विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। पोर्चुगलका लागि २३ वर्ष लामो यात्रा पूरा गर्दै ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट बिदा लिने निर्णय सार्वजनिक गरेका हुन्।
रोनाल्डोले इन्स्टाग्राममा लामो भिडियो पोस्ट गर्दै समर्थकका नाममा भावुक सन्देश पढेर सुनाएका छन्। उनले पोर्चुगलको प्रतिष्ठित सात नम्बरको जर्सी अब अर्को पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन्।
‘आज हाम्रो राष्ट्रिय टोलीको सात नम्बरको जर्सी फिर्ता गर्ने दिन आएको छ। यो जर्सी कहिल्यै मेरो मात्र थिएन। तर २३ वर्षसम्म यसलाई लगाउने सौभाग्य र जिम्मेवारी मैले पाएँ,’ रोनाल्डोले भनेका छन्।
पोर्चुगलका लागि रोनाल्डोले २४३ अन्तर्राष्ट्रिय खेल खेल्दै कीर्तिमानी १४६ गोल गरेका छन्। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन्। उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरो) को उपाधि जितेको थियो। यस्तै, पोर्चुगलले उनको नेतृत्वमा दुईपटक यूईएफए नेसन्स लिगको उपाधिसमेत जितेको थियो।
सन् २००३ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले दुई दशकभन्दा लामो समय पोर्चुगलको आक्रमण सम्हाले। यस अवधिमा उनले थुप्रै कीर्तिमान बनाए भने विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान स्थापित गरे।
संन्यासको घोषणा गर्दै रोनाल्डोले राष्ट्रिय टोलीका सहकर्मी, प्रशिक्षक, परिवार तथा विश्वभर रहेका पोर्चुगिज समर्थकलाई धन्यवाद दिएका छन्।
‘आज म राष्ट्रिय टोलीसँगको मैदान यात्रा अन्त्य गर्दैछु। मैले गर्वका साथ यो यात्रा पूरा गरेको छु। पोर्चुगलका लागि आफ्नो तर्फबाट सबैथोक दिएको छु भन्नेमा म विश्वस्त छु,’ उनले भनेका छन्।
उनले थपेका छन्, ‘गोलहरू बितेर जान्छन्, उपाधिहरू संग्रहालयमा पुग्छन् र कीर्तिमानहरू एक दिन तोडिन्छन्। तर मानिसहरूको हृदयमा बनाएको स्थान समयले कहिल्यै मेटाउन सक्दैन।’
रोनाल्डोले विश्वकै उत्कृष्ट खेलाडी बन्न जीवनभर मेहनत गरेको उल्लेख गर्दै आफ्नो सबैभन्दा ठूलो उपलब्धि विश्वकै उत्कृष्ट देश पोर्चुगलको प्रतिनिधित्व गर्न पाउनु रहेको बताएका छन्।
‘यी २३ वर्षका लागि धन्यवाद। ममाथि विश्वास गर्नुभएकोमा धन्यवाद। पोर्चुगल सधैँ मेरो हृदयमा रहनेछ। सधैँका लागि,’ उनले भावुक सन्देशमा भनेका छन्।
उनको संन्यासको घोषणा राष्ट्रिय टोलीको पछिल्लो अन्तर्राष्ट्रिय विश्रामका क्रममा प्रशिक्षकसँग भएको भनिएको विवादपछि आएको हो। यससँगै पोर्चुगलको जर्सीमा रोनाल्डोको ऐतिहासिक यात्रा समाप्त भएको छ।