भारतीय टी-२० क्रिकेट टोलीको कप्तानीमा परिवर्तन हुने भएको छ। स्टार ब्याटर सूर्यकुमार यादवको ठाउँमा अब श्रेयस अय्यरले भारतीय टी-२० टोलीको नेतृत्व गर्ने निश्चित भएको छ।
गत मार्चमा सूर्यकुमारकै कप्तानीमा भारतले टी-२० विश्वकपको उपाधि जितेको थियो। तर, त्यसयता उनको ब्याटिङ फर्म निकै खराब रहेकाले छनोटकर्ताले यो कठोर निर्णय लिएका हुन्। सन् २०२८ मा हुने 'लस एन्जलस ओलम्पिक' र सोही वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने टी-२० विश्वकपलाई लक्षित गर्दै भारतीय टोलीमा युवा र जोसिला खेलाडीहरूलाई प्राथमिकता दिन लागिएको हो।
३५ वर्षीय सूर्यकुमारलाई कप्तानीबाट मात्र नभई टोलीबाटै हटाउने तयारी भइरहेको छ। सन् २०२६ को टी-२० विश्वकप र त्यसपछिको आईपीएलमा उनको प्रदर्शन सन्तोषजनक थिएन। अर्कोतर्फ, ३१ वर्षीय श्रेयस अय्यरले आईपीएलमा कोलकाता नाइट राइडर्सलाई च्याम्पियन बनाएर आफ्नो कप्तानी क्षमता प्रमाणित गरिसकेका छन्। उनले दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सलाई पनि फाइनलसम्म पुर्याएका थिए।
यो टोलीमा १५ वर्षका अद्भुत खेलाडी वैभव सूर्यवंशीले पहिलो पटक स्थान पाउने भएका छन्। सन् १९८० को दशकमा सचिन तेन्दुलकर पछि भारतीय टोलीमा छानिने उनी सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। आईपीएलमा विष्फोटक ब्याटिङ गर्दै उनले ७७६ रन बनाएका थिए।
गत वर्ष पनि यस्तै भएको थियो। सन् २०२५ मा रोहित शर्माले भारतलाई च्याम्पियन्स ट्रफी जिताएका थिए, तर त्यसको केही समयमै उनलाई एकदिवसीय कप्तानीबाट हटाइएको थियो। अहिले सूर्यकुमारको हकमा पनि त्यस्तै भएको छ।
आयरल्याण्ड र इङ्गल्याण्ड भ्रमणका लागि भारतीय टोलीको घोषणा शनिबार हुनेछ। आयरल्याण्ड भ्रमणमा जुन २६ र २८ मा दुईवटा टी-२० खेल हुनेछ। त्यसपछि इङ्गल्याण्ड भ्रमणमा जुलाई १ देखि ११ सम्म पाँचवटा टी-२० खेल हुने तय छ।