आइसिसी क्रिकेट विश्वकप लिग-२ मा स्कटल्यान्डले पहिलो जित हात पारेको छ। घरेलु टिम स्कटल्यान्डले शनिबार राति सकिएको खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई ३ विकेटले पराजित गरेको हो।
पिएनजीले दिएको २०६ रनको लक्ष्य स्कटल्यान्डले ७ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गरेको थियो। उसका लागि कप्तान केल कोइटजरले ९६ रन बटुले। बलिङमा पिएनजीका पोकना र असद भालाले ३-३ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २०५ रन जोड्यो। उसका लागि ओपनर उराले ४६ रन जोडे। बलिङमा स्कटल्यान्डका हम्जा ताहिरले ४ विकेट लिए।
स्कटल्यान्ड, पिएनजी र ओमानबीच जारी त्रिकोणीय सिरिजमा स्कटल्यान्डको यो पहिलो जित हो भने पिएनजीको लगातार दोस्रो हार हो। ओमानले सुरुवाती दुवै खेलमा जित हात पारेको थियो।
चार वर्षपछि भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबारदेखि त्रिकोणीय सिरिज सुरु भएको थियो।
लिग-२ मा नेपालसहित ७ देशबीच त्रिकोणीय सिरिज हुनेछ। ७ वटा एकदिवसीय टिमबीच २१ वटा त्रिकोणीय सिरिज सार्वजनिक हुने आइसिसीले यसअघि नै गरेको थियो।
लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्।
एक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन् भने एक टिमले चार खेल खेल्नेछ। प्रत्येक टिमले साढे २ वर्षको बीचमा ३६ वटा खेल खेल्नेछन्।
नेपालले पहिलो सिरिज घरेलु मैदानमा खेल्नेछ। कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिजमा नेपाल, अमेरिका र ओमानबीच खेल हुनेछ। सो सिरिज आगामी फेब्रुअरीमा हुनेछ।