बेलायतमा पाँच महिनाको एउटा बच्चालाई देखेर घरपालुवा कुकुरले अनौठो व्यवहार गर्न थाल्यो।
सधैं शान्त रहने त्यो कुकुर एकाएक बेचैन भयो। ऊ बच्चाको वरिपरि घुमिरहन्थ्यो। कहिले बच्चाको अनुहार चाट्थ्यो, कहिले सुँघ्थ्यो। अनि लगातार कुइँकुइँ आवाज निकाल्थ्यो।
कुकुरको यस्तो व्यवहारले घरका सबैलाई अचम्ममा पार्यो।
बच्चा हेर्दा सामान्य नै देखिन्थ्यो। उसलाई कुनै रोग लागेको संकेत थिएन। कुकुर भने शान्त हुन सकिरहेको थिएन।
केही घन्टापछि बच्चा अचानक रून थाल्यो। आमा र हजुरआमाले जति प्रयास गर्दा पनि रून छाडेन।
अन्ततः उनीहरूले बच्चालाई अस्पताल पुर्याए।
त्यहाँ चिकित्सकले जाँच गर्दा यस्तो समस्या पत्ता लाग्यो, जसबारे परिवारलाई कुनै जानकारी थिएन।
बच्चाको मुटु अस्वाभाविक रूपमा तीव्र गतिमा धड्किरहेको थियो। मुटुको धड्कन प्रतिमिनेट २०० भन्दा माथि पुगेको थियो।
त्यो अवस्था लामो समयसम्म कायम रहे बच्चाको ज्यान समेत जोखिममा पर्न सक्थ्यो।
बेलायतको समरसेट काउन्टीमा भएको यो घटनाबारे अमेरिकी अखबार 'द वासिङ्टन पोस्ट' ले मंगलबार विस्तृत रिपोर्ट प्रकाशित गरेको छ।
उक्त रिपोर्टअनुसार बच्चाको नाम अलेक्जेन्डर हो। उनकी आमा किम रेनोल्ड्स हुन्। परिवारले पालेको डोबरम्यान जातको कुकुरको नाम सराया हो।
यो घटना सेप्टेम्बर ३ को हो।
त्यो बिहान सरायाले अलेक्जेन्डरप्रति देखाएको व्यवहार असामान्य थियो। रेनोल्ड्सकी आमा पनि घरमा आएकी थिइन्। सरायाले नातिको वरिपरि देखाइरहेको बेचैनी देखेर उनले समेत आज कुकुरलाई के भएको हो भनेर सोधेकी थिइन्।
तर अलेक्जेन्डर सामान्य देखिएकाले किमले कुकुरको व्यवहारलाई सुरूमा त्यति गम्भीरतापूर्वक लिइनन्।
केही समयपछि परिस्थिति बदलियो।
अलेक्जेन्डर अचानक चिच्याउँदै रून थाले। किमले उनलाई बाहिर लगेर फकाउने प्रयास गरिन्। नुहाइदिइन्। अनेक उपाय गरिन्।
तर बच्चा शान्त भएनन्।
त्यसपछि बिहानदेखि कुकुरले गरिरहेको अनौठो व्यवहार उनको मनमा आयो।
कहीँ बच्चालाई केही भएको त छैन?
यही आशंकामा किम र उनकी आमाले अलेक्जेन्डरलाई अस्पताल लैजाने निर्णय गरे।
अस्पतालमा उनको मुटुको धड्कन जाँच गरियो। चिकित्सकले त्यसको गति निकै बढी भएको पाए।
मुटुको धड्कन घटाउन विभिन्न उपाय अपनाइयो। अन्ततः औषधि दिएपछि धड्कन नियन्त्रणमा आयो।
अलेक्जेन्डरलाई दुई रात अस्पतालको बालरोग वार्डमा राखेर निगरानी तथा थप परीक्षण गरियो।
त्यसपछि चिकित्सकले उनलाई वुल्फ–पार्किन्सन–ह्वाइट सिन्ड्रोम (Wolff-Parkinson-White syndrome) भएको पत्ता लगाए।
यो जन्मजात हुने मुटुको विद्युतीय प्रणालीसम्बन्धी समस्या हो।
सामान्य अवस्थामा मुटुको धड्कन नियमित राख्न विद्युतीय संकेत निश्चित बाटोबाट प्रवाह हुन्छन्। तर यो समस्या भएका व्यक्तिको मुटुमा विद्युतीय संकेत प्रवाह हुने अतिरिक्त बाटो हुन्छ। त्यसले कहिलेकाहीँ मुटु अत्यन्त तीव्र गतिमा धड्किन सक्छ।
अलेक्जेन्डरमा पनि यस्तै भएको थियो।
उनलाई सुप्राभेन्ट्रिकुलर ट्याकिकार्डिया (एसभिटी) भनिने अत्यधिक तीव्र मुटुको धड्कनको समस्या देखिएको थियो।
वासिङ्टन पोस्टसँग कुरा गरेका अमेरिकाको बोस्टन चिल्ड्रेन्स हस्पिटलका मुटुरोग विशेषज्ञ भासिलियोस बेजेरिडेसका अनुसार साना शिशुमा यस्तो समस्या पहिचान गर्न कठिन हुन सक्छ। कहिलेकाहीँ यसको लक्षण धेरै दिनसम्म पत्ता नलाग्न सक्छ।
लगातार अत्यधिक तीव्र गतिमा मुटु धड्किरहे त्यसले मुटुलाई कमजोर बनाउन सक्छ।
उनले यसको अवस्थालाई एक जना मानिसले विश्राम नगरी लगातार अत्यधिक गतिमा म्याराथन दौडिरहे जस्तै भएको उदाहरण दिए। तर समयमै पहिचान भए यस्तो समस्याको उपचार गर्न सकिने उनको भनाइ छ।
अलेक्जेन्डरलाई पनि उपचारपछि घर फर्काइएको छ।
अहिले उनले मुटुको धड्कन नियन्त्रण गर्ने बेटा ब्लकर समूहको औषधि सेवन गरिरहेका छन्। भविष्यमा मुटुको विद्युतीय समस्या समाधान गर्न थप उपचार प्रक्रिया आवश्यक पर्न सक्ने चिकित्सकले बताएका छन्।
किमका अनुसार अहिले छोराको स्वास्थ्य राम्रो छ।
तर यो घटनामा एउटा प्रश्न अझै बाँकी छ— चिकित्सकले परीक्षण गरेर पत्ता लगाएको समस्या कुकुरले त्यसअघि नै कसरी थाहा पायो?
किमलाई आफ्नो कुकुरले छोराको स्वास्थ्यमा आएको परिवर्तन महसुस गरेको विश्वास छ।
उनले वासिङ्टन पोस्टसँग कुकुरले त्यस्तो व्यवहार नदेखाएको भए बच्चालाई अस्पताल लैजाने निर्णय नगरेको पनि हुन सक्ने बताएकी छन्।
के कुकुरले वास्तवमै मानिसको शरीरभित्र भइरहेको यस्तो परिवर्तन थाहा पाउन सक्छ?
वैज्ञानिकहरूका अनुसार कुकुरमा मानिसको तुलनामा गन्ध र आवाज पहिचान गर्ने क्षमता निकै विकसित हुन्छ। त्यसैले उनीहरूले मानिसले सजिलै थाहा नपाउने केही शारीरिक परिवर्तन महसुस गर्न सक्छन्।
वासिङ्टन पोस्टले यस सन्दर्भमा सन् २०२२ को एउटा वैज्ञानिक अध्ययन पनि उल्लेख गरेको छ।
उक्त अध्ययनले मानिस तनावमा पर्नुअघि र तनावमा परिसकेपछि उनीहरूको सासबाट आउने गन्धमा हुने अन्तर कुकुरले छुट्याउन सक्ने देखाएको थियो।
त्यस अध्ययनमा संलग्न पेन्सिलभेनिया विश्वविद्यालयकी अनुसन्धानकर्ता क्लारा विल्सनका अनुसार मानिसको शरीरमा हुने परिवर्तनले सास र पसिनाको गन्धमा समेत परिवर्तन ल्याउन सक्छ।
कुकुरले त्यस्ता सूक्ष्म परिवर्तन महसुस गर्ने सम्भावना हुन्छ।
उनका अनुसार विशेष तालिम नपाएका घरपालुवा कुकुरले समेत मानिसमा आएको असामान्य परिवर्तनप्रति प्रतिक्रिया जनाउन सक्छन्।
त्यस्तै, एरिजोना स्टेट युनिभर्सिटीका कुकुरको व्यवहारसम्बन्धी विज्ञ क्लाइभ विनले कुकुरको सुँघ्ने र सुन्ने क्षमता तथा मानिससँगको भावनात्मक सम्बन्धलाई महत्त्वपूर्ण मानेका छन्।
कुकुरले आफू निकट रहेको मानिसमा कुनै असामान्य परिवर्तन महसुस गरेपछि फरक व्यवहार देखाउन सक्ने उनको भनाइ छ।
सरायाले भने अलेक्जेन्डरको मुटुको रोग नै पहिचान गरेको थियो भन्ने वैज्ञानिक प्रमाण छैन। कुकुरको व्यवहार र बच्चामा पत्ता लागेको रोगबीच सम्बन्ध हुन सक्ने सम्भावना छ। तर त्यो संयोग मात्र थियो कि कुकुरले साँच्चै कुनै शारीरिक परिवर्तन महसुस गरेको थियो भन्ने पुष्टि भएको छैन।
त्यसैले कुकुरको यस्तो व्यवहारलाई चिकित्सकीय परीक्षणको विकल्प मान्न मिल्दैन।
किमका लागि भने त्यो बिहानको घटनाको अर्थ बेग्लै छ।
आफ्नो कुकुरको असामान्य व्यवहारले छोराको स्वास्थ्यबारे समयमै सचेत गराएको उनको विश्वास छ।
यो अनुभवपछि उनी अरू अभिभावकलाई पनि आफ्ना साना बच्चाको व्यवहार र स्वास्थ्यमा आएका असामान्य परिवर्तनलाई बेवास्ता नगर्न सुझाव दिन्छिन्।
उनको सन्देश सरल छ— बच्चामा केही असामान्य भइरहेको शंका लागे चिकित्सकीय सहायता लिन ढिला गर्नु हुँदैन।
किमलाई अहिले पनि एउटा कुरा सम्झिँदा डर लाग्छ। त्यो बिहान सरायाले त्यस्तो व्यवहार नगरेको भए के हुन्थ्यो?
त्यसको निश्चित जबाफ छैन। तर एउटा कुरा स्पष्ट छ।
कुकुरको असामान्य व्यवहारबाट सुरू भएको एउटा शंकाले पाँच महिनाको बच्चाको मुटुमा लुकेको गम्भीर समस्या समयमै पत्ता लगाउन मद्दत गर्यो।
***