नेपाल भ्रमणमा रहेको विश्वको ऐतिहासिक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्धको तीनदिवसीय खेलको पहिलो इनिङमा नेपालले खराब सुरुवात गरेको छ।
दोस्रो दिन बिहीबार आफ्नो पहिलो इनिङ ब्याटिङ थालेको नेपालले लञ्च ब्रेकअघि ३ विकेट गुमाइसकेको छ।
कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भएका छन् भने राजु रिजाल ८ रन र शरद भेषवाकर ४ रनमै पेभेलियन फर्किएका छन्। आरिफ शेख ५ रन बनाएर खेलिरहेका छन्। नेपालले ८.३ ओभर खेल्दा केवल १८ रन जोडेको छ।
त्यसअघि दोस्रो दिन ३११–६ बाट खेल्न सुरु गरेको एमसिसी पहिलो इनिङमा ३६४ रनमा अलआउट भयो।
एमसिसीका लागि विल रोड्सले सबैभन्दा बढी ७३ रनको योगदान गरे। यस्तै विल वेन्डर्सपरले ५३ रन बटुलेका छन् भने माइल्स हामुदले ५१ रन जोडेका छन्।
दोस्रो दिन ३५ रनबाट ब्याटिङ गरेका यारिस आराफात ६५ रनमा आउट भए। २१ रनबाट खेलेका एलेक्स थमसनले ३० रनको योगदान दिए।
बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले सबै विकेट बिहीबार नै लिएका हुन्। सन्दीप लामिछानेले पनि ३ विकेट हात पार्दा शरद भेषवाकर र सोमपाल कामीले २–२ विकेट हात पारे।
नेपालले प्रथम श्रेणीको क्रिकेट सन् २००५ पछि पहिलो पटक खेलेको हो। १४ वर्षअघि घरेलु मैदानमा यूएईसँग अन्तरमहादेशीय तीनदिवसीय प्रतियोगिता नेपालको पछिल्लो प्रथम श्रेणीको खेल हो ।
सन् २००९ मा पनि नेपालले एमसिसीसँग तीनदिवसीय खेल खेलेको थियो। एमसिसीविरुद्ध नै खेलेको त्यो प्रतियोगितालाई भने प्रथम श्रेणीको मान्यता थिएन।