भारतीय राष्ट्रिय क्रिकेट टोलीका ओपनर अभिषेक शर्मा पेटको संक्रमणका कारण दिल्लीको एक अस्पतालमा भर्ना भएका छन्।
यसले गर्दा बिहीबार दिल्लीमा आइसिसी टी-२० विश्वकप २०२८ अन्तर्गत नामिबियाविरुद्ध हुने खेलमा उनी खेल्ने कुरा शंकास्पद बनेको छ। पीटीआईका अनुसार अभिषेक विगत दुई दिनदेखि अस्पतालमा छन्।
बीसीसीआई स्रोतले पीटीआईलाई दिएको जानकारी अनुसार अभिषेकलाई पेटमा समस्या देखिएपछि दिल्लीको एक निजी अस्पतालमा भर्ना गरिएको हो। उनको केही स्वास्थ्य परीक्षणहरू भइरहेका छन्। उनलाई आजै अस्पतालबाट डिस्चार्ज गरिने वा नगरिने अझै पक्का भइसकेको छैन, त्यसैले नामिबियाविरुद्धको खेलमा उनी सहभागी हुने सम्भावना कम देखिएको छ।
अमेरिकाविरुद्धको पहिलो खेलमा अभिषेक शून्य रनमै आउट भएका थिए। मुम्बईमा भएको उक्त खेलको दोस्रो इनिङ्समा उनले फिल्डिङ पनि गरेका थिएनन्।
यदि अभिषेकले खेल्न नसकेमा उनको ठाउँमा सन्जु सामसनले ओपनिङ गर्न सक्नेछन्। न्युजिल्यान्डविरुद्धको सिरिजमा खराब प्रदर्शन गरेपछि सामसनको ठाउँमा इशान किशनलाई टोलीमा प्राथमिकता दिइएको थियो।
मुख्य बलर जस्प्रित बुमराह नामिबियाविरुद्धको खेलमा फर्कने भएका छन्। बिरामी भएका कारण उनले अमेरिकाविरुद्धको पहिलो खेल गुमाएका थिए। मंगलबार दिल्लीमा भएको अभ्यास सत्रमा उनले बलिङ गरेका थिए।
अलराउन्डर वासिङ्टन सुन्दर पनि चोटबाट निको भएर टोलीमा फर्किएका छन्। न्युजिल्यान्डविरुद्धको खेलका क्रममा घाइते भएका उनले मंगलबार नेटमा बलिङ र ब्याटिङ दुवैको अभ्यास गरेका छन्।