अहिले विश्व खेलकुद ठप्प छ। कोरोनाभाइरसको संक्रमण संसारभर फैलिरहदा खेलकुदका प्रतियोगिता ठप्प भएका हुन्।
यसबाट फुटबल प्रभावित नहुने कुरै भएन। संसारको सबैभन्दा लोकप्रिय फुटबल लिग इंग्लिस प्रिमियर लिगसहित युरोपका प्राय: लिगहरु अहिले स्थगित छन्।
संसारबाट लिग ठप्प भइरहेका बेला बेलारुसमा भने फुटबल लिग संचालन भइरहेको छ। अरु बेला खासै चर्चामा नआउने बेलारुसले अहिले लिग गरिरहदा चर्चा बटुलेको छ।
गत शनिबार बेलारुसमा माथिल्लो डिभिजनका ६ वटा खेल भएका थिए। पूर्वी युरोपियन देश बेलारुसमा शनिबार एफसी मिन्स्क र डाइनामो मिन्स्कबीचको डर्बी भिडन्त हेर्न राजधानीको रंगशालामा ३ हजार दर्शक आएका थिए।
खेलमा एफसी मिन्स्क ३-२ ले विजयी भएको थियो।
बेलारुसमा अहिलेसम्म कोरोनाबाट सय जना भन्दा कम मानिस संक्रमित भएका छन् भने कसैको मृत्यु भएको छैन।
युरोपका देश कोरानाबाट आक्रान्त भइरहेको बेला बेलारुसका राष्ट्रपति ढुक्क देखिएका छन्। उनले आफ्ना नागरिकलाई कोरनाबाट बच्न भोड्का खान भनिरहेका छन्।
बोलारुस फुटबल महासंघले भने खेलअघि सुरक्षा जाँच गरिएको र कोरानाको परिक्षण गरिएको बताएको छ। महासंघले खेलकुद मन्त्रालयको अनुमतिमा खेल संचालन गरिएको जनाएको छ।