आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ।
समूह ‘सी’ नेपालले इटालीसँग बिहीबार १० विकेटको नमिठो हार खेप्न पर्यो। यो नेपालले टी-२० विश्वकपमा भोगेको सबैभन्दा ठूलो हार हो।
यसअघि नेपाललाई पहिलो खेलमा इंग्ल्यान्डले चार रनले हराएको थियो। नेपालले आज पहिलो पटक विश्वकपमा सहभागी भएको इटालीलाई हराउने अपेक्षा गरिएको थियो। तर त्यसो हुन सकेन। नेपालमाथि इटाली पूरै हाबी भयो।
यो पनि : मोस्का दाजु-भाइ चम्किँदा नेपालमाथि इटालीको ऐतिहासिक जित
खेलपछि नेपालका कप्तान रोहितकुमार पौडेलले इटालीले राम्रो खेलेको भन्दै प्रशंसा गरे।
उनले भने, ‘आज इटालीले राम्रो खेलेर जित्यो। विशेषगरी ब्याटिङमा हामीले धेरै कमजोरी देखायौं। सुरुमा ब्याटिङ गर्न निकै गाह्रो थियो, तर पनि १२३ रन त लज्जाको विषय होइन। हामीले ६०-७० रनमा नै अल आउट हुने अवस्था आएको थियो, जुन हाम्रो खराब ब्याटिङकै कारण भयो। यसलाई कुनै बहाना बनाउन मिल्दैन। हामीले पिच र कन्डिसनलाई सम्मान गर्न सकेनौं,’ रोहितले खेलपछिको पोस्ट म्याच प्रिजेन्टेसनमा भने।
उनले सुरुमा खेल्न गाह्रो भएको र नेपाली ब्याटरले हतारमा खेलेको पनि बताए।
उनले भने, ‘सुरुमा गाह्रो थियो र हामीले केही हतारो/रिस्की शट खेल्यौं। मेरो विकेट नै खेलको टर्निङ प्वाइन्ट भयो। मैले र आसिफले राम्रो साझेदारी गर्यौं, पावरप्लेमा राम्रो खेल्यौं, तर म आउट भएपछि सबै कुरा बदलियो। त्यसपछि हामीले राम्रो गर्न सक्थ्यौं। यो खेल हाम्रो लागि त्यति कठिन थिएन। यस्तो अवस्थामा धेरै खेल खेलिसकेका छौं र हाम्रा खेलाडी अनुभवी छन्। टिमको रूपमा हामी सुधारिँदै छौं। इंग्ल्यान्डविरुद्ध राम्रो खेलेर उच्च स्तर देखाएपछि आज यस्तो नतिजा आउनु निराशाजनक भयो। हामी जस्तो टिमले लगातार राम्रो गर्नुपर्छ। आज हामीले आफूलाई प्रमाणित गर्ने दिन थियो, तर त्यसो गर्न सकेनौं। तर इटालीलाई पनि क्रेडिट दिनुपर्छ। उनीहरूले आज साँच्चै राम्रो खेले। उनीहरूलाई पूर्ण श्रेय दिन्छु।’