अहिलेसम्म सञ्चालनमा रहेकामध्ये ११ वटा जीवन र निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरिसकेका छन्।
यसमध्ये तीन कम्पनीको लाभांश दर २० प्रतिशत माथि छ।
सन नेपाल लाइफ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सले उच्च दरमा लाभांश प्रस्ताव गरेका हुन्।
सन नेपाल लाइफले पाँच प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांशसहित कुल २०.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत नगद लाभांश दिने भएको छ। नेपाल लाइफले ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांशसहित कुल २१.०५ प्रतिशत दिँदैछ।
बीमा कम्पनीहरूमा धेरैको चुक्ता पुँजी नियामक बीमा प्राधिकरणले तोकेसरह पुगेकाले पनि अहिले धेरै कम्पनीले नगद लाभांश दिइरहेका छन्।
त्यसो त बजारमा नगद लाभांश ठिक कि बोनस सेयर भन्ने बहस धेरै अघिदेखि चलिरहेकै छ।
बोनस सेयर लगायतका आधारमा कम्पनीहरूको चुक्ता पुँजी बढ्दै जाने र त्यही अनुपातमा कम्पनीले कमाइ गर्न नसक्दा कम्पनी मात्र ठूलो हुने तर प्रतिफल दिन नसक्ने अवस्थामा पुगिरहेको भन्दै धेरै लगानीकर्ताले चासो देखाउँछन्।
तर बजारमा बोनस सेयर पाउँदा आफूसँग रहेको सेयर संख्या बढ्ने र बजारमा मूल्य बढ्दा नगद लाभांशभन्दा धेरै फाइदा हुने भएकाले यसमै जोड दिने लगानीकर्ता पनि छन्।
यसमा आ–आफ्ना विश्लेषण हुन सक्छन्।
हामीले यहाँ उच्च लाभांश दिएकामध्ये बोनस र नगद लाभांशको सन्तुलन मिलाएका दुई कम्पनीको चर्चा गरेका छौं।
नेपाल लाइफले बोनस सहित कुल २१.०५ प्रतिशत दिँदैछ। आगामी आइतबारसम्म सेयर स्वामित्व हुनेले कम्पनीले दिने लाभांश प्राप्त गर्नेछन्। कम्पनीले सोमबारका लागि बुक क्लोज मिति तोकेको छ।
जीवन बीमा कम्पनीमा लघु बीमाबाहेक सबभन्दा धेरै मूल्य हुने दोस्रो कम्पनी नै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हो।
कम्पनीको प्रतिकित्ता सेयर मूल्य ८२२ रूपैयाँ छ। सबैभन्दा धेरै मूल्य (९१८ रूपैयाँ) लाइफ इन्स्योरेन्स कर्पोरेसनको छ।
नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो त्रैमास (साउनदेखि असोज) सम्ममा नाफा अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा ४.९४ प्रतिशतले बढेको छ।
अघिल्लो पटक २० करोड ५४ लाख नाफा कमाएको कम्पनीले यस वर्ष २१ करोड ५५ लाख नाफा कमाएको हो। नाफा रकमका आधारमा यो कम्पनी तेस्रो स्थानमा छ।
पहिलोमा २५ करोड ८५ लाख रूपैयाँ नाफासहित रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र २३ करोड ९२ लाख रूपैयाँ सहित सन नेपाल लाइफ दोस्रो स्थानमा छ।
कुल आम्दानीको वृद्धिदरको आधारमा केही स्थान तल भए पनि नेपाल लाइफको कुल आम्दानी सबभन्दा धेरै छ। यो अवधिमा कम्पनीको कुल आम्दानी १८ अर्ब ३६ करोड रूपैयाँ छ।
यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रूपैयाँ ५५ पैसा, प्रतिसेयर नेटवर्थ १३८ रूपैयाँ १४ पैसा छ।
कम्पनीको पछिल्लो समय पनि व्यवसाय बढिरहेको देखिन्छ। गत असोज महिनाको तुलनामा नेपाल लाइफको कुल बीमा शुल्क आर्जन २६.४२ प्रतिशतले बढेर १७ अर्ब रूपैयाँ पुगेको छ। असोजमा यस्तो आर्जन १३ अर्ब ४५ करोड रूपैयाँ थियो।
यस्तो शुल्क आर्जनको आधारमा भने कम्पनी नवौं स्थानमा छ। केही कम्पनीको ३५ प्रतिशतसम्म यस्तो आर्जन बढेको छ। रकमका आधारमा भने अहिले पनि नेपाल लाइफ कम्पनी अग्रस्थानमा छ।
त्यस्तै, उच्च लाभांश घोषणा गरेको सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर बजारमा ५१५ रूपैयाँमा कारोबार भइरहेको छ।
कम्पनीको चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो त्रैमास (साउनदेखि असोज) सम्ममा नाफा अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा ४४.०२ प्रतिशतले बढेको छ।
अघिल्लो पटक १६ करोड ६१ लाख नाफा कमाएको कम्पनीले यस वर्ष २३ करोड ९२ लाख रूपैयाँ नाफा कमाएको छ। नाफा रकमका आधारमा यो कम्पनी दोस्रो स्थानमा छ।
कुल आम्दानीको वृद्धिदरको आधारमा भने कम्पनी अन्तिम १४ मा छ। यो अवधिमा कम्पनीको कुल आम्दानी २१ प्रतिशतले घटेर एक अर्ब दुई करोड रूपैयाँ भएको छ।
यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रूपैयाँ ८९ पैसा छ।
कम्पनीको पछिल्लो समय व्यवसाय पनि बढिरहेको देखिन्छ। गत असोज महिनाको तुलनामा सन नेपाल लाइफको कुल बीमा शुल्क आर्जन सबैभन्दा धेरै, ३५.८७ प्रतिशतले बढेर एक अर्ब ३० करोड रूपैयाँ पुगेको छ। असोजमा यस्तो आर्जन ९५ करोड रूपैयाँ थियो।
यस्तो शुल्क आर्जनको आधारमा भने कम्पनी सबैभन्दा तल १४ औं स्थानमा छ।
कति दिँदैछन् बीमा कम्पनीहरूले लाभांश दर, प्रतिशतमा
|
कम्पनी
|
बोनस लाभांश
(प्रतिशतमा)
|
नगद लाभांश
(प्रतिशतमा)
|
बुक क्लोज
|
|
नेपाल लाइफ
|
५
|
१६.०५
|
|
|
नेशनल लाइफ
|
४
|
८.५
|
पुस ७
|
|
सिटिजन्स लाइफ
|
०
|
२०
|
पुस ८
|
|
सन नेपाल लाइफ
|
५
|
१५.२६
|
|
|
नेपाल इन्स्योरेन्स
|
०
|
६.३१
|
|
|
शिखर इन्स्योरेन्स
|
६
|
०.३१
|
|
|
सगरमाथा लुम्बिनी
|
०
|
१५
|
|
|
सानिमा रिलायन्स लाइफ
|
०
|
१०.१७
|
|
|
आइएमई लाइफ
|
०
|
१०.५२
|
|
|
सिद्धार्थ प्रिमियर
|
०
|
२५
|
|
|
आइजिआई प्रुडेन्सियल
|
०
|
|
|