सन् २०२६ मा जापानमा हुने एसियन गेम्सका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ।
यस पटक भारतले आफ्नो मुख्य टोली नै मैदानमा उतार्ने भएको छ, जसमा स्टार बलर जसप्रित बुमराहको पनि पुनरागमन भएको छ। आगामी सन् २०२७ को एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै आयरल्याण्ड र इंग्ल्याण्ड भ्रमणमा आराम दिइएका बुमराहलाई एसियन गेम्सका लागि भने १५ सदस्यीय टोलीमा समावेश गरिएको छ।
बुमराहले मोहम्मद सिराजको स्थान लिनेछन्। टोलीको कप्तानी नयाँ नियुक्त कप्तान श्रेयस अय्यरले गर्नेछन् भने तिलक वर्मा उपकप्तान रहनेछन्। यस पटकको टोलीमा १५ वर्षका उदीयमान खेलाडी वैभव सूर्यवंशीले सबैको ध्यान खिचेका छन्। उनीसँगै अभिषेक शर्मा, सन्जु सामसन र इशान किशन जस्ता ब्याटरहरू पनि टोलीमा छन्।
जापानको आइचीमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म चल्ने यस प्रतियोगितामा छनोट चरण पार गरेर नेपालले पनि सहभागिता जनाउँदैछ। नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, जापान, मलेसिया, हङकङ र ओमान गरी १० टोलीहरू स्वर्ण पदकका लागि भिड्नेछन्।
पुरुष क्रिकेट प्रतियोगिता टी-२० फर्म्याटमा खेलिनेछ। यो सेप्टेम्बर २४ बाट सुरु भएर अक्टोबर ३ मा फाइनल हुनेछ। यसअघि सन् २०२३ मा चीनमा भएको एसियन गेम्समा पनि भारतले स्वर्ण पदक जितेको थियो। त्यतिबेला वर्षाले फाइनल खेल प्रभावित भएपछि राम्रो र्याङ्किङका आधारमा भारतलाई विजयी घोषित गरिएको थियो।
त्यस्तै, महिला क्रिकेटतर्फको खेल सेप्टेम्बर १७ देखि २२ सम्म हुनेछ, जसमा नेपालसहित ८ टोलीहरू सहभागी हुनेछन्।
भारतीय टोली:
श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), सन्जु सामसन, अभिषेक शर्मा, इशान किशन, शिवम दुबे, अक्षर पटेल, वासिङ्टन सुन्दर, नितिश कुमार रेड्डी, वरुण चक्रवर्ती, रवि बिश्नोई, हर्षित राना, अर्शदीप सिंह, वैभव सूर्यवंशी र जसप्रित बुमराह।