आइसिसी टी-२० विश्वकपमा नेपालको समूहमा रहेको स्कटल्याण्डले इटालीलाई पराजित गरेको छ।
कोलकाताको इडेन गार्डेनमा सोमबार भएको खेलमा स्कटल्याण्ड ७२ रनले विजयी भएको हो।
स्कटल्याण्डले दिएको २०८ रनको लक्ष्य पछ्याउने क्रममा इटाली १६.४ ओभरमै अल आउट हुँदै १३४ रनमा समेटिएको थियो।
इटालीका लागि बेन मनेन्टीले अर्धशतक हाने। उनले ३१ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै ह्यारी मनेन्टीले २५ बलमा १ चौका र ३ छक्का हान्दै ३७ रन बनाए। जेजे स्मतले २२ रन, एन्थोनी मोस्काले १३ रन बनाए।
बलिङतर्फ इटालीका माइकल लिस्कले ४ विकेट लिए। मार्क वाटले २ तथा ब्राड क्युरी, ब्राड ह्वील र ओलिभर डेभिडसनले एक/एक विकेट लिए।
पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४ विकेटको क्षतिमा २०७ रन बनाएको थियो।
स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सीले ८४ रन बनाए। उनले ५४ बलमा १३ चौका र २ छक्का हाने।
ब्रान्डन म्याकमलेनले १८ बलमा ४ छक्का प्रहार गर्दै ४१ रन जोडे। माइकल जोन्सले ३० बलमा १ चौका र २ छक्का प्रहार गरी ३७ रन बनाए। माइकल लिस्कले ५ बलमा २ चौका र २ छक्का प्रहार गरी २२ रन जोडेका थिए।
बलिङतर्फ इटालीका अली हसन, ग्रान्ट स्टिवार्ट, थोमस ड्राका र जेजे स्मतले एक/एक विकेट लिए।
स्कटल्याण्डको यो दोस्रो खेल हो। यसअघि पहिलो खेलमा उ वेस्ट इण्डिजसँग पराजित भएको थियो।
नेपालले वेस्ट इण्डिज, स्कटल्याण्ड र इटालीसँग खेल्न बाँकी छ।