नेपाल एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा पुगेको छ।
आइतबार बिहान ओमानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो।
सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो।
ओपनर कुशल भूर्तेल ८ बल खेलेर २० रन बनाउँदै आउट भएका थिए। उनले ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर आशिफ शेख १ रनमै आउट भएपछि कप्तान रोहित पौडेल र लोकेश बमले खेललाई जिततर्फ डोहोर्याएका थिए।
कप्तान रोहितले २० बल खेलेर २१ रन बनाए। उनले २ चौका प्रहार गरे।
त्यस्तै लोकेसले २६ बलम ४४ रन बनाए। उनले ७ चौका र १ छक्का प्रहार गरे।
बलिङतर्फ ओमानका समीर ओठम्यानले २ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको ओमानलाई नेपालले १९.४ ओभरमा अल आउट गर्दै ९४ रनमा रोकेको थियो।
त्यस क्रममा करण केसीले ३ र सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए। शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए।
नेपालको कसिलो बलिङमा कप्तान शुफ्यान मेहमुदले ३८ रन बनाए। जुबेर अल बलुसीले २२ रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालले हङकङ र मलेसियाबीचको विजेतासँग मंगलबार फाइनल खेल्नेछ।