आइसिसी टी-२० विश्वकप क्रिकेटमा आज नेपालले निर्णायक खेल खेल्दैछ।
समूह सीमा रहेर लगातार दुई खेलमा हार ब्यहोरिसकेको नेपालले आइतबार वानखेडेमा निर्णायक खेल खेल्न लागेको हो।
तेस्रो खेलमा नेपालको प्रतिद्वन्द्वी वेस्ट इण्डिज छ।
नेपालले आजको खेल ठूलो अन्तरले जित्न सके सुपर-८ सम्भावना जीवितै रहनेछ। खेल बिहान सवा ११ बजेदेखि सुरू हुनेछ।
नेपाल भने ‘गर या मर’ को स्थितिमा छ।
अघि बढ्नका लागि नेपाललाई वेस्ट इन्डिजविरूद्ध जितको विकल्प छैन। सुपर-८ मा पुग्न वेस्ट इन्डिज मात्र होइन स्टकल्यान्डससँग पनि नेपालले हार्ने छुट छैन। एक हारले नेपालको विश्वकप यात्रा टुंगिन्छ।
वेस्ट इन्डिज अहिले उत्कृष्ट लयमा छ। शारीरिक शक्ति र रणनीतिक सन्तुलन दुवै मिल्नु वेस्ट इनडिजको राम्रो पक्ष हो। शिमरन हेटमायरको आक्रामक शैली गजबको देखिएको छ। इंग्ल्यान्डविरुद्ध शेर्फान रदरफोर्डले प्रहार गरेको नटआउट ७४ रनले नेपाली बलरहरूलाई चुनौती दिने निश्चित छ। वेस्ट इन्डिजसँग रोभम्यान पावेल र जेसन होल्डर जस्ता ठूला सट खेल्न सक्ने ब्याटर छन्।
वेस्ट इन्डिजको ब्यटिङ मात्र होइन बलिङ पनि उत्तिकै घातक छ। अकिल हुसेन, गुडाकेश मोती र रोस्टन चेसको स्पिनले इंग्ल्याण्डलाई निकै समस्यामा पारेको थियो। वानखेडेको बिहानी खेलमा यो स्पिन जोडी फेरि पनि निर्णायक हुन सक्छ।
तीव्र गतिका बलर शेमार जोसेफसँगै रोमरियो शेफर्ड (जसले यसै प्रतियोगितामा ह्याट्रिक र ५ विकेट लिइसकेका छन्) नेपालका लागि खतरा हुन्। यी बलरविरूद्ध नेपाली ब्याटर कसरी खेल्छन् त्यो नै नेपालको नजितालाई असर गर्नेछ।
इटालीसँगको १० विकेटको नमीठो हारपछि अहिले नेपाल दबाबमा छ। अंकबिहीन नेपालको 'नेट रन रेट' मा ठूलो धक्का पुर्याएको छ।
अब वेस्ट इन्डिजविरूद्ध उत्कृष्ट खेल्न नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडी चल्न जरुरी छ। कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले मध्यक्रम सम्हाल्नुपर्नेछ भने अन्त्यमा लोकेश बमसँगै गुलशन झा र करण केसीको विष्फोटक ब्याटिङको खाँचो छ।
बलिङमा नेपालको सबैभन्दा ठूलो भरोसा सन्दीप लामिछाने नै हुन्। उनलाई नन्दन यादवको गति र ललित राजवंशी स्पिनले साथ दिनु पर्नेछ। ललितको स्थानमा शेर मल्ललाई ल्याएर रणनीति बदल्न सकिनेछ।
गत सेप्टेम्बरमा युएईको शारजाहमा वेस्ट इन्डिजको दोस्रो रोजाइको टोलीलाई नेपालले टी-२० सिरिजमा २-१ ले हराएको थियो। त्यसले नेपाली टोलीलाई आत्मविश्वास दिए पनि सो टोलीका दुई खेलाडी मात्र अहिले विश्वकप टोलीमा छन्।
त्यतिबेला युवा खेलाडीलाई मौका दिएको वेस्ट इन्डिजमा अहिले अनुभवी खेलाडी छन्। त्यतिबेला खेलेका अकिल हुसेन र जेसन होल्डर मात्र अहिले विश्वकप खेलिरहेका छन्।
विश्वकपमा कुनै पनि टोलीलाई पुरान इतिहास र रेकर्डले कुनै अर्थ राख्दैनन्। मैदानमा उत्कृष्ट खेल र विपक्षीलाई दबाबमा राख्नुपर्छ।