स्पेनिस फुटबल क्लब टेनेरिफेका स्ट्राइकर जेसस डे मिगुएलको ३० वर्षको उमेरमा निधन भएको छ।
सोमबार खेलका क्रममा विपक्षी टोलीका गोलरक्षकसँग ठोक्किएर गम्भीर घाइते भएका उनको मंगलबार बिहान मृत्यु भएको हो।
स्पेनको दोस्रो डिभिजन अन्तर्गत टेनेरिफे र एन्डोराबीचको खेलका क्रममा इन्जुरी समयको अन्तिमतिर डे मिगुएल विपक्षी गोलरक्षक जेसस ओवोनोसँग ठोक्किएका थिए।
खेलको स्कोर २–२ को अवस्थामा डे मिगुएल बल लिएर गोलतर्फ अघि बढिरहेका थिए। उनलाई रोक्न अगाडि बढेका एन्डोराका गोलरक्षक ओवोनोको छातीमा जोडदार ठक्कर लागेपछि डे मिगुएल मैदानमै ढलेका थिए।
ठक्करपछि उनलाई हृदयघात भएको थियो। मैदानमै तत्काल उपचार गरिए पनि अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगिएको थियो। घटनापछि खेल स्थगित गरिएको थियो।
टेनेरिफेले सुरुमा डे मिगुएलको अवस्था गम्भीर रहे पनि स्थिर रहेको जनाएको थियो। उनलाई सान्ता क्रुजस्थित युनिभर्सिटारियो डे नुएस्ट्रा सेनोरा डे ला क्यान्डेलारिया अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो।
तर मंगलबार बिहान उनको स्नायुसम्बन्धी अवस्था थप बिग्रिएको क्लबले जनाएको थियो। अन्ततः मंगलबार बिहान ८ बजे उनको निधन भएको क्लबले आधिकारिक रूपमा पुष्टि गर्यो।
क्लबले विज्ञप्ति जारी गर्दै डे मिगुएलको निधनले आफूहरू स्तब्ध र मर्माहत भएको जनाएको छ।
'हृदय भारी भएको छ। घाँटीमा गाँठो परेको छ। यो सत्य हो भनेर विश्वास गर्न समेत सकिरहेका छैनौं। जेसस डे मिगुएल अलामेडाको दुःखद निधन भएको घोषणा गर्नुपर्दा हामी अत्यन्तै मर्माहत छौं,' क्लबले भनेको छ।
क्लबले शोकको यस घडीमा उनको परिवार, आफन्त र सम्पूर्ण टेनेरिफे फुटबल समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
डे मिगुएलको परिवारले आफूहरूप्रति व्यक्त गरिएका समवेदनाप्रति आभार व्यक्त गर्दै यस कठिन समयमा आफ्नो गोपनीयताको सम्मान गरिदिन सबैसँग आग्रह गरेको छ।
स्पेनिस फुटबलर्स एसोसिएसन (एएफई) ले पनि उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। एसोसिएसनले डे मिगुएललाई फुटबलप्रतिको समर्पण र खेलाडीहरूको अधिकारका लागि गरेको योगदानका कारण सधैं सम्झिरहने जनाएको छ।
त्यस्तै एन्डोरा क्लबले पनि विज्ञप्ति जारी गर्दै डे मिगुएलको परिवार, साथीभाइ, सहकर्मी र टेनेरिफेप्रति समवेदना व्यक्त गरेको छ।
घटनापछि मैदानमा उपस्थित दुवै टोलीका खेलाडीहरू स्तब्ध देखिएका थिए। डे मिगुएल अचेत अवस्थामा मैदानमा लडेपछि गोलरक्षक ओवोनो स्वयं पनि उनको सहयोगका लागि तत्काल पुगेका थिए। घटनामा ओवोनोलाई सोझै रातो कार्ड देखाइएको थियो।
डे मिगुएलले सन् २०१५ मा लेगानेस बीबाट व्यावसायिक फुटबलमा डेब्यु गरेका थिए। सन् २०२५ मा टेनेरिफेसँग तीन वर्षको सम्झौता गरेका उनले टोलीलाई दोस्रो डिभिजनमा फर्काउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
उनले टेनेरिफेका लागि २९ खेलमा ११ गोल गरेका थिए।
३० वर्षको उमेरमै मैदानमा भएको दुर्घटनापछि उनको निधन भएपछि स्पेनिस फुटबल जगत् शोकमा डुबेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)