नेपाली खेलकुदको सबैभन्दा ठूलो फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनामा दुई दिन बाँकी छँदा सम्पूर्ण तयारी पूरा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै २४ दिनसम्म सञ्चालन हुने एनपिएलको दोस्रो संस्करणको तयारी पूरा भएको जनाएको छ।
आठ वटा शहरमा केन्द्रित फ्रेन्चाइज टोलीले कुल ३२ खेल खेल्नेछन्।
क्यानका सचिव पारसले पहिलोपल्ट ऐतिहासिक रूपमा डे नाइट क्रिकेट गर्न लागिएको उल्लेख गर्दै यस आयोजनाका लागि पछिल्लो ६ महिनादेखि क्यानले तयारी गरेको बताएका छन्।
फ्लड लाइटमा खेलाउनका लागि राम्रो म्यानपावर र ब्याकअप पनि तयार गरिएको खड्काले बताए।
यो खेल मात्र नभएर एउटा उद्योग बन्ने क्रममा रहेको क्यानका सचिव पारसको विश्वास छ। यद्यपि यसमा आफूहरू धेरै उत्साहित नहुने उनले उल्लेख गरे। पहिलो दिनको खेलका लागि टिकट सोल्ड आउट भइसकेको उल्लेख गर्दै उनले पहिलो संस्करणमा जस्तो टिकटबाहक बाहेक नआइदिन आग्रह पनि गरेका छन्।
उनले दोस्रो संस्करणका लागि सकेसम्म राम्रो माहोल सिर्जना गर्ने प्रयास गरिएको दाबी गरे। मैदान जतिसक्दा राम्रो बनाउने प्रयास गरिरहेको उल्लेख गरे। पारस खड्काको नेतृत्वमा रहेको नेपाल प्रिमियर लिगको गभर्निङ काउन्सिलमा तीन सदस्य छन्।
दोस्रो संस्करणमा पहिलो संस्करणमा जस्तै शीर्ष तीन स्थानका टोलीले क्रमशः एक करोड १० लाख, ५१ लाख र २५ लाख रुपैयाँ पाउनेछन्।
तर, विधागत पुरस्कारबारे भने क्यानले सार्वजनिक गरेको छैन।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडु गोर्खाजबीच उद्घाटन खेलमा प्रतिस्पर्धा भएसँगै एनपिएलको दोस्रो संस्करण शुरु हुनेछ। –न्युज एजेन्सी नेपाल