतका पाठकलाई फरक सामग्री पढ्न बाध्य बनाउने थियो।
छलफलमा संलग्न एक स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, 'भारतीय पाठकले विश्वमा प्रकाशित संस्करणसँग तुलना गरेर आफ्नो देशमा के–के हटाइयो वा सेन्सर गरियो भन्ने पत्ता लगाउनुपर्ने अवस्था आउन सक्थ्यो।'
त्यसैले सोनियाको टोलीले विवादास्पद राजनीतिक अंश हटाउन अस्वीकार गरेको समाचारमा उल्लेख छ।
अन्ततः अगस्टको अन्तिम साता सम्झौता टुट्यो।
सोनियाको आरोप : सरकारको आलोचना गर्न प्रकाशक डरायो
पुस्तक सार्वजनिक हुनुअघि सोनियाले बेलायती अखबार 'द गार्डियन' लाई अन्तर्वार्ता दिएकी थिइन्।
नोभेम्बर ६ मा प्रकाशित अन्तर्वार्तामा पत्रकार हाना एलिस–पिटर्सनसँग उनले प्रकाशन विवादबारे खुलेर कुरा गरेकी छन्।
सोनियाका अनुसार पेन्गुइन र्यान्डम हाउस इन्डिया सरकारको आलोचना गरिएका अंशप्रति असहज थियो। उनले प्रकाशकको अवस्थालाई अंग्रेजीमा 'uneasy in general with the criticism of the government' भनेकी छन्।
अर्थात्, सरकारको आलोचना गरिएको विषयमा प्रकाशक समग्रमा असहज थियो।
सोनियाका अनुसार पाण्डुलिपि पठाएपछि प्रकाशक लामो समय मौन बस्यो। पछि केही अंश परिवर्तन गर्न प्रस्ताव आयो।
आफूले ती परिवर्तन अस्वीकार गरेपछि प्रकाशकले किताब प्रकाशन नगर्ने निर्णय गरेको उनको भनाइ छ।
यसबाट आफू निराश भए पनि आश्चर्यचकित नभएको उनले बताएकी छन्।
सोनियाले यो घटनालाई आफ्नो पुस्तक सेन्सर गर्ने प्रयासका रूपमा बुझेकी छन्।
त्यही अन्तर्वार्तामा उनले भारतमा विपक्षीमाथि दबाब बढेको आरोप पनि लगाएकी छन्।
उनका अनुसार पहिले संसदमा सत्तापक्ष र विपक्षबीच छलफल हुन्थ्यो। नेताहरू भेट्थे। परामर्श हुन्थ्यो। तर अहिले विपक्षको आवाजलाई महत्त्व दिइँदैन।
प्रकाशकको जबाफ : कुनै बाह्य दबाब थिएन
पेन्गुइन र्यान्डम हाउस इन्डियाले भने सोनियाको आरोप अस्वीकार गरेको छ।
कम्पनीले सेप्टेम्बर १ मा सार्वजनिक गरेको वक्तव्यमा पुस्तक प्रकाशन गर्ने ठूलो चाहना रहेको जनाएको थियो।
प्रकाशन सम्झौता आफ्ना लागि महत्त्वपूर्ण उपलब्धि भएकाले किताब छाप्न उत्सुक रहेको उसको भनाइ थियो।
सम्पादन क्रममा लेखकको टोलीसँग विभिन्न विषयमा छलफल हुनु सामान्य प्रक्रिया भएको कम्पनीले बताएको छ। केही विषयमा लेखकको टोलीले संशोधन स्वीकार गरेको र केही विषयमा प्रकाशकले लेखकको अडान स्वीकार गरेको पनि उसले जनाएको छ।
तर एउटा विषयमा सहमति हुन सकेन। कम्पनीका अनुसार त्यसपछि सोनियाको टोलीले प्रकाशन प्रक्रिया अघि नबढाउने जानकारी दिएको थियो।
प्रकाशकले राजनीतिक वा सरकारी दबाब रहेको आरोप स्पष्ट रूपमा अस्वीकार गरेको छ। कुन विशेष विषयमा सहमति नभएको हो भन्ने चाहिँ उसले खुलाएको छैन।
यसरी पुस्तक प्रकाशनको सम्झौता कसले तोडेको भन्नेमा पनि दुई पक्षको भनाइ फरक छ।
सोनियाका अनुसार प्रकाशक पछि हट्यो। प्रकाशकका अनुसार लेखकको टोलीले अघि नबढ्ने निर्णय गर्यो। त्यसैले सम्झौता तोडिनुको निश्चित कारणबारे स्वतन्त्र निष्कर्ष निकाल्न सकिने अवस्था छैन।
प्रकाशनपछि अर्को विवाद : बाबरी मस्जिद भत्किँदा सोनिया रोएकी थिइन्
पुस्तक प्रकाशनको विवाद मोदी सरकारमाथिका आलोचनासँग सम्बन्धित थियो। तर नोभेम्बर १० मा पुस्तक बजारमा आएपछि अर्को प्रसंगले राजनीतिक बहस चर्कायो।
त्यो हो— बाबरी मस्जिद।
सोनियाले सन् १९९२ डिसेम्बर ६ मा अयोध्यास्थित बाबरी मस्जिद भत्काइएको दृश्य टेलिभिजनमा देख्दा आफू रोएको लेखेकी छन्।
उनले त्यस घटनालाई भारतको धर्मनिरपेक्ष चरित्रमाथिको प्रहारका रूपमा बुझेकी छन्।
द गार्डियनसँगको अन्तर्वार्तामा पनि सोनियाले बाबरी मस्जिद भत्किएको घटनाले आफूलाई विचलित बनाएको बताएकी छन्।
उनका अनुसार त्यसै बेला महात्मा गान्धी र जवाहरलाल नेहरूले निर्माण गर्न खोजेको धर्मनिरपेक्ष भारत जोगाउन लामो संघर्ष गर्नुपर्ने आफूले महसुस गरेकी थिइन्।
भाजपाले यसै विषयलाई लिएर उनीमाथि आक्रमण गरेको छ।
भाजपाका राष्ट्रिय प्रवक्ता प्रदीप भण्डारीले सोनियाको पुस्तकमा बाबरी मस्जिदसँग जोडिएको मतको राजनीति देखिएको आरोप लगाएका छन्।
अर्का प्रवक्ता सिआर केशवनले सन् १९८४ मा कांग्रेस शासनकालमा भएको सिखविरोधी हिंसाबारे प्रश्न उठाएका छन्।
उनको प्रश्न छ— बाबरी मस्जिद भत्किँदा रोएको बताउने सोनिया हजारौं सिख मारिँदा पनि त्यसरी नै दुःखी भएकी थिइन्?
केशवनले पुस्तकमा गान्धी परिवारका ऐतिहासिक गल्तीलाई ढाकछोप गर्ने प्रयास भएको आरोप समेत लगाएका छन्।
भाजपाले सन् १९७५ मा इन्दिरा गान्धीले लगाएको संकटकाल र राजीव गान्धीको कार्यकालसँग जोडिएको बोफोर्स घोटाला प्रकरणबारे सोनियाको प्रस्तुतिमाथि पनि प्रश्न उठाएको छ।
प्रकाशक बदलियो, तर पुस्तक रोकिएन
पेन्गुइनसँगको सम्झौता टुटेपछि सोनियाको आत्मकथाको भारतीय प्रकाशन अन्योलमा परेको थियो।
तर सेप्टेम्बर ४ मा हार्परकोलिन्स इन्डियाले पुस्तक प्रकाशित गर्ने घोषणा गर्यो। त्यसपछि पूर्वनिर्धारित मिति अनुसार नोभेम्बर १० मा पुस्तक सार्वजनिक भयो।
अमेरिकामा भने पेन्गुइन र्यान्डम हाउसअन्तर्गतकै अल्फ्रेड ए नोफले पुस्तक प्रकाशित गरेको छ।
यसरी एउटै प्रकाशन समूहको भारतीय कम्पनीले सम्झौता अघि नबढाए पनि त्यही समूहको अमेरिकी कम्पनीले किताब प्रकाशन गरेको छ।
यो घटनाले भारतमा प्रकाशन स्वतन्त्रताको अवस्थाबारे बहस जन्माएको छ।
यदि पुस्तकको अमेरिकी संस्करणमा मोदी सरकार, चीन, आरएसएस र पुलवामा आक्रमणबारेका विवरण प्रकाशित हुन सक्थे भने भारतीय संस्करणमा ती अंश परिवर्तन गर्न किन प्रस्ताव गरियो? पुस्तक सार्वजनिक भइसके पनि यो प्रश्नको स्पष्ट जबाफ दुवै पक्षबाट आएको छैन।
***