'मैले जीवनमा कहिल्यै म्हपूजा गरेको छैन।'
यो वाक्य सुन्नेबित्तिकै धेरैले मलाई अनौठो गरी हेर्छन्। त्यो हेराइ यति गहिरो हुन्छ, कहिलेकाहीँ त आफैलाई केही अपराध गरेजस्तो लाग्छ।
यसअघि पनि मेरो पहिचानमाथि प्रश्न उठेको थियो। मैले आफ्नो थरको सन्दर्भ जोडेर 'म कसरी नेवा: हुँ' भन्ने लेख्नुपरेको थियो। अहिले म्ह पूजाको कुरा गर्दा उनीहरू 'के…ए…ए?' भन्ने भावमा टोलाएर हेर्छन्।
म्ह भनेको नेपाल भाषामा शरीर। म्ह पूजा अर्थात् आफ्नै शरीरको पूजा। नेवा: समुदायले हरेक वर्ष नेपाल संवतको नयाँ वर्षको दिन यो पूजा गर्छन्।
यो पूजा सयौं वर्षदेखि नेवा: समाजमा चल्दै आएको छ। आफ्नै भाषा र लिपिजस्तै म्ह पूजा पनि नेवा: पहिचानको एउटा छुट्टै चिनारी मानिन्छ। 'म नेवा: हुँ' भनेर चिनाउँदा भाषा र लिपिपछि जोडिने अर्को विशेषता यही हो।
त्यसैले जीवनभर म्ह पूजा नगरेको मलाई मानिसहरूले अनौठो मानेर हेर्नु स्वाभाविक हो। उनीहरूका लागि यो सामान्य चाडपर्वभन्दा बढी नेवा: भएको प्रमाण जस्तै रहेछ।
मेरो परिवारमा कसैले पनि आजसम्म म्ह पूजा गरेका छैनन्। मेरो जन्मथलो बोडे अनि ठिमी र नगदेशका धेरैले पनि पुस्तौंदेखि गरेका छैनन्।
लक्ष्मीपूजाको अघिल्लो दिन म ठिमीमा डुल्न निस्किएँ र केही ज्येष्ठ नागरिकहरूलाई सोधेँ, 'म्हपूजा नगर्ने यो चलन किन चल्यो?'
कुनै ठोस कारण भेटिन्छ कि भन्ने आशा थियो, तर अन्त्यमा केही भेटिएन।
बूढापाकाहरू भन्छन्, किजा पूजा (भाइटीका) जत्तिको म्ह पूजा अनिवार्य होइन, नगरे पनि हुन्छ। उनीहरू खुलेरै 'यो गर्न कर छैन' भन्छन्।
तर सँगसँगै अर्को कुरा पनि भन्छन्।
पहिले किसानहरू बाली भित्र्याउने बेला यति व्यस्त हुन्थे, म्ह पूजाको फुर्सद नै हुँदैनथ्यो। एक जना बाजेले त घरभरि धान थुप्रिएको हुन्थ्यो, सबै बसेर पूजा गर्ने ठाउँ नै हुँदैनथ्यो, त्यसैले पुर्खाले छाडे र हामीले पनि छाड्यौं भने।
सत्तरी–असी वर्ष पुगेकाहरूले पनि जिन्दगीमा एक पटक म्हपूजा गरेका छैनन् र आज तीस वर्षको उमेरमा म पनि उही दोबाटोमा उभिएको छु।
तर मलाई म्ह पूजा गर्न मन छ। परम्परा तोड्ने विद्रोही बन्न होइन, यत्रो राम्रो परम्परालाई कुनै आधार नै नभएको बहानामा पन्छाइराख्नु हुँदैन भन्ने लाग्छ।
घरमा सोध्दा 'हामीले कहिल्यै गरेका छैनौं' भन्छन्। म गर्छु भन्दा चाहिँ गर भन्छन्, तर घरमा होइन रे। अनि म म्ह पूजा गर्न कहाँ जाऊँ त?
हुन सक्छ, केही वर्षपछि म आफैले सुरू गरूँला, आफ्नो खलकमा पहिलो भएर, र यो परम्परालाई अर्को पुस्तासम्म पुर्याउँला।
यति बेला म म्ह पूजा कहिल्यै नगरेका आफ्ना वरिपरिका मानिसहरूलाई पनि यही प्रश्न सोधिरहेको छु।
प्रायः केही नेवा: समूहमा म्ह पूजा गर्ने चलन कुनै खास घटना, व्यापारिक वा अन्य विशेष कारण र परिस्थितिले बन्द हुन पुगेको देखिन्छ। मध्यपुरमा मात्र नभएर धुलिखेलका नेवा:हरूमा पनि म्ह पूजा गर्ने चलन रहेको देखिँदैन।
'यो घटनाबारे लिखित प्रमाण कतै छ कि छैन, मलाई थाहा छैन। तर नेवा:हरूको स्मृतिमा यसलाई रणबहादुर शाहको पालाको बासठ्ठी हरणसँग जोडेर सम्झिने गरिन्छ,' आभाष राजोपाध्याय बताउँछन्।
उनी थप्छन्, 'उपत्यकाका मल्ल राजाका नजिकका धेरैलाई कडा सजाय दिइएको थियो। शाही सेनाले ती नेवा:हरूलाई दिनभर नै थुनेर राखेकाले उनीहरूले म्ह पूजाको तयारी गर्न नै पाएनन् भन्ने मान्यता छ। त्यही दुःखद घटनाको सम्झनामा केही नेवा: समूहले म्ह पूजा मनाउँदैनन्। मनाउनेहरूमा पनि विधि एउटा फल वा जजंका (धागोको माला) लिनेमा मात्र सीमित रह्यो।'
राइजिङ नेपालमा आशिष मिश्राले लेखेको एउटा लेखमा डा. नुतनधर शर्मालाई उद्धृत गर्दै ६२ सालको लुट अर्थात् इतिहासमा बासठ्ठी हरणका नामले चिनिने घटनाबारे चर्चा गरिएको छ।
विसं १८६२ (सन् १८०५) मा तत्कालीन पूर्वराजा तथा मुख्तियार रणबहादुर शाहकी रानी कान्तिवतीको वियोगपछि उनको व्यवहार अस्थिर बन्दै गएको चर्चा इतिहासमा पाइन्छ। त्यसै क्रममा उनले मन्दिर र धार्मिक संस्थाहरूलाई दिइएका सबै जग्गा जफत गर्न आदेश दिए।
बासठ्ठी हरणबारे धेरै स्रोतमा यस्तो उल्लेख छ, 'बनारसमा बस्दा तिर्नुपरेको ऋण चुक्ता गर्न रणबहादुर शाहले भीमसेन थापाको सल्लाहमा ब्राह्मण, मन्दिर र धार्मिक गुठीका जग्गा खोसे, जफत गरे र आफ्नै हातमा लिए।'
इन्द्रचोक र पाटनका केही ठाउँमा पनि मानिसहरू म्ह पूजा मनाउँदैनन्।
उनीहरू भन्छन्, 'राज्यले गरेको जफत सबभन्दा बढी त्यही दिन भएको थियो, त्यसैले सरकारको विरोधमा उनीहरूले मनाउन छाडे।'
म्ह पूजा किन मनाइँदैन? धेरै ठाउँ चहारेँ, खोजेँ, धेरैलाई सोधेँ। तर यसको ठोस जबाफ भेटिनँ।
ज्येष्ठहरूले भनेको 'गर्ने कर छैन', बाली भित्र्याउने बेलाको व्यस्तता, बासठ्ठी हरणको स्मृति। मैले कुनै लिखित अभिलेख वा बलियो प्रमाण भेट्न सकिनँ।
अझ रोचक कुरा त, म्ह पूजा नमनाउनेहरूलाई पनि आफूहरूले किन छाडेका हुन् भन्ने इतिहास थाहा छैन। उनीहरूले कुनै निर्णय गरेर छाडेका होइनन्। पुर्खाले नगरेकाले उनीहरू पनि गर्दैनन्।
अर्थात्, उनीहरू म्ह पूजा 'नगर्ने' परम्पराका वाहक हुन्।
सायद त्यसैले यो प्रश्न अझै अनुत्तरित छ। कारण नजान्दा पनि चलन चलिरहन्छ र चलन चलिरहँदा कारण खोज्ने आवश्यकता नै पर्दैन।
***