धरानका मेयर हर्क साम्पाङ फागुन २१ को प्रतिनिधिसभा चुनाव सुनसरी–१ बाट लड्ने तयारीमा जुटेका छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले आफ्नै नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्।
उक्त पार्टी दर्तापछि मेयर साम्पाङ अब आफै चुनाव लड्छन् कि अरूलाई चुनाव उठाएर समर्थन मात्र गर्छन् भन्ने धेरैको चासोको विषय बनेको छ।
हामीले यसबारे मेयर साम्पाङका निकट सहयोगी तथा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य समिर तामाङसँग कुरा गर्दा उनले सुनसरी–१ बाट साम्पाङ प्रतिनिधिसभा चुनाव लड्ने जानकारी दिए।
राजनीतिक दल खोलेका मेयर साम्पाङ आउँदो प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्ने तयारी छ कि छैन भन्ने सेतोपाटीको प्रश्नमा केन्द्रीय सदस्य तामाङले भने, 'शतप्रतिशत लड्नुहुन्छ। उहाँ त्यसको तयारीमा जुटिसक्नुभएको छ।'
श्रम संस्कृति पार्टीका महासचिव आरएन राईले पनि पार्टी अध्यक्षसमेत रहेका मेयर साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरिरहेको जानकारी दिए।
'उहाँले सुनसरी–१ बाट चुनाव लड्ने तयारी गरिरहनुभएको सत्य हो,' महासचिव राईले भने, 'त्यस बेला परिस्थिति नफेरिए अवश्य लड्नुहुन्छ।'
मेयर साम्पाङको कोर–टिमका सदस्य मानिने केन्द्रीय सदस्य समिर तामाङका अनुसार आउँदो फागुनको निर्वाचनका लागि उनी मेयर पद छाड्न तयार छन्।
'उहाँले उम्मेदवारी दर्ता गर्नुअघि मेयर पदबाट राजीनामा दिनुहुनेछ,' तामाङले भने, 'उहाँसहित हाम्रो पार्टीले देशैभरका सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरिरहेको छ।'
धरानमा लामो समय सामाजिक अभियन्ताका रुपमा सक्रिय मेयर साम्पाङले २०७९ को स्थानीय चुनावमा सफलता पाएका थिए।
त्यस बेला स्वतन्त्र उम्मेदवार साम्पाङ २० हजार ८२१ मत पाएर मेयर पदमा विजयी बन्दा नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मत प्राप्त गर्दै दोस्रो बनेका थिए। नेकपा एमालेकी मञ्जु भण्डारी १२ हजार ८२५ मत पाएर तेस्रो बनेकी थिइन्।
२०७९ मा मेयरमा विजेता बन्नुअघि पनि साम्पाङ धरानको मेयरमा उम्मेदवार बनेका थिए।
२०७६ मा धरानको स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार बनेका बेला उनले ४२२ मत मात्र पाएका थिए।
स्वतन्त्र उम्मेदवार बनेर निर्वाचन जितेपछि उत्साही साम्पाङले श्रमदान अभियान चलाएर धरानमा खानेपानीको स्रोत थपेका थिए। त्यो अभियानले उनलाई थप लोकप्रिय बनाएको थियो। त्यही बेलादेखि आफ्नै दल खोल्ने तयारीमा लागेका उनले जेनजी आन्दोलनपछि भने दल दर्ता नै गराएका हुन्।
मेयर साम्पाङले चुनाव लड्ने तयारी गरिरहेको सुनसरी–१ नम्बर निर्वाचन क्षेत्रमा धरान उपमहानगरका २० वटै वडा, बराह क्षेत्र नगरपालिकाको १ देखि ५ वडा र रामधुनी नगरपालिकाकाका ६ र ७ नम्बर वडा समेटिएका छन्।
२०७९ को प्रतिनिधिसभा चुनावमा सुनसरी–१ बाट जनता समाजवादी पार्टी नेपालका तर्फबाट अशोक राई निर्वाचित भएका थिए। राईलाई एमालेले सहयोग गरेको थियो।
त्यस बेला विजेता बनेका अशोक राईले १७ हजार ५९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ दोस्रो बनेकी थिइन्। तामाङले १६ हजार ६०६ मत र तेस्रो बनेका माओवादीका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेका थिए।
सुनसरी–१ लाई एमालेको पुरानो किल्ला मानिन्छ।
२०४८ मा मनमोहन अधिकारी, २०५१ मा लिला श्रेष्ठ सुब्बा, २०५६ मा कुन्ता शर्माले जितेको सुनसरी–१ मा २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका किरण कुमार राईले जितेका थिए।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका कृष्णकुमार राईले जित्दा यो क्षेत्रबाट २०७४ मा एमालेकै जयकुमार राई निर्वाचित भएका थिए। त्यस बेला उनी माओवादीसहितको वाम गठबन्धनका तर्फबाट उम्मेदवारर बनेका थिए।
२०७९ मा अन्तिम समय जसपाले एमालेसँग चुनावी तालमेल गर्दा नेता अशोक राईका लागि एमालेले यो क्षेत्र छाडेको थियो।