बेलायतको सामाजिक संस्था तमु धी युकेले नेपालकी कराते स्टार एरिका गुरुङलाई गुडविल एम्बासडर नियुक्त गरेको छ।
सोमबार काठमाडौं आयोजित कार्यक्रममा तमु धी युके र एरिकाबीच सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा तमु धी युकेका उपाध्यक्ष कमल गुरुङ र एरिकाले हस्ताक्षर गरेका थिए।
नेपाली खेलकुदको विकास र विस्तार गर्ने सामाजिक दायित्व अन्तर्गत तमु धी युकेले सम्झौता गरेको हो।
अब तमु धीले एरिका विभिन्न प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल पोशाक उपलब्ध गराउनेछ। यस्तै उपलब्ध गराइने खेल पोशाकमा प्रायोजकको लोगो राखिनेछ।
एरिकालाई विश्व कराते महासंघ तथा एसियन कराते महासंघले आयोजना गर्ने अधिकतम चार आधिकारिक प्रतियोगिता तथा विश्वस्तरीय प्रतियोगितामध्ये कुनै एक प्रतियोगितामा सहभागिता जनाउँदा लाने हवाइ टिकट खर्च तमु धीले व्यहोर्नेछ। साथै प्रत्येक प्रतियोगिताका लागि पाँच सय अमेरिकी डलर समेत उपलब्ध गराउनेछ।

नेपालका लागि एसियाली खेलकुदमा ऐतिहासिक रजक जितेकी एरिकाले त्यसयता विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार पदक जितिरहेकी छन्।
एरिकाले सन् २०२७ सम्ममा १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने कार्यक्रम छ।
