नेपालमा २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो।
पहिलो राष्ट्रिय खेलकुद राजधानी काठमाडौंमा भयो। तत्कालीन १४ अञ्चलले भाग लिएको प्रतियोगितामा १६ खेलमा प्रतिस्पर्धा भएको थियो। पहिलो राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती अञ्चलले ४४ स्वर्ण, ३३ रजत र २५ कास्यसहित कुल १०२ पदक जितेको थियो।
प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य राखिएको राष्ट्रिय खेलकुदको दोस्रो संस्करण पोखरामा आयोजना भयो। चैत १२ देखि २० सम्म आयोजना भएको प्रतियोगिता तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेका थिए।
दोस्रो संस्करणमा तीन खेल बढाएर १९ खेलमा प्रतिस्पर्धा भएको थियो। दोस्रो संस्करणमा पनि बागमतीले सर्वाधिक पदक जित्ने क्रममा ४९ स्वर्ण, ४६ रजत र ४१ कास्य गरी कूल १३६ पदक जित्यो।
![](https://staging.setopati.com/uploads/editor/2022-10-13/1249402522nd.jpg)
![](https://www.setopati.com/uploads/editor/Sports/2nd.jpg)
पहिलो संस्करणमा कुनै पदक जित्न नसकेको कर्णालीले दोस्रो संस्करणमा भने एक कास्य जितेको थियो। त्यतिबेला उत्कृष्ट पोशाक लगाउने टिमलाई पनि पुरस्कृत गर्न गरिन्थ्यो।
दोस्रो संस्करणमा मेची अञ्चलको पोशाक उत्कृष्ट ठहरिएको थियो। यस्तै गण्डकी अञ्चलले उत्कृष्ट मार्चपास गर्ने टिमको पुरस्कार पाउँदा सेती अञ्चल अनुशासित टिम घोषित भएको थियो।
दोस्रो राष्ट्रिय खेलकुदमा लोक दोहोरी नृत्यलाई पनि प्रतियोगिताको रूपमा प्रतिस्पर्धा गराइएको थियो।
त्यसपछि तेस्रो राष्ट्रिय खेलकुद दुई वर्षकै अन्तरालमा २०४२ सालमा वीरगञ्जमा आयोजना भयो। तर राजनीतिक अस्थिरताले गर्दा त्यसपछिका राष्ट्रिय खेलकुद भने दुई/दुई वर्षमा आयोजना हुन सकेनन्।
तेस्रो राष्ट्रिय खेलकुद आयोजना भएको १३ वर्षपछि मात्र चौथो राष्ट्रिय खेलकुद नेपालगञ्जमा २०५५ सालमा आयोजना भएको थियो।
यस्तै, १० वर्षपछि २०६५ सालमा पाँचौ राष्ट्रिय खेलकुद काठमाडौंमा सञ्चालन भयो। त्यसको तीन वर्षपछि २०६८ सालमा कैलाली र कञ्चनपुरमा छैठौं राष्ट्रिय खेलकुद आयोजना गरियो।
सातौं राष्ट्रिय खेलकुद २०७२ मा प्रदेश एकमा आयोजना हुँदा आठौं राष्ट्रिय खेलकुद २०७६ मा लुम्बिनी प्रदेशमा भयो।
शुक्रबारदेखि पोखरा रंगशालामा उद्घाटन हुने नवौं राष्ट्रिय खेलकुदसँगै पोखराले दोस्रो पटक राष्ट्रिय खेलकुदलाई स्वागत गर्दैछ।
नवौं राष्ट्रिय खेलकुदका खेलहरू गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने भए पनि अधिकांश खेल पोखरामा केन्द्रित छन्।
![](https://www.setopati.com/uploads/editor/Sports/gate.jpg)
प्रतियोगितामा आयोजना हुने ३६ खेलमध्ये पोखरामा २९ खेल सञ्चालन हुँदैछन्। ३६ खेलमा सात प्रदेश, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी र गैरआवासीय नेपाली गरी ११ टिमले ४०४ स्वर्णका लागि भिड्नेछन्।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार ११ टिमका ६१ सय बढी खेलाडीले नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन्।
३९ वर्षपछि पोखरामा हुन लागेको राष्ट्रिय खेलकुदको उद्घाटन सत्रलाई भव्य बनाउन लागि राष्ट्रिय खेलकुद परिषद्ले ३ करोड रुपैयाँ निकास गरिसकेको छ।
![](https://www.setopati.com/uploads/editor/Sports/cover%203.jpg)
उपराष्ट्रपति नन्दबहादुर पुनले अपरान्ह ४:३० मा उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडी र अफिसियल गरी ७ हजार बढी खेलाडी सहभागी हुने समारोह उपसमितिका संयोजक एकिन्द्र कुँवरले बताए।
उनले उद्घाटन शत्रमा १६ हजार क्षमताको पोखरा रंगशाला भरिने पनि अपेक्षा गरे।
उद्घाटनमा सुरूमा सहभागी ११ टिमले मार्च पास गर्नेछन्। नेपाल आर्मीका १५० जनाले ब्यान्ड डिस्प्ले गर्नेछन्। त्यस्तै गण्डकी प्रदेशका विभिन्न १३ जातका झाँकी प्रदर्शन गर्नेछन्। त्यसपछि शिव परियार सहितले सांगीतिक प्रस्तुत गर्नेछन्।
यस्तै, १२ विद्यार्थीहरूले विभिन्न गीतमा आफ्नो प्रस्तुति दिनेछन्। अन्त्यमा आतशवाजी गरेर कार्यक्रम समापन गरिने संयोजक कुँवरले बताए।