भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेता सोनिया गान्धीको आत्मकथाको आवरणमा दुईवटा तस्बिर छन्।
अगाडिको तस्बिर सन् १९६६ मा इटालीको टुरिनमा खिचिएको हो। त्यति बेला सोनिया २० वर्षकी थिइन्।
तस्बिर खिच्ने व्यक्ति थिए, उनका प्रेमी राजीव गान्धी।
पछाडिको तस्बिर सन् २०२६ मा भारतको नयाँदिल्लीमा खिचिएको हो। यो तस्बिर उनका नाति रेहान वाड्रा र रेहानकी साथी अभिभा बेगले खिचेका हुन्।
यी दुई तस्बिरबीच ६० वर्षको अन्तर छ।
पहिलो तस्बिर खिच्दा सोनिया भारतको राजनीतिसँग अपरिचित थिइन्। राजीवसँग प्रेममा परेकी थिइन् र उनैसँग विवाह गरेर सामान्य पारिवारिक जीवन बिताउने सपना देखिरहेकी थिइन्।
दोस्रो तस्बिर खिच्दासम्म उनी भारतको सबभन्दा शक्तिशाली राजनीतिक परिवारकी प्रमुख सदस्य र लामो समय कांग्रेसको नेतृत्व गरेकी नेता बनिसकेकी थिइन्।
यी ६० वर्षमा सोनियाले आफ्नै परिवारका दुई सदस्यलाई भारतको प्रधानमन्त्री बनेको देखिन्।
र, दुवैको हत्या भएको पनि देखिन्।
पहिले सन् १९८४ मा सासू इन्दिरा गान्धीको आफ्नै अंगरक्षकहरूले हत्या गरे। त्यसको सात वर्षपछि १९९१ मा पति राजीव गान्धी आत्मघाती बम आक्रमणमा मारिए।
भारतको राजनीतिबाट सधैं टाढा रहन चाहने सोनिया अन्ततः त्यही राजनीतिमा प्रवेश गरिन् र कांग्रेसको नेतृत्व गर्दै सन् २००४ मा प्रधानमन्त्री बन्न सक्ने अवस्थामा पुगिन्।
यी दुई तस्बिर बीचको ६० वर्षको जीवनयात्रा सोनियाले आफ्नो आत्मकथा Belonging: A Journey of Love मा समेटेकी छन्।
भारतीय अखबार 'द इन्डियन एक्सप्रेस' मा बुधबार प्रकाशित रिपोर्टले यी तस्बिर र तिनको पछाडिका कथालाई आत्मकथाको विशेष पक्षका रूपमा प्रस्तुत गरेको छ।
मंगलबार सार्वजनिक सोनियाको ५४४ पृष्ठको आत्मकथाले भारतीय राजनीतिमा अहिले ठूलो बहस निम्त्याएको छ। किताब सार्वजनिक भएको भोलिपल्ट अन्तर्राष्ट्रिय समाचार संस्था 'रोयटर्स' ले प्रकाशित गरेको समाचार अनुसार सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले सोनियामाथि आफ्नो परिवार र कांग्रेसका ऐतिहासिक गल्ती ढाकछोप गर्न खोजेको आरोप लगाएको छ।
भाजपाका प्रवक्ता सिआर केशवनले त किताबको नाम Belonging नभई Whitewashing राखेको भए उपयुक्त हुने टिप्पणी गरेका छन्।
सोनियाले नेहरू–गान्धी परिवार र कांग्रेसका विवादास्पद निर्णयहरूलाई नरम रूपमा प्रस्तुत गरेको उनको आरोप छ।
कांग्रेसले भने भाजपाले व्यक्तिगत संस्मरणलाई राजनीतिक विवादमा तानेको प्रतिक्रिया दिएको छ।
रोयटर्सका अनुसार किताबको चर्चा सामाजिक सञ्जालदेखि भारतीय सञ्चारमाध्यमसम्म फैलिएको छ। बुधबार यो अमेजन इन्डियाको सर्वाधिक बिक्री हुने पुस्तक सूचीको शीर्ष स्थानमा पुगेको थियो।
त्यसो त किताब सार्वजनिक हुनुअघि नै अर्को विवाद भएको थियो। भारतमा यसलाई प्रकाशित गर्ने तय भएको पेन्गुइन र्यान्डम हाउसले सोनियाका केही राजनीतिक टिप्पणीमा संशोधन गर्न चाहेपछि सम्झौता टुटेको थियो। अन्ततः हार्परकोलिन्सले यो किताब बजारमा ल्याएको हो।
यसमा सोनियाले इन्दिरा गान्धीको संकटकाल, सञ्जय गान्धीको राजनीतिक भूमिका, देवरानी मेनका गान्धीसँगको सम्बन्ध, सन् १९८४ को शिखविरोधी हिंसा, बाबरी मस्जिद विध्वंस, मनमोहन सिंह सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीबारे आफ्ना अनुभव तथा मूल्यांकन लेखेकी छन्।
आफ्नो पहिलो सन्तान गुमाएको पीडा र राजीवको हत्यापछि भोगेको शोक जस्ता निजी प्रसंग पनि पहिलो पटक विस्तारमा सार्वजनिक गरेकी छन्।
हामीले यो स्टोरीमा सोनियाको आत्मकथामा उल्लिखित १३ प्रमुख प्रसंग समेटेका छौं। यी विवरण पुस्तकका मूल अंश तथा रोयटर्स, द गार्डियन, द इन्डियन एक्सप्रेस लगायतका सञ्चारमाध्यमले नोभेम्बर १० र ११ मा प्रकाशित गरेका समीक्षा र रिपोर्टमा आधारित छन्।
१. पहिलो भेटमै राजीवसँग प्रेम, भारत जान बुबाले काटिदिएका थिए फर्किने टिकट
सन् १९६५ मा बेलायतको क्याम्ब्रिजस्थित एउटा रेस्टुरेन्टमा सोनिया माइनो र राजीव गान्धीको भेट भएको थियो।
इटालीबाट भाषा अध्ययन गर्न आएकी सोनिया आफ्ना साथीहरूसँग रेस्टुरेन्ट पुगेकी थिइन्। त्यहाँ राजीव पनि साथीहरूसँग थिए।
राजीवले परिचयका क्रममा हात बढाउँदा आफ्नो मुटु जोडले धड्किएको सोनियाले आत्मकथामा सम्झेकी छन्।
उनले त्यो अनुभूतिलाई इटालियन भाषाको un colpo di fulmine भन्ने अभिव्यक्तिसँग तुलना गरेकी छन्। यसको अर्थ हो, चट्याङ परेजस्तै अचानक हुने प्रेम।
त्यति बेला राजीव भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूका नाति हुन् भन्ने सोनियालाई थाहा थिएन।
पछि उनीहरूबीच प्रेम बढ्यो। उनीहरूले विवाह गर्ने निर्णय गरे।
तर सोनियाका बुबा छोरीलाई त्यति टाढा भारत पठाउन सहज रूपमा तयार थिएनन्। उनले भारत जाने टिकटसँगै फर्किने टिकट पनि किनिदिएका थिए।
भारत मन नपरे वा त्यहाँका मानिसले राम्रो व्यवहार नगरे फर्किन नहिचकिचाउनू भन्ने बुबाको सल्लाह थियो।
तर सोनियाले फर्किने टिकट प्रयोग गरिनन्।
सन् १९६८ मा राजीवसँग विवाह गरेर उनी भारतमै बसिन्। राजीव व्यावसायिक विमान चालक थिए। दुवैले राजनीतिभन्दा टाढा पारिवारिक जीवन बिताउने कल्पना गरेका थिए।
२. पहिलो सन्तानको मृत्यु, सोनियाले पहिलो पटक खोलिन् निजी पीडा
सोनिया र राजीवका दुई सन्तान राहुल र प्रियंका भारतीय राजनीतिमा परिचित नाम हुन्। तर आत्मकथामा सोनियाले उनीहरूको पहिलो सन्तानबारे पनि लेखेकी छन्।
सन् १९६९ मा जन्मिएको पहिलो शिशुको केही समयमै मृत्यु भएको थियो। शिशुको जन्म समयभन्दा अगाडि नै भएको थियो।
सोनियाले मृत शिशुको शव गाड्न आग्रह गरेकी थिइन्।
दशकौंसम्म सार्वजनिक जीवनमा यो पीडाबारे कम बोलेकी सोनियाले आत्मकथामा त्यस बेलाको अनुभव सम्झेकी छन्।
त्यसको अर्को वर्ष राहुल र सन् १९७२ मा प्रियंका जन्मिए।
द गार्डियनले नोभेम्बर १० मा प्रकाशित पुस्तक समीक्षामा यसलाई सोनियाले सार्वजनिक गरेको अत्यन्त व्यक्तिगत र मार्मिक प्रसंगमध्ये एक भनेको छ।
३. इन्दिरा गान्धीको रिसदेखि कर्मचारीलाई भित्तातिर फर्काएर उभ्याउने घटनासम्म
सोनियाले आफ्नी सासू इन्दिरा गान्धीको व्यक्तित्वबारे पनि लेखेकी छन्।
उनका अनुसार इन्दिरा व्यक्तिगत रूपमा माया गर्ने र परिवारको ख्याल राख्ने स्वभावकी थिइन्। तर रिसाउँदा निकै कठोर हुन्थिन्।
इन्दिराको रिसले आफू सुरूमा डराउने गरेको सोनियाले सम्झेकी छन्।
एक पटक इन्दिरालाई कुनै महत्त्वपूर्ण कार्यक्रम सम्झाउन बिर्सिएका कर्मचारीलाई कुनामा उभिन लगाइएको थियो। अर्को घटनामा उनले कांग्रेसका एक वरिष्ठ नेतालाई नै भित्तातिर फर्केर उभिन आदेश दिएको सोनियाले देखेकी थिइन्।
सोनियाका अनुसार इन्दिरालाई नजिकबाट चिन्नुअघि यस्ता व्यवहारले उनलाई त्रसित बनाउँथे।
किताबमा भारतकी शक्तिशाली प्रधानमन्त्रीको सार्वजनिक राजनीतिक व्यक्तित्वसँगै परिवारभित्रको स्वभाव र व्यवहारको वर्णन पनि छ।
४. संकटकाल लगाउँदा राजीव विपक्षमा, सञ्जय समर्थनमा
सन् १९७५ जुन २५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा संकटकाल घोषणा गरिन्।
नागरिक स्वतन्त्रता सीमित गरियो। विपक्षी नेताहरूलाई जेल हालियो। प्रेसमाथि नियन्त्रण लगाइयो।
सोनियाले आत्मकथामा त्यो निर्णयलाई गल्ती भनेकी छन्।
उनका अनुसार संकटकाल लगाउने विषयमा परिवारभित्रै मतभेद थियो। राजीव गान्धी आमाको निर्णयको विपक्षमा थिए। उनले राजीनामा दिएर अर्को निर्वाचन पर्खिन सुझाएका थिए।
कान्छा छोरा सञ्जय गान्धीले भने राजनीतिक विरोधीहरूलाई रोक्नुपर्ने अडान लिएका थिए।
सोनियाका अनुसार सञ्जयलाई नियन्त्रणमा राख्न सकेको भए संकटकालका कतिपय नकारात्मक परिणाम रोक्न सकिन्थ्यो।
किताब प्रकाशित हुनुअघि द गार्डियनलाई दिएको अन्तर्वार्तामा पनि सोनियाले इन्दिरा मनबाट लोकतन्त्रवादी भएको आफ्नो विश्वास व्यक्त गरेकी थिइन्।
संकटकालको निर्णयले इन्दिरालाई पनि असहज बनाएको र पछि त्यसको बोझ महसुस गरेको सोनियाको बुझाइ छ।
सत्तारूढ भाजपाले भने यो व्याख्या स्वीकार गरेको छैन।
भाजपा प्रवक्ता सिआर केशवनले सोनियाले संकटकाललाई सामान्यीकरण र औचित्यपूर्ण बनाउने प्रयास गरेको आरोप लगाएका छन्।
यसरी संकटकाल गलत थियो भन्ने सोनियाको टिप्पणीसँगै त्यसमा इन्दिरा र सञ्जयको जिम्मेवारी कति थियो भन्ने विवाद पुनः उठेको छ।
५. देवरानी मेनकासँग बिग्रिएको सम्बन्ध, परिवारभित्र सत्ताको संघर्ष
सोनियाले आफ्नी देवरानी मेनका गान्धीसँगको सम्बन्धबारे पनि विवादास्पद विवरण सार्वजनिक गरेकी छन्।
मेनकाले सन् १९७४ मा इन्दिराका कान्छा छोरा सञ्जय गान्धीसँग विवाह गरेकी थिइन्। सुरूमा सोनिया र मेनकाबीच राम्रो सम्बन्ध थियो। तर सन् १९८० मा विमान दुर्घटनामा सञ्जयको मृत्यु भएपछि परिवारभित्र राजनीतिक उत्तराधिकारको विवाद बढ्यो।
सञ्जयलाई इन्दिराको राजनीतिक उत्तराधिकारी मानिन्थ्यो। उनको मृत्युपछि केही समर्थकले मेनकालाई राजनीतिमा अघि बढाउन खोजे।
सोनियाका अनुसार इन्दिराले मेनकालाई राजनीतिक नेतृत्वका लागि अपरिपक्व ठानेकी थिइन्।
त्यसपछि मेनका र इन्दिराबीचको सम्बन्ध बिग्रिँदै गयो।
सन् १९८२ मा विवाद उत्कर्षमा पुग्यो। मेनकाले इन्दिराको घर छाडिन्।
सोनियाले आत्मकथामा मेनकाले पछि आफू र राजीवलाई शत्रुका रूपमा हेर्न थालेको दाबी गरेकी छन्।
उनका अनुसार परिवारभित्रका विवाद सञ्चारमाध्यममा पनि पुग्न थाले।
'बिजनेस स्ट्यान्डर्ड' को नोभेम्बर ११ को समीक्षामा उल्लेख भए अनुसार मेनकाले कहिलेकाहीँ इन्दिराकै अगाडि पनि कठोर शब्द प्रयोग गर्ने गरेको सोनियाले लेखेकी छन्।
पछि मेनका भाजपाको राजनीतिमा सक्रिय भइन्।

६. स्वर्ण मन्दिरमा सैन्य कारबाहीपछि इन्दिरा रोइन्, घरमा ग्रिनेड भेटियो
सन् १९८४ मा इन्दिरा गान्धी सरकारले अमृतसरस्थित शिख धर्मावलम्बीको पवित्र स्वर्ण मन्दिर परिसरमा सैन्य कारबाही गरेको थियो।
'अपरेसन ब्लू स्टार' नाम दिइएको यो कारबाहीको उद्देश्य मन्दिर परिसरमा बसेका सशस्त्र पृथकतावादी नेता जर्नेल सिंह भिन्द्रनवाले र उनका समर्थकलाई पक्राउ गर्नु थियो।
कारबाहीमा ठूलो मानवीय क्षति भयो। धार्मिक स्थलमा भएको क्षतिले शिख समुदायमा आक्रोश फैलियो।
सोनियाले आत्मकथामा इन्दिराले स्वर्ण मन्दिरमा भएको क्षतिका तस्बिर देख्दा आँखाबाट आँसु झारेको लेखेकी छन्।
त्यसपछि गान्धी परिवारको घरको एउटा कोठामा ग्रिनेड फेला परेको पनि उनले सम्झेकी छन्। यसले परिवारभित्र सुरक्षाको त्रास बढाएको थियो।
त्यसै वर्ष अक्टोबर ३१ मा इन्दिराको आफ्नै दुई शिख अंगरक्षकले हत्या गरे।
त्यसपछि राजीव भारतका प्रधानमन्त्री बने।
आत्मकथामा सोनियाले इन्दिराको व्यक्तिगत पीडा र परिवारले भोगेको असुरक्षाको वर्णन गरेकी छन्।
७. शिखविरोधी हिंसामा कांग्रेसको भूमिकाबारे नयाँ विवाद
इन्दिरा गान्धीको हत्यापछि सन् १९८४ मा दिल्लीसहित भारतका विभिन्न स्थानमा शिख समुदायविरूद्ध हिंसा फैलियो।
रोयटर्सका अनुसार करिब तीन हजार मानिस मारिएका थिए।
मानव अधिकारकर्मीहरूले तत्कालीन कांग्रेस सरकारमाथि हिंसा नियन्त्रण गर्न असफल भएको र केही कांग्रेस नेताहरू हिंसा भड्काउन संलग्न रहेको आरोप लगाउँदै आएका छन्।
सोनियाले आत्मकथामा यसलाई भारतीय इतिहासको दुःखद र लज्जास्पद अध्यायका रूपमा वर्णन गरेकी छन्।
उनले कतिपय सरकारी अधिकारीहरूले हिंसा रोक्न बेवास्ता गरेको र केहीले हिंसा बढाउने काम समेत गरेको उल्लेख गरेकी छन्।
न्याय पाउन भएको ढिलाइ पनि उनले स्वीकार गरेकी छन्।
तर उनले पति राजीव गान्धीलाई हिंसामा संलग्न रहेको आरोपबाट बचाउ गरेकी छन्। यही विषयमा भाजपाले उनलाई प्रश्न उठाएको छ।
भाजपा प्रवक्ता सिआर केशवनले सोनियाले परिवारको ऐतिहासिक गल्ती ढाकछोप गर्न खोजेको आरोप लगाएका छन्।
कांग्रेसले भने भाजपाले सोनियाको संस्मरणलाई राजनीतिक प्रचारको विषय बनाएको बताएको छ।
यसरी पुस्तकले सन् १९८४ को हिंसा र त्यसमा तत्कालीन सरकारको जबाफदेहिताबारे पुरानो बहस फेरि चर्काएको छ।
८. राजीवको हत्यापछि सोनियाले भनिन्– उनीबिना बाँच्न चाहन्नथेँ
सोनियाको आत्मकथाको सबभन्दा भावुक प्रसंग राजीव गान्धीको हत्यासँग सम्बन्धित छ।
सन् १९९१ मे २० मा राजीव चुनाव प्रचारमा निस्किँदै थिए। उनले सोनियालाई आफूसँगै जान प्रस्ताव गरे। तर थकाइ लागेकाले सोनियाले घरमै बस्ने निर्णय गरिन्।
राजीवले फर्केर आउँदा भेट हुने बताएका थिए।
सोनियाले पर्दा पछाडिबाट उनलाई बाहिर निस्किएको हेरिरहिन्। राजीवले फर्केर मुस्कुराउँदै हात हल्लाए।
त्यो उनीहरूको अन्तिम भेट बन्यो।
अर्को दिन तमिलनाडुको श्रीपेरूम्बुदुरमा आत्मघाती बम आक्रमणमा राजीवको हत्या भयो।
किताबमा सोनियाले श्रीमानको मृत्युको खबर सुनेपछिका क्षणबारे मार्मिक विवरण दिएकी छन्।
आक्रमणपछि राजीवको यात्राको झोला घर ल्याइएको थियो। त्यसमा उनका लुगा र केही पुराना तस्बिर थिए। एउटा तस्बिर राजीवले क्याम्ब्रिजमा सोनियाको खिचेका थिए।
अरू तस्बिरमा राहुल, प्रियंका, इन्दिरा र सञ्जय थिए।
राजीव ती तस्बिर सधैं यात्रामा साथमा राख्थे।
सोनियाले श्रीमानको सामान हेर्दै बिताएको पीडादायी समय पनि सम्झेकी छन्।
राजीवको हत्यापछि उनकी बहिनीले सोनियालाई भारत छाडेर इटाली फर्किन आग्रह गरेकी थिइन्। तर सोनियाले भारत नै आफ्नो घर भइसकेको भन्दै अस्वीकार गरिन्।
आत्मकथाको अन्त्यमा सोनियाले राजीव राजनीतिमा नआएको भए उनीहरू सँगै बूढाबूढी हुने, नातिनातिनासँग रमाउने र संसार घुम्ने सपना पूरा हुने थियो कि भन्ने कल्पना गरेकी छन्।
इन्डियन एक्सप्रेसले नोभेम्बर ११ मा प्रकाशित समीक्षामा यही कल्पनालाई पुस्तकको सबभन्दा मार्मिक प्रसंगमध्ये एकका रूपमा प्रस्तुत गरेको छ।
९. बाबरी मस्जिद भत्किँदा रोएकी सोनिया, भाजपाको आरोप– मतको राजनीति
सन् १९९२ डिसेम्बर ६ मा अयोध्यास्थित बाबरी मस्जिद भत्काइएको घटनाबारे सोनियाले आत्मकथामा विस्तारमा लेखेकी छन्।
उनका अनुसार टेलिभिजनमा मस्जिद भत्काइएको दृश्य हेर्दा उनी रोएकी थिइन्।
त्यो घटना भारतको धर्मनिरपेक्ष राजनीतिक परम्परामाथिको ठूलो प्रहार भएको उनको बुझाइ छ।
सोनियाले यसलाई भाजपा र आरएसएसको राजनीतिक प्रभाव बढ्दै गएको निर्णायक संकेतका रूपमा प्रस्तुत गरेकी छन्।
द गार्डियनलाई दिएको अन्तर्वार्तामा उनले उक्त घटनापछि महात्मा गान्धी र जवाहरलाल नेहरूले कल्पना गरेको धर्मनिरपेक्ष भारत जोगाउन लामो संघर्ष गर्नुपर्ने महसुस गरेको बताएकी छन्।
उनको यो टिप्पणीले भाजपामा तीव्र प्रतिक्रिया उत्पन्न गराएको छ।
भाजपा प्रवक्ता प्रदीप भण्डारीले सोनियाको पुस्तकको वैचारिक केन्द्र नै बाबरी मस्जिदसँग जोडिएको मतको राजनीति भएको आरोप लगाएका छन्।
भाजपाका अन्य नेताहरूले पनि बाबरी मस्जिद भत्किँदा रोएको बताउने सोनियाले सन् १९८४ को शिखविरोधी हिंसामा कांग्रेसको भूमिकाबारे पर्याप्त आत्मसमीक्षा नगरेको आरोप लगाएका छन्।
नोभेम्बर ११ मा रोयटर्सले प्रकाशित गरेको रिपोर्ट अनुसार बाबरी मस्जिद, संकटकाल र शिखविरोधी हिंसाबारे सोनियाको व्याख्या पुस्तक सार्वजनिक भएपछि भाजपा र कांग्रेसबीचको विवादको केन्द्रमा पुगेका छन्।

१०. प्रधानमन्त्री बन्न राहुल र प्रियंकाको विरोध, मनमोहन सिंहलाई किन रोजिन्?
सन् २००४ को लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धन विजयी भएपछि सोनिया प्रधानमन्त्री बन्न सक्ने अवस्थामा पुगिन्।
तर उनी यो पद स्वीकार गर्न चाहन्नथिन्।
'द इन्डियन एक्सप्रेस' मा प्रकाशित आत्मकथाको मूल अंश अनुसार कांग्रेस र गठबन्धनका नेताहरूले उनलाई प्रधानमन्त्री बन्न निकै दबाब दिएका थिए।
एउटा बैठकमा उनी नेताहरूको आग्रहपछि सहमत हुने अवस्थामा पुगेकी थिइन्।
यो सुनेपछि राहुल निकै रिसाए।
प्रियंकाले पनि आमालाई दबाबमा नपर्न र आफ्नो निर्णयमा अडिग रहन आग्रह गरिन्।
सोनियाले प्रधानमन्त्री बन्ने कि नबन्ने भन्ने निर्णय गर्दा राजीवको अभाव तीव्र रूपमा महसुस गरेको लेखेकी छन्।
अन्ततः उनले प्रधानमन्त्री पद अस्वीकार गरिन्।
त्यसपछि मनमोहन सिंहलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिन्।
सोनियाका अनुसार सिंहको इमानदारी, प्रशासनिक अनुभव र कांग्रेसभित्र कुनै गुटसँग नजोडिएको अवस्था उनको चयनका प्रमुख कारण थिए।
कम्युनिस्ट पार्टीको समर्थनमा बन्ने सरकारको आर्थिक नीतिबारे विश्वास दिलाउन पनि सिंह उपयुक्त हुने उनको आकलन थियो। तर सिंह प्रधानमन्त्री हुँदा सरकारको वास्तविक शक्ति सोनियासँग थियो भन्ने आलोचना लामो समय चल्यो।
पुस्तकमा सोनियाले यो आरोप अस्वीकार गरेकी छन्। सिंहले सरकार र आफूले पार्टी चलाएको उनको भनाइ छ।
११. प्रणव मुखर्जी प्रधानमन्त्री बन्न चाहन्थे, सोनियाले कुरा मोडिन्
आत्मकथामा सोनियाले कांग्रेसका वरिष्ठ नेता तथा पछि भारतका राष्ट्रपति बनेका प्रणव मुखर्जीसँग भएको एउटा संवाद पनि उल्लेख गरेकी छन्।
सन् २०१० मा मुखर्जीले सरकारको शीर्ष नेतृत्व परिवर्तन गर्ने समय आएको संकेत गरेका थिए।
सोनियाले त्यसलाई मुखर्जीको प्रधानमन्त्री बन्ने आकांक्षाका रूपमा बुझिन्।
तर उनी त्यस विषयमा छलफल गर्न चाहन्नथिन्।
उनले बिस्तारै कुराको विषय बदलिन्।
सोनियाका अनुसार मुखर्जीले त्यसपछि आफूप्रति कुनै असन्तुष्टि देखाएनन्।
यो विवरणले मनमोहन सिंह प्रधानमन्त्री हुँदा कांग्रेसभित्र वरिष्ठ नेताहरूको राजनीतिक आकांक्षा र आन्तरिक शक्ति सन्तुलन कस्तो थियो भन्ने प्रश्न उठाउँछ।
यद्यपि मुखर्जीले आफूलाई प्रधानमन्त्री बनाउन प्रत्यक्ष आग्रह गरेका थिए भन्ने होइन। सोनियाले उनको भनाइलाई त्यसरी बुझेकी हुन्।
१२. मोदी मसँग आँखा जुधाउँदैनन्, चीन र पुलवामाबारे गम्भीर आरोप
सोनियाले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको व्यक्तिगत सम्बन्धबारे पनि लेखेकी छन्।
उनका अनुसार मोदी प्रधानमन्त्री बनेपछिका १२ वर्षमा उनीहरूबीच खासै व्यक्तिगत संवाद भएको छैन।
औपचारिक कार्यक्रममा नमस्कार आदानप्रदान भए पनि कुराकानी हुँदैन।
संसदको सभामुखको सानो कार्यकक्षमा सँगै हुँदा पनि मोदीले आफूसँग आँखा जुधाउन नखोज्ने गरेको सोनियाको दाबी छ।
तर मोदीले अस्पताल भर्ना भएपछि एक पटक आफ्नो स्वास्थ्यबारे सोधेको प्रसंग पनि उनले सम्झेकी छन्।
यो व्यक्तिगत सम्बन्धभन्दा पुस्तकमा उनले मोदी सरकारमाथि लगाएका राजनीतिक आरोप अझ विवादास्पद छन्।
सोनियाले मोदी सरकारमाथि चीनसँगको सीमा विवादबारे संसदमा पर्याप्त छलफल नगरेको आरोप लगाएकी छन्।
उनका अनुसार चीनले भारतीय सीमावर्ती भूभाग कब्जा गरेको, संघीय सिद्धान्त कमजोर बनाउने कानुन बनाइएको, अल्पसंख्यकका अधिकार र नागरिकको गोपनीयताको विषयलाई बेवास्ता गरिएको छ।
उनले सन् २०१९ को पुलवामा आतंकवादी आक्रमणबारे पनि गम्भीर आरोप लगाएकी छन्। त्यस वर्ष फेब्रुअरी १४ मा भएको आत्मघाती आक्रमणमा ४० भारतीय सुरक्षाकर्मी मारिएका थिए।
सोनियाका अनुसार सम्भावित आतंकवादी आक्रमणबारे सुरक्षा निकायलाई सूचना प्राप्त भए पनि मोदी सरकारले पर्याप्त ध्यान दिएन। सुरक्षाकर्मीका लागि सुरक्षित हवाई यातायात उपलब्ध नगराएको आरोप पनि उनले लगाएकी छन्।
भारतीय गृह मन्त्रालयले हवाई यातायातको सुविधा अस्वीकार गरिएको आरोप यसअघि नै खण्डन गरेको थियो।
सन् २०२३ मा जम्मु–कश्मीरका तत्कालीन राज्यपाल सत्यपाल मलिकले पनि पुलवामा आक्रमणअघि सुरक्षामा कमजोरी भएको आरोप लगाएका थिए।
द इन्डियन एक्सप्रेसकी रितु सरिनले नोभेम्बर १० मा प्रकाशित रिपोर्टमा मोदी सरकार, चीन र पुलवामा आक्रमणसम्बन्धी यस्ता टिप्पणी पुस्तकको प्रकाशन विवादमा संवेदनशील बनेको उल्लेख गरेकी छन्।
१३. मोदी र आरएसएसको आलोचना हटाउन खोज्दा पुस्तकको प्रकाशक नै बदलियो
सोनियाको आत्मकथा सार्वजनिक हुनुअघि नै विवाद सुरू भएको थियो। भारतमा यसलाई पेन्गुइन र्यान्डम हाउस इन्डियाले प्रकाशित गर्ने तयारी थियो।
तर सम्पादन क्रममा प्रकाशकले केही राजनीतिक प्रसंगमा परिवर्तन गर्न चाह्यो।
द इन्डियन एक्सप्रेस ले अगस्ट २८ र सेप्टेम्बर १ मा प्रकाशित रिपोर्टमा प्रकाशकले संशोधन गर्न खोजेका विषयबारे खुलासा गरेको थियो।
ती विषयमा प्रधानमन्त्री मोदीको १२ वर्षे शासनकाल, आरएसएसको भूमिका, चीनसँगको सीमा विवाद, साम्प्रदायिक हिंसा र अल्पसंख्यकका अधिकारसम्बन्धी प्रसंग थिए।
सम्पादक तथा कानुनी सल्लाहकार र सोनियाको टोलीबीच कम्तीमा दुई महिना छलफल भएको थियो। सोनियाको पक्षले प्रस्तावित संशोधन अस्वीकार गर्यो। त्यसपछि प्रकाशन सम्झौता टुट्यो।
राजस्थानका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता अशोक गहलोतले द इन्डियन एक्सप्रेससँग कुरा गर्दै मुख्य विवाद मोदी, चीन र आरएसएससम्बन्धी विवरण हटाउने प्रस्तावमा भएको बताएका थिए।
उनले यसलाई व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको आरोप लगाएका थिए।
पेन्गुइन र्यान्डम हाउस इन्डियाले भने राजनीतिक दबाबको आरोप अस्वीकार गरेको छ।
कम्पनीका अनुसार पुस्तक सम्पादन गर्दा लेखकसँग छलफल र संशोधनका प्रस्ताव हुनु सामान्य प्रक्रिया हो। केही विषयमा सहमति भए पनि एउटा विषयमा सहमति नभएको कम्पनीले जनाएको छ।
सोनियाले भने द गार्डियनलाई दिएको अन्तर्वार्तामा प्रकाशक सरकारको आलोचना गरिएका विवरणबाट असहज भएको बताएकी छन्।
पेन्गुइनसँगको सम्झौता टुटेपछि हार्परकोलिन्सले भारतमा पुस्तक प्रकाशित गर्यो। अमेरिकी संस्करण भने पेन्गुइन समूहअन्तर्गतकै अल्फ्रेड ए नोफले प्रकाशित गरेको छ।
तर प्रकाशकले कुन–कुन अंशमा ठ्याक्कै कस्तो परिवर्तन गर्न माग गरेको थियो भन्ने पूर्ण सूची सार्वजनिक भएको छैन। त्यस्तै भारत सरकारले पुस्तकका अंश हटाउन प्रत्यक्ष दबाब दिएको भन्ने प्रमाण पनि सार्वजनिक भएको छैन।
यस कारण प्रकाशक किन पछि हट्यो भन्ने विषयमा सोनिया र प्रकाशकको भनाइ फरक छ।
पुस्तक बजारमा आइसके पनि त्यसको प्रकाशन प्रक्रियामा उत्पन्न विवादले भारतमा राजनीतिक आलोचना समेटिएका पुस्तक प्रकाशन गर्दा सम्पादकीय स्वतन्त्रता कति छ भन्ने प्रश्न उठाएको छ।
***