काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगितामा डीएभी सुशील केडिया विश्व भारती स्कुल र सैनिक आवासीय महाविद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन्।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा शनिबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा डीएभीले केएमसी स्कुललाई ९४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो। टोलीका लागि आरुष झाले ४६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५९ रन बनाए। कमल शाहीले ४१ तथा प्रसिद्ध जैशीले १८ बलमा २६ रनको योगदान दिए।
केएमसीका श्रीजल भट्टले २ तथा अमितकुमार दासले १ विकेट लिए।
१५८ रनको लक्ष्य पछ्याएको केएमसी १३.२ ओभरमा ६३ रनमा समेटियो। अमितकुमार दासले १५ तथा विधान सापकोटाले ११ रन बनाए पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन्।
डीएभीका कुञ्जन आचार्यले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ६ विकेट लिए। केशव अग्रवाल, तनिष शाह, प्रसिद्ध जैशी र कमल शाहीले समान १–१ विकेट हात पारे। कुञ्जन आचार्य ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।
यस्तै शनिबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा सैनिक आवासीय महाविद्यालयले अपी स्कुललाई १ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको अपी स्कुल १९.२ ओभरमा ८३ रनमा अलआउट भयो। अपीका युगान्त कार्कीले सर्वाधिक ३४ रन बनाए भने कुसुम प्रसालले १२ रन जोडे। सैनिक आवासीयका आभाष केसीले ३ तथा सफल पौडेलले २ विकेट लिए।
८४ रनको लक्ष्य पछ्याएको सैनिक आवासीयले निकै रोमाञ्चक खेलमा १९.५ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। सुशान्त नेपालले २४ तथा आभाष केसीले अविजित २० रन बनाए। अन्तिम समयमा शुभव बिष्टले ३ बलमा अविजित ९ रन जोड्दै टोलीलाई रोमाञ्चक जित दिलाए।
अपीका एकेन्द्र बुढाले ३ तथा सृजल कार्कीले २ विकेट लिए। आभाष केसी ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।
डीएभीले अब सेमिफाइनलमा मोक्षदा स्कुल र जेम्स स्कुलबीचकाे विजेतासँग साेमबार खेल्नेछ। यस्तै, सैनिकले नेपाल पुलिस स्कुल र रत्नराज्य माध्यमिक विद्यालयबीचकाे विजेतासँग खेल्नेछ।
आगामी जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि रहेको छ भने सह–प्रायोजकमा ई–सेवा रहेको छ। एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्। साथै विभिन्न बैंक, शैक्षिक संस्था तथा व्यावसायिक प्रतिष्ठानहरूले प्रतियोगिता सञ्चालनमा सहयोग पुर्याएका छन्।
प्रतियोगिता सम्पन्न गर्न सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, डार्क फ्यान्टासी चोको रोल्स, आयुष इन्टरनेशनल ओभरसिज सर्भिसेज प्रा.लि, पिक पोइन्ट एकेडेमी, ग्यालेक्सी पब्लिक स्कूल, गरिमा विकास बैंक लिमिटेड, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, डीएभी स्कूल, यती एयरलाइन्स, लकर रुम, हिमालयन बैंक लिमिटेड, एक्स्ट्रिम इनर्जी ड्रिंक,पाईलट पेन, होप हस्पिटल र लोकल थकालीको सहयोग रहेको आयोजकले जनाएको छ।