सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
बुधबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलमा अग्रता भने शेर्पाले लियो। खेलको दोस्रो मिनेटमै विश्वास श्रेष्ठले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए।
उनले डिबक्स बाहिरबाट सेकेन्डबार च्याप्दै हानेको प्रहारलाई पुलिसका गोलकिपरले ठम्याउन सकेनन्।
खेलको ६० मिनेटमा पुलिसले बराबरी गोल फर्काउन सफल भयो। पुलिसका लागि सुमन लामाले गोल गरे।
रविशंकर पासवानले उपलब्ध गराएको क्रसमा सुमनले हेडमार्फत बललाई जाली चुमाएका थिए।
जारी लिगमा शेर्पा अझै जितविहीन छ। शेर्पाले यसअघि दुई मध्ये एक खेलमा हार र एक खेलमा बराबरी खेलेको थियो।
यता पुलिसको भने यो दोस्रो बराबरी हो। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलको पुलिसले अघिल्लो खेलमा जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो।