आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत बिहीबार समूह ‘सी’ को खेलमा नेपाल र इटालीले प्रतिस्पर्धा गर्दैछन्।
मुम्बईको वानखेडे रंगशालामा नेपालसँग बिहीबार दिउँसो सवा तीन बजे भिड्नुअघि इटालीका कप्तान वायन म्याडसेनले वानखेडे जस्तो ऐतिहासिक रंगशालामा खेल्न पाउनु ठूलो सम्मान भएको बताए।
नेपाली समर्थकहरूको बारेमा उनले भने, ‘भोलिको खेलमा नेपाली समर्थकहरूको ठूलो उपस्थिति हुनेछ। हामी नेपाली समर्थकका अगाडि खेल्न निकै उत्साहित छौँ। हामी यसलाई दबाबको रूपमा होइन, एउटा अवसरको रूपमा लिनेछौँ। खाली रंगशालामा भन्दा हजारौँ दर्शकका अगाडि खेल्नुको मज्जा बेग्लै हुन्छ।’
म्याडसेन घाइते भएका कारण नेपालविरुद्धको खेलमा उपलब्ध हुने छैनन्। उनले आफ्नो चोटबारे भने, ‘मेरो काँधको चोटका कारण म भोलि खेल्न सक्दिनँ। मेरो ठाउँमा उप-कप्तान ह्यारी मानेन्टीले टोलीको कप्तानी गर्नेछन्।’
नेपालले इंग्ल्याण्डलाई कडा टक्कर दिएको खेलबाट आफूहरूले पाठ सिकेको प्रशिक्षक जोन डेभिसनले बताए।
‘टी-२० क्रिकेटमा जुनसुकै टिमले पनि जित्न सक्छ। नेपाल निकै राम्रो टोली हो, तर हामीले पनि अभ्यास खेलमा युएई जस्तो बलियो टोलीलाई हराएका थियौँ। त्यसैले हामी भोलि जितकै लागि मैदान उत्रनेछौँ,’ उनले भने।
प्रशिक्षक डेभिसनले टोलीलाई निडर भएर खेल्न सन्देश दिएका छन्। उनले भने, ‘मैले खेलाडीहरूलाई बहादुर बन्न र डराउनुको सट्टा खुलेर खेल्न भनेको छु। अघिल्लो खेलमा हामीले केही गल्ती गर्यौँ, तर भोलि हामी ती गल्ती सुधार्दै लामो समयसम्म टिकेर खेल्ने प्रयास गर्नेछौँ।"
इटालीका धेरै खेलाडीहरू व्यावसायिक क्रिकेटर मात्र होइनन्। कोही 'उबर' ट्याक्सी चलाउँछन् त कोही पिज्जा पसलमा काम गर्छन्। यसबारे म्याडसेनले भने, ‘हाम्रो लागि विश्वकप खेल्नु नै ठूलो उपलब्धि हो। यो हाम्रो देशमा क्रिकेट विकासको लागि एउटा जग हो। हामी यहाँ केवल खेल्न मात्र आएका होइनौँ, हामी एउटा विरासत छोड्न चाहन्छौँ ताकि इटालीका आगामी पुस्ताले पनि क्रिकेट खेलून्।’
प्रशिक्षक डेभिसनले नेपालको एउटा ठूलो शक्ति भनेको उनीहरू सँगै धेरै खेल्ने गरेको बताए। उनले भने, ‘नेपालको टोली धेरै समय सँगै खेल्छ, जुन उनीहरूको बलियो पक्ष हो। हाम्रा खेलाडीहरू भने कोही इंग्ल्याण्ड त कोही अष्ट्रेलियामा हुन्छन्। तर, भोलिको खेलमा जसले कन्डिसनसँग छिटो घुलमिल हुन सक्छ, उसैले जित्नेछ।’