सन् १९९६ को अक्टोबर महिना।
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा एक अवकाशप्राप्त कुखुरापालक किसान आफ्नो घरको बगैंचामा पर्खाल लगाउँदै थिए।
किसानको नाम थियो, मिहाइल मिहाइलिडिस।
उनले पर्खाल बनाउन नजिकैको खानीबाट बलौटे ढुंगा ल्याएका थिए। ती ढुंगा मिलाएर पर्खाल बनाउने जिम्मा डेभिड किङ नामका कामदारले लिएका थिए।
काम लगभग सकिएको थियो।
डेभिडले भर्खरै लगाइएका ढुंगामा टाँसिएको माटो सफा गर्न पानी हाले। पानीले माटो पखालिँदै जाँदा एउटा ढुंगामा अनौठो आकृति देखा पर्यो।
त्यहाँ कुनै जीवको टाउको, मेरूदण्ड र करङ जस्ता संरचना देखिन्थे।
डेभिडले तत्काल किसान मिहाइललाई खबर गरे।
त्यो ढुंगा सामान्य थिएन।
त्यसभित्र करिब २४ करोड वर्षअघि पृथ्वीमा बाँचेको एउटा जीवको अवशेष सुरक्षित थियो।
यो कथामा अर्को आश्चर्य पनि लुकेको छ।
उक्त जीवाश्म केही महिनापछि एउटा प्रदर्शनीमा राखियो। त्यहाँ १२ वर्षका एक बालकले त्यसलाई देखे।
डाइनोसर र प्राचीन जीवबारे असाध्यै चासो राख्ने ती बालकका लागि त्यो अविस्मरणीय अनुभव बन्यो।
त्यसको झन्डै २६ वर्षपछि तिनै बालक वैज्ञानिक बनेर त्यही जीवाश्मको अध्ययनमा संलग्न भए। अनि, वैज्ञानिक टोलीले त्यसलाई संसारसामु नयाँ प्रजातिका रूपमा परिचित गरायो।
ती बालक थिए, ल्याक्लन हार्ट।
अस्ट्रेलियन म्युजियमका वैज्ञानिक हार्टले सन् २०२३ मा आफै यो असाधारण संयोगको कथा लेखेका छन्।
यो घटना अहिले फेरि चर्चामा आएको छ। अमेरिकी पत्रिका 'पिपुल' ले मंगलबार (नोभेम्बर १०) यसबारे समाचार प्रकाशित गरेपछि पुरानो खोजले नयाँ चर्चा पाएको हो।
ढुंगाबाट संग्रहालयसम्म
डेभिडले ढुंगामा जीवाश्म भेटेको केही महिनापछि, सन् १९९७ को सुरूमा, किसान मिहाइलले अस्ट्रेलियन म्युजियमलाई खबर गरे।
संग्रहालयका वैज्ञानिकहरूले त्यसको परीक्षण थाले।
वैज्ञानिक एन वारेनले प्रारम्भिक अध्ययनबाट जीवाश्म 'टेम्नोस्पोन्डिल' समूहको भएको पहिचान गरिन्।
यो अहिले लोप भइसकेको प्राचीन उभयचर जीवहरूको समूह हो। तिनको शारीरिक बनावट केही हदसम्म गोही र ठूलो सालामान्डरको मिश्रण जस्तो देखिन्थ्यो।
उभयचर भनेका पानी र जमिन दुवै वातावरणसँग सम्बन्धित जीवनचक्र भएका जीव हुन्। अहिलेका भ्यागुता र सालामान्डर यसका परिचित उदाहरण हुन्।
त्यो बेला अस्ट्रेलियामा जीवाश्म भेटिएको खबरले ठूलो चर्चा पायो।
संयोगले क्यानडाका जीवाश्म वैज्ञानिक स्टिफन गडफ्रे एउटा अन्तर्राष्ट्रिय डाइनोसर प्रदर्शनीका लागि सिड्नीमा थिए। उनकै पहलमा यो जीवाश्म पनि 'डाइनोसर वर्ल्ड टुर' प्रदर्शनीमा राखियो।
त्यही प्रदर्शनी हेर्न ल्याक्लन हार्ट आफ्ना परिवारसँग पुगेका थिए।
हार्टले सन् २०२३ मा अस्ट्रेलियन म्युजियमको वेबसाइटमा लेखेका छन्, 'मैले १२ वर्षको हुँदा पहिलो पटक त्यो जीवाश्म देखेको थिएँ। यसले मलाई असाध्यै प्रेरित गरेको थियो।'
सन् २००० मा किसान मिहाइलले जीवाश्म संग्रहालयलाई दान दिए।
त्यसपछि त्यो संग्रहालयमै सुरक्षित रह्यो।
वैज्ञानिकहरूले यसको महत्त्व बुझेका थिए। तर यसलाई नयाँ प्रजातिका रूपमा औपचारिक रूपमा पहिचान गर्न विस्तृत अनुसन्धान भएको थिएन।
करिब दुई दशक बिते।
बाल्यकालमा त्यो जीवाश्म देखेका हार्ट जीवाश्म विज्ञानको अध्ययन गर्दै अस्ट्रेलियन म्युजियममा काम गर्न थाले। त्यसै क्रममा उनलाई विद्यावारिधि अनुसन्धानका लागि उक्त जीवाश्म अध्ययन गर्ने अवसर मिल्यो।
बाल्यकालमा दर्शक भएर हेरेको जीवाश्म अब उनी आफैले अनुसन्धान गर्न पाएका थिए।

आखिर कस्तो थियो २४ करोड वर्ष पुरानो जीव?
हार्ट र उनका सहकर्मीहरूले विस्तृत अध्ययन गरेपछि उक्त जीवलाई Arenaerpeton supinatus नाम दिए।
यसको अर्थ मोटामोटी रूपमा 'ढाडतिर पल्टिएर बालुवामा घस्रने जीव' हुन्छ।
नाम राख्नुको कारण पनि रोचक छ।
जीवाश्म बलौटे ढुंगामा भेटिएको थियो। त्यसभित्र जीवको शरीर ढाडतिर पल्टिएको अवस्थामा सुरक्षित थियो।
वैज्ञानिकहरूका अनुसार यो जीव करिब २४ करोड वर्षअघि ट्रायासिक कालमा बस्थ्यो। त्यति बेला अहिलेको सिड्नी क्षेत्रको भौगोलिक र प्राकृतिक अवस्था निकै फरक थियो।
उक्त जीव त्यहाँका ताजा पानीका नदीहरूमा बस्ने मांसाहारी सिकारी थियो। वैज्ञानिकहरूले यसले प्राचीन माछाको सिकार गर्ने गरेको अनुमान गरेका छन्।
यसको लम्बाइ करिब १.२ देखि १.५ मिटरसम्म भएको अनुमान छ।
अर्थात्, झन्डै चारदेखि पाँच फिट।
टाउको फराकिलो थियो। शरीर मोटो र बलियो थियो। मुखमा धारिला दाँत थिए। मुखको माथिल्लो भागमा दुईवटा ठूला दाह्राजस्ता दाँत समेत थिए।
देख्दा अहिले चीनमा पाइने विशाल सालामान्डरसँग केही मिल्दोजुल्दो थियो। तर यो वर्तमान सालामान्डरको पुर्खा होइन।
वैज्ञानिकहरूका लागि सबभन्दा आश्चर्यजनक कुरा भने यसको शरीर सुरक्षित रहेको अवस्था थियो।
सामान्यतया कुनै जीव मरेपछि मासु, छाला र शरीरका नरम अंग कुहिएर नष्ट हुन्छन्। लाखौं वर्षपछि जीवाश्म भेटिँदा प्रायः हड्डी वा दाँतजस्ता कडा भाग मात्रै बाँकी हुन्छन्। तर यो जीवाश्ममा टाउको र शरीरका धेरै हड्डी आपसमा जोडिएकै अवस्थामा थिए।
त्यति मात्र होइन, शरीरको बाहिरी छालाको आकृति समेत ढुंगामा सुरक्षित थियो।
हार्टका अनुसार यस्तो अवस्थामा जीवाश्म भेटिनु असाध्यै दुर्लभ हो। यद्यपि यसको पुच्छर र पछाडिका खुट्टाका भाग सुरक्षित थिएनन्।
यो खोज वैज्ञानिक रूपमा किन महत्त्वपूर्ण?
यो अनुसन्धान सन् २०२३ अगस्ट ३ मा वैज्ञानिक जर्नल Journal of Vertebrate Paleontology मा प्रकाशित भएको थियो।
हार्ट सहित चार वैज्ञानिकको अध्ययनले यो पहिले औपचारिक रूपमा वर्णन नगरिएको नयाँ प्रजाति भएको पुष्टि गर्यो।
यसको महत्त्व नयाँ नाम राख्नुसम्म सीमित छैन।
करिब २५ करोड २० लाख वर्षअघि पृथ्वीले इतिहासकै सबभन्दा विनाशकारी सामूहिक लोपको सामना गरेको थियो। त्यस घटनामा समुद्री र स्थलचर जीवहरूको ठूलो हिस्सा हराएको थियो। तर टेम्नोस्पोन्डिल समूहका केही जीव त्यसपछि पनि लामो समयसम्म बाँचे।
नयाँ जीवाश्मले उक्त विनाशकारी घटनापछिका करोडौं वर्षमा यो समूह कसरी विकसित भयो भन्ने बुझ्न थप प्रमाण दिएको छ।
विशेष गरी केही प्रजातिको शरीर किन ठूलो हुँदै गयो र त्यसले तिनीहरूलाई लामो समयसम्म अस्तित्वमा रहन सहयोग गर्यो कि गरेन भन्ने अनुसन्धानका लागि यो महत्त्वपूर्ण छ।
तर ठूलो शरीरकै कारण ती जीव लामो समय बाँचे भन्ने निष्कर्षमा वैज्ञानिकहरू पुगिसकेका छैनन्।
अध्ययनका सहलेखक तथा अस्ट्रेलियन म्युजियमका वैज्ञानिक म्याथ्यु म्याककरीले यसलाई न्यू साउथ वेल्समा तीन दशकयता भेटिएका सबभन्दा महत्त्वपूर्ण जीवाश्ममध्ये एक भनेका छन्।

एउटा जीवाश्मले जोडेको दुई पुस्ताको कथा
यो घटनाको वैज्ञानिक पक्ष जति रोचक छ, मानवीय पक्ष त्यत्तिकै असाधारण छ।
सन् १९९६ मा डेभिडले ढुंगामा पानी नहालेका भए त्यो जीवाश्म पर्खालमै रहन सक्थ्यो।
किसान मिहाइलले वैज्ञानिकहरूलाई खबर नगरेका भए त्यसको महत्त्व पहिचान नहुन सक्थ्यो।
अनि त्यो जीवाश्म प्रदर्शनीमा नराखिएको भए १२ वर्षका हार्टले त्यसलाई देख्ने अवसर पनि पाउँदैनथे।
हार्टलाई जीवाश्म विज्ञानप्रतिको रूचि त्यही घटनाले मात्र जगाएको भने होइन। उनी पहिल्यैदेखि प्राचीन जीवहरूमा रूचि राख्थे। तर उक्त जीवाश्मले उनको रूचिलाई थप प्रेरणा दिएको थियो।
आज वैज्ञानिक बनेपछि पनि हार्टका लागि त्यो जीवाश्म अनुसन्धानको नमूना मात्रै होइन, आफ्नै बाल्यकालको स्मृति पनि हो।
उनले अस्ट्रेलियन म्युजियममा प्रकाशित आफ्नो लेखको अन्त्यमा एउटा आशा व्यक्त गरेका छन् — कुनै दिन आफूजस्तै अर्को बालकले संग्रहालयमा त्यो जीवाश्म देखोस् र त्यसबाट आफूले पाएजस्तै प्रेरणा पाओस्!
***