नेपालले आइसिसी टी-२० विश्वकप २०२६ मा इटालीसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको छ।
मुम्बईको प्रसिद्ध वानखेडे रंगशालामा समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रन अलआउट भयो। इटालीले १२.४ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो र टी-२० विश्वकपमा आफ्नो पहिलो जित दर्ता गरायो।
नेपालको इनिङ्समा आरिफ शेखले सर्वाधिक २७ रन बनाए। कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २० र दीपेन्द्र सिंह ऐरीले १७ रन जोडे। करण केसीले नटआउट १८ रन जोड्दा अन्य ब्याटरहरूले दोहोरो अंक पनि छुन सकेनन्।
इटालीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। क्रिशन कालुगामेजले ३ विकेट लिए भने बेन मानेन्टीले २ विकेट हात पारे। इटालीका स्पिनरहरूले मध्य ओभरमा राम्रोसँग पिचको फाइदा उठाए र नेपाललाई दबाबमा राखे।
नेपालले पावरप्लेमा राम्रो सुरुवात गर्न सकेन र छिट्टै २ विकेट गुमायो। रोहित र आसिफले केही साझेदारी गरे। दीपेन्द्र र आरिफ शेखको ४४ रनको जोडे पनि नेपालका लागि बलियो स्कोर बनाउन ढिलो भइसकेको थियो।
पोस्ट-म्याच प्रेस कन्फरेन्समा आरिफ शेखले भने, ‘अघिल्लो खेलमा इंग्ल्यान्डविरुद्ध हामीले राम्रो क्रिकेट खेलेका थियौं, तर आज ब्याटिङमा हामी चुक्यौ। पावरप्लेमा छिट्टै विकेट गुमायौं र मध्य ओभरमा पनि २-३ विकेट छिट्टै खसे। १८० रनको विकेटमा हामीले त्यति रन बनाउन सकेनौं।’
उनले थपे, ‘म र दीपेन्द्र ब्याटिङ गर्दा प्रति ओभर ८-९ रन बनाउने योजना थियो र हामीले त्यसै गर्यौं। तर दीपेन्द्र आउट भएपछि हामी कोल्याप्स भयौ। इटालीका बलरले राम्रोसँग कन्डिसन प्रयोग गरे।’
आरिफले फ्यानहरूलाई सम्बोधन गर्दै भने, ‘हार्दा दुःख लाग्छ, तर हाम्रा फ्यानहरू हामीलाई समर्थन गर्न आएका छन्, यो हाम्रो लागि सबैभन्दा राम्रो कुरा हो। हामी दबाबमा खेल्दैनौं। अर्को खेलमा वेस्ट इन्डिजविरुद्ध राम्रो गर्नेछौं।’
यो हारले नेपालको सुपर ८ यात्रालाई कठिन बनाएको छ। इटालीका लागि यो ऐतिहासिक जित हो, जसमा मोस्का ब्रदर्स (एन्थोनी र जस्टिन) ले अर्धशतक प्रहार गर्दै लक्ष्य पूरा गरे। नेपालले अब अर्को खेल वेस्ट इन्डिज राम्रो प्रदर्शन गर्नुपर्ने दबाब छ। नेपालले आइतबार वानखेडेमै वेस्ट इन्डिजसँग खेल्न लागेको हो।